डलरको भाउ ११० रुपैयाँभन्दा तल आयो, रेमिटेन्स पठाउनेलाई घाटा, साढे ७% ले नेपाली रुपैयाँ बलियो

बिजमाण्डू
२०७५ चैत्र ५ गते ०९:४४ | Mar 19, 2019

काठमाडौं। अमेरिकी डलरको भाउ मंगलबार ११० रुपैयाँभन्दा तल आएको छ। उच्चतम मूल्यबाट डलरको भाउ करिब साढे सात प्रतिशतले तल आइसकेको छ।

Tata
GBIME
Nepal Life

गत असोज २४ गते डलरको भाउ सार्वधिक महँगो ११९ रुपैयाँ ३३ पैसा पुगेको थियो। त्यसयता निरन्तर घटेको डलर मंगलबार १०९ रुपैयाँ ९५ पैसामा आएको छ। 

डलर कमजोर हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्सको भुक्तानी परिवारले कम पाउँछन्। तर आयातमा कम भार पर्छ, जसले गर्दा उपभोक्ता मूल्य सस्तो पर्छ।

बैंकहरुले हरेक दिन डलरको किनबेच अन्तर्राष्ट्रिय बजारमा गर्छन्। उनीहरुले कमजोर रणनीति लिएमा डलर कमजोर हुँदा घाटा पनि हुनसक्छ। अहिले कोर क्यापिटलको ३० प्रतिशत 'ओपन पोजिसन' मा कारोबार गर्न पाइने ब्यवस्था छ।

विदेशबाट ऋण लिएर लगानी गर्न चाहनेका लागि अहिले राम्रो अवशर हो। ११९ रुपैयाँ पुगेर फर्किएको डलरमा अहिले ऋण लिँदा भविस्यमा तिर्नु पर्ने दायित्व आजकै मूल्य हाराहारी हुन्छ। त्यसो हुँदा डलर बढ्दा पनि ठूलो जोखिम हुँदैन।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, अमेरिकी केन्द्रीय बैंकले अब केही समय ब्याज नबढाउने घोषणा गरेपछि डलर कमजोर भएको हो। केही समय डलर कमजोर देखिए पनि भारतीय निर्वाचनपछि यसको दिशा कता जाने भन्ने तय हुने छ। 

डलरको कमजोर हुँदा निर्यात व्यापारीको आम्दानी घट्छ। बस्तु तथा सेवा विक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आय पनि घट्छ। नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्न पर्ने सामान तथा सेवाहरु सस्तो पर्ने छ।
 
आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य कमीले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य कम पर्ने छ।
 
विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा कमी हुने छ। उत्पादित बस्तुको लागत कम भएपछि यसको असर केही दिनमै उपभोक्य वस्तुको मूल्यमा देखिन थाल्छ।
 
डलर घट्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा सजिलो हुन्छ। सरकारले डलरमा ऊर्जा खरिद गरेको जलविद्युत् आयोजनाहरुलाई समेत कम पैसा तिर्नु पर्ने हुन्छ। विदेशी कलेजमा पढ्न जाने, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई पनि डलर घट्दा राहत पुग्छ।