दुई तिहाइको सरकारलाई विदेशी लगानीकर्ताले पत्याएनन्, लगानी प्रतिबद्धता पनि दुई तिहाइले घट्यो

बिजमाण्डू
२०७५ चैत्र ८ गते ०८:५५ | Mar 22, 2019
दुई तिहाइको सरकारलाई विदेशी लगानीकर्ताले पत्याएनन्, लगानी प्रतिबद्धता पनि दुई तिहाइले घट्यो


काठमाडौं। लगानी सम्मेलन तिब्र तयारीमा सरकार लागिरहेका बेला प्रत्यक्ष बैदेशिक लगानी (एफडिआइ) प्रतिबद्धताको तथ्यांकले भने निरास बनाएको छ। दुई तिहाइको सरकार बनेपछि एफडिआइ प्रतिबद्धता ६८ प्रतिशतले घटेको छ। 

Tata
GBIME
Nepal Life

चालु आर्थिक बर्षको फागुनसम्म ११ अर्ब २५ करोड रुपैयाँको मात्र विदेशी लगानी प्रतिबद्धता आएको छ। गत बर्ष यतिबेला ३४ अर्ब ९१ करोड रुपैयाँको प्रतिवद्धता आएको थियो।

स्थिर सरकार बनेपछि एफडिआइ भित्रिन्छ भन्ने अनुमान विपरित विदेशी लगानीको अवस्था झनै निरासाजनक देखिएको छ। एफडिआइ भनेजति आउन छाडेपछि सरकारको समग्र विदेशी मुद्राको मौज्दातसमेत घट्न थालेको छ।

बर्षको सुरुवातमा केहि साना उद्योगको संख्या बृद्धि  भए पनि त्यसयता उद्योग दर्ताको संख्या पनि खुम्चिन थालेको छ। फागुन महिनामा १४ वटा मात्र विदेशी लगानीका उद्योगले स्विकृति लिएका छन्। जबकी माघमा १७ र पुषमा २२ वटा विदेशी लगानीका उद्योगले स्विकृती लिएका थिए।

उद्योगमा गरिने लगानी प्रतिवद्धता पनि निरन्तर घटिरहेको छ। फागुनमा २० करोड ७० लाख रुपैयाँ विदेशी लगानी प्रतिवद्धता स्विकृत हुँदा माघमा ८१ करोड रुपैयाँ र पुसमा दुई अर्ब ८० करोड रुपैयाँ विदेशी लगानी स्विकृत भएको थियो।

केहि समयअघि सम्म स्विकृती लिने उद्योगको संख्या बढि देखिएकोमा विगत ३ महिनायता भने संख्या पनि निरन्तर ओरालो लागेको छ।

चालु आर्थिक वर्षको फागुनसम्म २२४ वटा विदेशी लगानीका उद्योगले ११ अर्ब २५ करोड रुपैयाँ खुद विदेशी लगानी स्विकृत गराएका छन्। गत वर्षको सोहि अवधिमा १९४ वटा विदेशी लगानीका उद्योगमा ३४ अर्ब ९१ करोड रुपैयाँ खुद विदेशी लगानी स्विकृत भएको थियो।

विदेशी लगानीका उद्योगमा गरिने स्वदेशी लगानीको हिस्सा भने गत वर्षको भन्दा यो वर्ष बढि देखिएको छ। चालु आर्थिक वर्षमा चार अर्ब १० करोड रुपैयाँ स्वदेशी लगानी प्रतिबद्धता भएको छ। गत बर्ष विदेशी लगानीका उद्योगमा तीन अर्ब १३ करोड रुपैयाँ मात्र स्वदेशी लगानी प्रतिबद्धता थियो। 

चालु आर्थिक वर्षमा गुणस्तरीय विदेशी लगानी नआउँदा संख्या बढि देखिए पनि लगानी निकै घटेको उद्योग विभाग विदेशी लगानी शाखाका निर्देशक प्रशान्त बोहराले बताए।

'ठूला लगानीकर्ताको फाइल आयो भने विभागले निरन्तर सम्पर्क गरेर बोलाउने र लगानी स्विकृतीका लागि आवश्यक कागजपत्र तयार गर्न पनि सहयोग गर्ने गरेका छौ' बोहराले भने, 'तर ठूला लगानीकर्ता पहिला नीतिगत ग्यारेन्टी खोज्छन्। त्यसैले उनीहरु विभागले गर्ने सहजीकरणकै भरमा लगानी स्विकृत गराउँदैनन्।'