हवाई व्यवसायमा खेलाँची: नागरिक उड्डयन प्राधिकरणसँग वित्तिय अवस्था अध्ययन गर्न जनशक्ति छैन

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ चैत्र ६ गते ०९:३० | Mar 20, 2019
हवाई व्यवसायमा खेलाँची: नागरिक उड्डयन प्राधिकरणसँग वित्तिय अवस्था अध्ययन गर्न जनशक्ति छैन



काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाज चलाउने व्यक्ति वा समूहको वित्तिय अवस्था अध्ययन गर्न आवश्यक जनशक्तिनै छैन।

Tata
GBIME
Nepal Life

हवाई व्यवसायमा आउने व्यक्ति वा समूह वित्तिय रुपमा सबल नभएमा सेवामै प्रश्नचिन्ह खडा हुने भएकाले अध्ययन गर्नुपर्ने निष्कर्षमा प्राधिकरण पुगेपनि जनशक्ति अभावले अगाडि बढाउन सकेको छैन।‘हामीले अहिलेसम्म नेपालको कानुन अनुसार कम्पनी ऐन अनुसार दर्ता भएपछि मात्रै हामीकहाँ आएको फाइल अनुसार अगाडि बढ्ने गर्थ्यौ। तर पछिल्लो समयमा विमान किनबेचमा केही समस्या देखिएपछि वित्तिय अवस्था हेर्नुपर्ने अवस्था आएको छ तर हामीसँग आवश्यक जनशक्तिनै छैन’ प्राधिकरणका महानिर्देशक सञ्जीब गौतमले बिजमाण्डूसँग भने।

उनले वित्तिय अवस्था हेर्नका लागि चार्टर्ड एकाउन्टेन्टको सूचना निकालेपनि आवेदन नपरेको बताए।‘हामीले वित्तिय अवस्था अध्ययनका लागि चार्टर्ड एकाउन्टेन्टको भ्याकेन्सी समेत माग्यौं। चार्टर्ड एकाउन्टेन्टको ९ तहमा ल्याउनुपर्ने हुन्छ। तर तलब ४० हजार रुपैयाँ मात्रै छ’ गौतमले भने,’चार्टर्ड एकाउन्टेन्टले वाहिर लाख भन्दा बढी कमाउँछन्। त्यसैले यहाँ आवेदन नपरेको हो।’

उनका अनुसार चार्टर्ड एकाउन्टेन्टबीचको आपसी सहमतिले पनि वित्तिय अवस्था अध्ययन गर्न कठिन भएको छ।‘कुनै एउटा चार्टर्ड एकाउन्टेन्टको प्रतिवेदनलाई अर्को चार्टर्ड एकाउन्टेन्टले प्रश्न उठाउन नमिल्ने सहमति रहेछ।’ गौतमले भने,’त्यो समस्याले पनि हामीले अरुको वित्तिय अवस्था अध्ययन गर्न सकेका छैनौं।’ प्राधिकरणसँग चार्टर्ड एकाउन्टेन्ट नभएकैले निजी विमान कम्पनीले विमान खरीदबिक्रीमा खेलाँची गरिरहेका छन्।

पछिल्लो समयमा सौर्य एयर किनबेच शंकास्पद देखिएको छ। ६ महिनाको अवधिमा दुई पटक सौर्य एयर बिक्री भएपनि प्राधिकरणले आधिकारिक पत्र अहिलेसम्म पाएको छैन। आधिकारिक पत्र नपाएपछि किनबेचको विषय संचारमाध्यमबाट मात्रै जानकारी पाउने गरेको प्राधिकरणले जनाएको छ। ६ महिना अघि साउनमा ६७ करोड रुपैयाँको दायित्व लिएर भित्रिएका भनिएका घनश्याम अधिकारी वाहिरिसकेका छन् भने अहिले फेरी भारतको कुबेर समूहको क्लब वान कम्पनी आएको दाबी गरिएको छ।