अर्थमन्त्री खतिवडाका पालामा कर्मचारीतन्त्र अस्थिर, महिना/महिनामै फेरिन्छन् कर्मचारी

बिजमाण्डू
२०७५ फागुन ३० गते १०:०७ | Mar 14, 2019
अर्थमन्त्री खतिवडाका पालामा कर्मचारीतन्त्र अस्थिर, महिना/महिनामै फेरिन्छन् कर्मचारी



काठमाडौं। अर्थमन्त्रालयले फेरी कर्मचारीको आन्तरिक सरुवा र पदस्थापन गरेको छ। सहसचिवको समायोजनसँगै सामान्य प्रशासन मन्त्रालयले चारजना सहसचिवलाई अर्थ मन्त्रालय पठाएपछि केहीको पदस्थापन भएको हो।

Tata
GBIME
Nepal Life

सहसचिव रामेश्वर दंगाल,तुलसी सेढाईँ र झलकराम अधिकारीलाई राजस्व प्रशासनको महत्वपूर्ण जिम्मेवारी दिइएको छ। दंगाल भन्सार विभागको महानिर्देशक बनेका छन्। उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अर्थमा सरुवा भएका थिए। आयोगमा प्रवक्ताको भूमिकामा रहेका सहसचिव दंगाल राजस्व प्रशासनको पावरफूल विभागको नेतृत्वमा पुगेका छन्। राजस्व प्रशासनमा आन्तरिक राजस्वपछि भन्सार पावरफूल विभागको रुपमा हेरिन्छ। भन्सार विभागकै उपमहानिर्देशकमा सेढाईँलाई पठाइएको छ।

 भन्सारका महानिर्देशक तोयम राया मन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुखमा सरुवा भएका छन्। भन्सार प्रशासनमा छोटो अवधिमै सुधार गरेका रायालाई मन्त्रालयभित्रकै वित्तिय क्षेत्रको नीति निर्माणमा प्रमुख भूमिका खेल्ने महाशखामा ल्याइएको हो। वित्तिय क्षेत्र महाशाखाका प्रमुख उत्तरकुमार खत्रीलाई अनुगमन तथा मूल्यांकन महाशाखामा सरुवा गरिएको छ। अधिकारीलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाएर पठाइएको छ। अधिकारी आन्तरिक राजस्व कार्यालय क्षेत्र नं २ का प्रमुख भइसकेका छन्।

कसले चलाउँछ मन्त्रालय?
राजनीतिक शक्ति, प्रधानमन्त्रीको विश्वास तथा आर्थिक एवं वित्तीय क्षेत्रको ज्ञानले शक्तिशाली अर्थमन्त्री खतिवडाको कार्यकालमा अर्थ मन्त्रालयको प्रशाशनिक संरचनाका हिसाबले भने निकै कमजोर छ। कर्मचारीतन्त्रमा भएको क्षयीकरणको सबैभन्दा ठुलो प्रभावबाट यो संस्था गुज्रिएको छ।


फाइल फोटो
विषयविज्ञ र राम्रो निर्णय क्षमता भएका व्यावसायिक कर्मचारीले चलाउनुपर्ने अर्थ मन्त्रालय अहिले तिनै कर्मचारीको राजनीतिक दाउपेचको शिकार भएको छ। अर्कोतर्फ सबैकाम आफैँले गर्न खोज्ने अर्थमन्त्री खतिवडाले ‘टिम म्यानेजमेन्ट’मा ध्यान नदिँदा संरचनागतरुपमा अर्थ मन्त्रालय कमजोर बन्न पुगेको हो।

अर्थमन्त्री भएर आएपछि खतिवडाले कर्मचारी प्रशासनलाई स्थीर राख्न सकेका छैनन्। प्रत्येक महिना वा दुई महिनामै कर्मचारी सरुवा र पदस्थापन भइरहेको हुन्छ। स्थीर सरकारको अर्थमन्त्रालय अस्थिर हुँदा नीतिगत मात्रै होइन व्यवसायिक क्षेत्र समेत अन्यौंलमा छ। अर्थ मन्त्रालय, अर्थात मन्त्रालयहरुको पनि मन्त्रालय अर्थात ‘सुपर मिनिष्ट्री’।

मुलुकको ढुकुटी सञ्चालन र रेखदेखको सम्पूर्ण दायित्व बोकेको संस्था। आफू मात्रै होइन, अरु धेरै मन्त्रालयको काममा लगाम लगाउने सक्ने अधिकार। मुलुकको सम्पूर्ण वित्तीय दायित्व बोकेको संस्था हरेक हिसाबले शक्तिशाली हुनुपर्छ। व्यावसायिकरुपमा यो संस्था चल्नुपर्छ।

अर्थ मन्त्रालयले लिने निर्णयले मुलुकको भविष्य निर्धारण गर्दछ। मुलुक आर्थिकरुपमा बलियो हुने वा टाट उल्टिने यही संस्थाको निर्णयमा निर्भर रहन्छ। आर्थिक कुटनीतिक सञ्चालनको अभिभारा यही संस्थाले गर्ने भएकाले अन्तर्राष्ट्रिय जगतले प्रत्येक मुलुकलाई हेर्ने एउटा नजर यसतर्फ पनि केन्द्रित रहन्छ।

 ‘अर्थमन्त्रीले मात्रै मन्त्रालय चलाउने होइन, हरेक काम संयन्त्रमार्फत् हुनुपर्छ,’ अर्थ मन्त्रालयका एक पूर्व सचिव भन्छन्, ‘अर्थ मन्त्रालयसँग सबै विषयगत मन्त्रालय ठोकिन्छन्, उनीहरुका धेरैथरी चासो हुन्छ। त्यो चासो व्यवस्थापन गर्न मन्त्रालयसँग राम्रो इन्स्टिच्युसनल मेमोरी चाहिन्छ। अहिले त्यही अभाव भइरहेको देखिन्छ।‘

अनुभवीको निरन्तर बहिर्गमन
अर्थ मन्त्रालयको क्षयीकरण संविधान निर्माणपछि बनेका तीन सरकारको पालामा धेरै भएको देखिन्छ। राम्रा र व्यावसायिक कर्मचारीलाई पाखा लगाउँदै राजनीतिक आस्था र अन्य स्वार्थका कारण कहिल्यै संगठन संरचनामा नदेखिएका अनुहारले अर्थभित्र भित्रिएका छन्।

अर्थ मन्त्रालयबाट अनुभवी र पुराना कर्मचारी बाहिरिने नयाँ कर्मचारी आउने क्रम बढेको छ। जसले मन्त्रालयको ‘ट्रयाक’ पहिलेजस्तो छैन। कहिल्यै अर्थ मन्त्रालयको संरचनामा नबसेका कर्मचारीलाई महत्वपूर्ण जिम्मेवारीमा ल्याइँदा मन्त्रालयको भूमिका कमजोर भएको छ।

एकपछि अर्का ‘क्याडर’ अर्थ मन्त्रालयबाट बाहिरिएका छन्, पठाइएको छ। यो क्रमको सुरुवात अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका तत्कालीन् प्रमुख केवलप्रसाद भण्डारीको सरुवाबाट भएको हो। विभिन्न भन्सार कार्यालयको प्रमुख हुँदै सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागको नेतृत्व गरेका भण्डारी महालेखा नियन्त्रक कार्यालयमा पनि केही समय बसे। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाको नेतृत्व गरेका उनी वाहिरिन बाध्य भए।

भण्डारीपछि अर्की सहसचिव चन्द्रकला पौडेल मन्त्रालयबाट बाहिरिइन्। लेखा र राजस्वकी जानकार उनी सहसचिव बढुवा भएको करिब पाँच वर्षपछि ‘स्वेच्छा’ले सरुवाको बाटो रोजिन्। आन्तरिकर राजस्व विभागका तत्कालीन् महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयबाटै नियन्त्रणमा लिएपछि केही समय विभागको निमित्त महानिर्देशक बने पनि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको कार्यकालमा सहसचिव किशोरजंग कार्कीले उनलाई विस्थापित गरे।

त्यसअघि उनले आन्तरिक राजस्व कार्यालय क्षेत्र नं १ को पनि नेतृत्व गरेकी थिइन्। तत्कालीन राजस्व तालिम केन्द्रको प्रमुख हुँदै अर्थ मन्त्रालय प्रवेश गरेकी उनले केही समय अनुगमन तथा मूल्यांकन महाशाखामा काम गरिन् र त्यतैबाट रमानाको पत्र बोकिन्।

किशोरजंग कार्की काठमाडौंको सुकेधारामा अर्थमन्त्री खतिवडाको छिमेकी पनि हुन्। अर्थमन्त्री हुने बित्तिकै खतिवडाले कार्कीलाई अर्थ मन्त्रालय ताने तर उनी आफ्ना छिमेकीलाई मन्त्रालय बाहिर पठाउने मुडमा थिएनन्। तर कुन समूहले कार्कीलाई अर्थ मन्त्रालयबाट लखेट्यो खतिवडाले नै भेउ पाएनन्। ‘किशोरजंग कार्कीलाई मन्त्रालयबाट बाहिर पठाउने मनस्थितीमा अर्थमन्त्री हुनुहुन्नथ्यो,’ अर्थका एक अधिकारी भन्छन्, ‘तर विभागबाट मन्त्रालय आएको सात दिनमा उनलाई यहाँबाट बाहिर पठाइयो।‘

करिब डेढ वर्ष राजस्व सचिव बनेपछि शिशिरकुमार ढुंगाना अर्थबाट बाहिरिए। राजस्व संरचनाका जानकार ढुंगाना तत्कालीन राजस्व सचिव राजन खनालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएपछि राजस्व सचिवका रुपमा ०७४ असार मा अर्थ मन्त्रालय प्रवेश गरेका थिए।
खनाल राजस्व सचिव हुँदा ढुंगाना भन्सार विभागको महानिर्देशक थिए। राजस्व संरचनाका अब्बल दुवैको राम्रो ‘ट्युनिङ’ रहेको चर्चा बाहिर भए पनि ढुंगाना एकाएक बाहिरिए।

०७६ माघमा खनालको अवकाशपछिका अर्थ सचिवका रुपमा हेरिएका ढुंगानाको बहिर्गमनको एउटा कारण राजनीतिक दाउपेच नै मानिएको छ। ‘मन्त्रालय भित्रको एउटा ठुलै शक्तिले ढुंगानालाई बाहिर पठाएको अनुमान गर्न कठिन छैन,’ मन्त्रालयसम्बद्ध स्रोत भन्छन्। राजस्वका ‘फिल्ड अफिस’ र मन्त्रालयकै महत्वपूर्ण महाशाखाको नेतृत्व गरेर बाहिरिएका लालशंकर घिमिरे करिब ७ वर्षपछि अर्थ मन्त्रालय फर्किएका छन्।

उच्च राजस्व वृद्धिको लक्ष्यसहित ल्याइएको बजेट कार्यान्वयनको करिब साढे ६ महिना अवधि बाँकी हुँदा उनी मन्त्रालय आएका छन्। राजस्व संकलनको लक्ष्यका दृष्टिले अत्यन्तै जटिल अवस्थामा उनले राजस्व सचिवको जिम्मेवारी पाएका छन्। पुस महिनाको राजस्व संकलनको अवस्था हेर्दा ९ खर्ब ४५ अर्ब रुपैयाँको वार्षिक लक्ष्य भेट्टाउन असाध्यै कठिन देखिएको छ।

बस्न चाँहदैनन् कर्मचारी
खतिवडा मन्त्री भएपछि सहसचिवहरु तोयम राया र धनिराम शर्मा सबैभन्दा पहिले अर्थ मन्त्रालय आए। सुरुमा राया आन्तरिक राजस्व विभागको महानिर्देशक बन्ने योजनासहित मन्त्रालय आएका भए पनि उनलाई हतारहतार भन्सार पठाइएको अर्थसम्बद्ध स्रोत बताउँछ।

‘त्यतिबेला उहाँको किन त्यति छिटो पोस्टिङ भयो भनेको त आन्तरिक राजस्व विभागको साटो भन्सारमा जिम्मा दिहाल्न रैछ,’ स्रोतले भन्यो।

सहसचिवहरु झक्कप्रसाद आचार्य, मनमाया पंगेनी, नारायण रेग्मी (जो छोटो समय आन्तरिक राजस्व विभागको उपमहानिर्देशक भए र अहिले श्रम मन्त्रालय गइसके), बलराम रिज्याल (समायोजनपछि लगानी बोर्डमा सरुवा), श्याम भण्डारी, विष्णुप्रसाद ढकाल र शिवलाल तिवारी (समायोजनपछि ऊर्जा मन्त्रालय) अर्थ मन्त्रालय आएका छन्।

ठूला करदाता कार्यालयका प्रमुख धनिराम शर्मा पनि मन्त्रालयकै महाशाखामा काम गर्ने गरी सरुवा खोजिरहेका छन्। मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखामा सहसचिवका रुपमा पहिलोपटक पदस्थापन गरेका उनी फेरि मन्त्रालय फर्कन चाहन्छन्। आन्तरिक राजस्व विभागका उपमहानिर्देशक र काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भइसकेका उनी अर्थ मन्त्रालयकै कुनै महाशाखाको जिम्मेवारीको पर्खाईमा छन्।

यस्तै मध्यमस्तरीय करदाता कार्यालयका प्रमुख झक्कप्रसाद आचार्य पनि विकल्पको खोजीमा छन्। राजस्व समूहका अधिकृत आचार्य उपसचिवका रुपमा अर्थमन्त्रालयमा कार्यरत थिए। पछिल्लो पटक लोकसेवा आयोगबाट अर्थ मन्त्रालय फर्किएका उनको जिम्मेवारी नयाँ खुलेको कार्यालयमा तोकियो। भदौमा मध्यमस्तरीय करदाता कार्यालय जान अनिच्छुक देखिएका आचार्य मन्त्रालय फर्कन व्यग्र प्रतिक्षारत छन्।

मनमाया पंगेनी अर्थ मन्त्रालयका लागि नयाँ अनुहार हुन्। भन्सार विभागको उपमहानिर्देशक उनको सुरुवाती चाहना बजेट महाशाखा प्रमुख बन्ने थियो। अर्थ मन्त्रालयको संचरनामा नबसेकी उनलाई भन्सार नौलो जिम्मेवारी हो। तत्कालीन नेकपा एमाले निकट कर्मचारी संगठनको जिम्मेवार तहमा बसेर काम गरेकी उनको अर्थ मन्त्रालय आगमनलाई धेरैले त्यतिबेला ‘सर्प्राइज’का रुपमा हेरेका थिए।

एकैदिन सरुवाको निर्णय भएका दुई सहसचिवमध्ये विष्णु ढकालले हालै खुलेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको जिम्मेवारी सम्हालेका छन्। तर अर्थ मन्त्रालय आएर हाजिरी गरिरहेका शिवलाल तिवारीको मुकाम तोकिएन। तीन महिना जिम्मेवारी विहीन बनाइएका तिवारी समायोजनसँगै ऊर्जा मन्त्रालय जाँदैछन्। वर्षमान पुन अर्थमन्त्री हुँदा उनको सचिवलायमा बसेर काम गरेका तिवारीलाई पुनले ऊर्जाको कर्मचारी प्रशासन महाशाखा प्रमुख बनाउन लागेका हुन्।

अस्थिर र कमजोर राजस्व संरचना
तत्कालीन् सहसचिव लक्ष्मण अर्यालको बाहिरिएपछि मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा अस्थिर बन्दै गएको छ। केही समय सहसचिव शोभाकान्त पौडेल, रामशरण पुडासैनी, हरिशरण पुडासैनी हुँदै अहिले निर्मलहरि अधिकारी अहिले यो महाशाखाको जिम्मेवारीमा पुगेका छन्।

बजेट संरचनामा राम्रो दख्खल राख्ने रामशरण पुडासैनी एसियाली विकास बैंकको वैकल्पिक निर्देशक भएर मनिला पुगेका छन्। बजेट तथा कार्यक्रम महाशाखामा अहिले हरिशरण पुडासैनी छन्। सहसचिव हुनुअघि केन्द्रीय बजेटका उपसचिव रहेका उनी गृह मन्त्रालयको बसाईपछि फेरि अर्थ फर्किएका छन्।

भएन ग्रोथ
अर्थ मन्त्रालयमा लामो समय काम गरिसकेका कर्मचारीहरु मन्त्रालयभित्र संस्थागत विकासको अभाव खट्किन थालेको बताउँछन्। पुराना र अनुभवी कर्मचारी हट्दै जाने र नयाँ कर्मचारी बढ्दै जाँदा संस्थाले ‘सुपर मिनिष्ट्री’को भूमिका निर्वाह गर्न नसक्ने बताउँछन्।

रामेश्वर खनाल अर्थसचिव हुँदा उनी आफूसँगै पछिको संभावित नेतृत्व ‘ग्रुम’ गराउँथे। खनालकै मातहत रहेर अब्बल ठहरिएका राजन खनाल, शिशिर ढुंगानालगायतका सचिवले अर्थ मन्त्रालयको नेतृत्व गरेका छन्। तर उनीहरुकै पालामा अर्थ मन्त्रालय कमजोर बनिरहेको छ।

‘पहिले जस्तो जुनियरलाई ग्रुम गराउँदै लैजाने चलन हरायो, कहाँबाट को आउँछ भन्ने नै थाहा हुन छाडेको छ,’ अर्थ सम्बद्ध अधिकारीहरु भन्छन्, ‘कतिपय सहसचिवको सरुवा मन्त्रीलाई नै थाहा नदिई हुन थालेको छ, अर्थमन्त्री र सचिवहरु नै निरिह देखिन थाल्नुभएको छ।‘

कर्मचारीमा राजनीति हावी
अर्थ मन्त्रालयमा शक्तिशाली छ, सत्तारुढ नेकपा निकट कर्मचारी संगठन। यही संगठनका नेताहरु अहिले कर्मचारी सरुवा र पदस्थापनमै हावी हुन थालेको उच्च तहमा बसेका अधिकारीहरुले गर्न थालेका छन्।

अझ खतिवडा भन्दा नेकपाका पावरफूल नेताको दबाबमा कर्मचारी सरुवा हुने गरेको छ।डा. रामशरण महत अर्थमन्त्री हुँदा एमाले निकट एक कर्मचारीलाई भैरहवा र अर्कालाई कर कार्यालय ललितपुरको प्रमुख बनाएपछि कर्मचारी संघ महतसामू डेलिगेसन नै गए। आफ्ना मान्छे त्यहाँ नपठाइएको भन्दै महतमाथि उनीहरुले आक्रोश पोखे। महतले जवाफ दिए, ‘काम गर्ने मान्छे हुन्, मलाई रिजल्ट चाहिएको छ, कहाँ सरुवा गर्ने नगर्ने मेरो कुरा।‘

‘महतले कर्मचारी युनियनका नेताको सातो लिन्थे, अहिले कर्मचारी युनियनले मन्त्री र सचिवको सातो लिन्छ,’ अर्थका अधिकारीहरु भन्छन्, ‘समस्या यहीँ भएको छ, मन्त्रालय नै कतै उनीहरुले पो चलाइरहेका छन् कि जस्तो देखिन्छ।‘