भारतीय चुनाव विश्वकै सबैभन्दा खर्चिलो चुनाव किन बन्दैछ? बाख्रा र बिरयानीले तान्छ भोट

बिजमाण्डू
२०७५ चैत्र २ गते ११:१९ | Mar 16, 2019
भारतीय चुनाव विश्वकै सबैभन्दा खर्चिलो चुनाव किन बन्दैछ? बाख्रा र बिरयानीले तान्छ भोट

विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतले अब विश्वकै सबैभन्दा महंगो चुनाव हुने देशको टाइटल समेत पाउने भएको छ। 

Tata
GBIME
Nepal Life

भारतको ६ हप्ता लामो चुनावी अभियान उत्तरमा हिमालय, दक्षिणमा हिन्द महासागर, पश्चिममा थार मरुभूमि र पूर्वको सुन्दरबनसम्म फैलिएको छ। 

यस वर्ष चुनाव अप्रिल ११ तारिखमा सुरु भइ मे १९ सम्म चल्नेछ। नयाँ दिल्लीस्थित सेन्टर फर मिडिया स्टडिजले गरेको अध्ययन अनुसार यस चुनावमा झण्डै ५०० अर्ब भारतीय रुपैयाँ अर्थात ७ अर्ब डलर खर्च लाग्ने अनुमान गरिएको छ। 

अमेरिकी राजनीतिमा पैसाको उपयोगबारे ट्रयाक गर्ने संस्था ओपन सेक्रेट डट ओआरजीले गरेको अध्ययन अनुसार अमेरिकामा सन् २०१६ मा भएको राष्ट्रपतिय तथा कंग्रेसको चुनावमा झण्डै ६.७ अर्ब डलर खर्च भएको थियो। हाल भारतको चुनावमा त्यसभन्दा बढी खर्च हुने देखिएको हो।  

सेन्टर फर मिडिया स्टडिजको अनुमान अनुसार सन् २०१४ मा भारतमा भएको संसदीय चुनावको भन्दा यस वर्षको चुनावी खर्च ४० प्रतिशतले बढ्नेछ। यसअघिको चुनावमा ५ अर्ब डलर खर्च भएको अनुमान छ। अनुमान अनुसार प्रत्येक मतदातामा अनुमानित ८ डलर खर्च हुनेछ जबकी भारतमा ६० प्रतिशतभन्दा बढी जनसंख्या प्रतिदिन ३ डलरको आयमा जीवन बिताइरहेका छन्। 

'सोसल मिडिया, ट्राभल र एडभरटाइजिङमा पार्टीहरुले सबैभन्दा बढी पैसा खर्च गरिरहेका छन्।'-सेन्टर फर मिडिया स्टडिजका अध्यक्ष एन भास्कर रावले भने। मार्केट रिसर्च ग्रुप संचालन गर्ने भास्करले यसअघिको सरकारका सल्लाहकारका रुपमा पनि काम गरिसकेका छन्। 

सोसल मिडियामा  नाटकीय ढंगले खर्च बृद्धि भएको देखिन्छ। 'सन् २०१४ मा २.५ अर्ब भारतीय रुपैयाँ खर्च भएको सोसल मिडिया क्याम्पेनमा यस वर्ष ५० अर्ब भारतीय रुपैयाँ खर्च भएको छ'- रावले भने। 

उनको समूहले अन्तर्वार्ता, सरकारी तथ्यांक, सम्झौता तथा अन्य अनुसन्धानका आधारमा पत्ता लगाएको तथ्य अनुसार राजनीतिक पार्टीका उम्मेदवार तथा कार्यकर्ताहरुको हेलिकोप्टर, बस तथा अन्य सवारी साधानहरुको प्रयोग पनि पहिलेको तुलनामा निकै बढेको  छ। 

'वास्तविक तथ्यांक यति नै हो भन्ने यकिन गर्न नसकिएपनि लागत निकै बढिरहेको छ'- कोलम्बिया युनिभर्सिटीका लेक्चरर सिमोन सौसार्डले भने। भारतको चुनावी प्रक्रियालाई लामो समयदेखि फलो गरिरहेका सिमोनका अनुसार भारतीय नेताहरु के सोच्छन् भने नयाँ केही फण्डा गरेर अरुको भन्दा आफ्नो तर्फ धेरै ध्यान तान्न सकिन्छ। यसैकालागि उम्मेदवारहरु मतदातामाथि पैसा लुटाउँछन्। पोलिटिकल क्याम्पेनमा आवश्यक पर्ने चीजहरु किन्न पनि उनीहरु यसैगरी पैसा फालिरहेका हुन्छन्। 

बाख्राले यसरी भोट तान्छ!
कुल ५ सय ४५ सिटका लागि ८ हजारभन्दा बढी उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। भोट तान्नकालागि कडा प्रतिस्पर्धा छ। गोप्य मतदान  हुने भएकाले भोट कसलाई दिएको हो कसैले पत्ता पाउँदैन। त्यसैले भोट पाउने ग्यारेन्टी पनि उम्मेद्वारले गर्न सक्दैन। त्यसकारण उपहारहरुले भारतका मतदाताहरुलाई धेरै नै प्रभाव पार्ने सिमोन बताउँछन्। 

युनिभर्सिटी अफ क्यालिफोर्नियाका एसिस्टेन्ट प्रोफेसर जेनिफर बुसेलले गरेको सर्वेक्षणका क्रममा ९० प्रतिशतभन्दा धेरै केन्द्रीय स्तरका नेताहरुले आफ्ना समकक्षी उम्मेदवारहरुमा पैसा, रक्सी तथा अन्य बस्तुहरु बाँड्ने दवाव निकै रहेको बताएका थिए।

ब्लेन्डर मेशिन, टेलिभिजन सेट तथा बाख्राहरु समेत उपहारका रुपमा केही क्षेत्रमा बाँडिएको छ। गत वर्ष कर्नाटक राज्यमा भएको कडा वातावरणबीच सम्पन्न भएको चुनावका क्रममा पनि निर्वाचन आयोगले १.३ अर्ब भारतीय रुपैयाँ नगद, सुन, रक्सी तथा अन्य लागु औषधहरु बरामद गरेको थियो। 

पार्टीहरुले चुनावका क्रममा भएका खर्चका सबै शिर्षकहरु सार्वजनिक गर्दैनन्न्। उम्मेदवारलाई कानुन अनुसार खर्चको सीमा तोकिएको छ तर पार्टी आफैंले पनि त्यो खर्च ब्योहोरिदिन्छ। 

भारतीय राजनीतिक ब्यक्तित्वहरु विशाल आमसभा र  ठूलो र्याली गर्न रुचाउँछन्। उनीहरु देशभर यात्रा गर्छन् त्यहाँका स्थानीयहरुलाई प्रभाव पार्न ठूलो टेन्ट गाडेर आमसभा गर्छन् र चुनावी प्रचार गर्छन्। 

भीडलाई तान्नकालागि उनीहरु बिरयानी र चिकन करी समेत खुवाउने गर्छन् जुन सामान्य नागरिकले सँधै खान पाएका हुन्नन्। 

यस अन्तर्गत कुर्सी, माइक्रोफोन, सुरक्षा, सहभागीलाई ल्याउन लैजान प्रयोग हुने सवारी साधन र पड्काउने पटाखाको त हिसाब पनि हुन्न। 

डमी उम्मेदवार
भारतीय निर्वाचन आयोगले लामो समयदेखि डमी उम्मेदवारहरुलाई मनोनयन नगर्न चेतावनी दिँदै आएको छ। यसैगरी उनीहरुले भोट काट्नकालागि एउटै नामका ब्यक्तिहरु नदोहोर्याउन पनि भन्दै आएको छ। 

उत्तर प्रदेश जहाँ नामले जात तथा समूहलाई प्रतिनिधित्व गर्छ त्यहाँ यस्ता किसिमका ट्रिक सहयोगी हुन्छन्। 

यस्तोमा चर्चित ब्यक्ति तथा सेलिब्रेटीहरु प्रयोग गरिन्छन्। सन् २०१४ मा अभिनेत्री हेमा मालिनीको बिरुद्धमा खडा गरिएका अन्य दुई उम्मेदवारको नाम पनि हेमा मालिनी नै भएको हिन्दुस्तान टाइम्सले सार्वजनिक गरेको थियो। 

तर डमी उम्मेदवारका  लागि पनि खर्च गर्नुपर्ने हुन्छ। यस्तो खर्च १२ करोड भारुसम्म हुने सन् २०१६ मा इन्डिया टु डेले गरेको अनुसन्धानमा देखिएको छ। 

पार्टीहरुले धेरै उम्मेदवार दर्ता गर्छन् जसबाट उम्मेद्वारले खर्च गर्न पाउने कानुनी रकमको सीमा बढ्छ। चर्चित उम्मेदवारले खर्च पनि बढी गर्छन्। 

ब्राण्ड मेकिङ: मेक इन्डिया ग्रेट अगेन
आगामी निर्वाचनकालागि २६ अर्ब भारतीय रुपैयाँ भन्दा बढी रकम बिज्ञापनमा खर्च हुने टेलिभिजन तथा अखबारकालागि बिज्ञापन संयोजन गर्ने फर्म जेनिथ इन्डियाले जनाएको छ। 

यो रकम सन् २०१४ को निर्वाचनका समयमा दुई मुख्य पार्टीले खर्च गरेको १२ अर्ब रुपैयाँको दोब्बरभन्दा बढी हो। 

गत फ्रेब्रुअरीमा मात्रै ४ करोड रुपैयाँभन्दा बढी रकम राजनीतिक प्रचारका लागि फेसबुकमा मात्रै खर्च भएको प्रतिवेदनले देखाएको छ। यसैगरी 'नमो अगेन' (नरेन्द्र मोदी अगेन) भन्दै टिसर्ट बनाउने क्याम्पियनकालागि पनि निकै धेरै खर्च भएको छ। 

राजनीतिक पार्टीहरुले निर्वाचनताका भारतभर क्याम्पेन गर्दा धेरै खर्च गर्छन्। तर निर्वाचन आयोगले पनि निर्वाचन सम्पन्न गर्नकालागि धेरै खर्च छुट्याएको छ।  यसवर्षको निर्वाचन आयोगको खर्च हालसम्मकै बढी हो। 

निर्वाचन कार्यक्रम समुद्री सतहभन्दा १५ हजार फिटमाथि रहेको हिमालयदेखि पश्चिमी भारतको घना जंगल भएका बस्तीसम्म निर्वाचन सफल बनाउन सरकारले नै यस वर्षका लागि सबैभन्दा धेरै रकम २.६२ अर्ब भारतीय रुपैयाँ छुट्याएको छ। 

यसमध्ये केही रकम विद्युतीय भोटिङ मेशिन बोक्ने हात्तीहरुमा खर्च गरिनेछ भने कतै डुंगा र नाउमा खर्च हुनेछ। उत्तर पूर्वको ब्रम्हपुत्र नदीबाट निर्वाचन सामाग्री तार्ने क्रममा पनि धेरै रकम खर्च हुने बताइएको छ।