अशोक शेरचनको प्रश्न- आज बैंक नजोडिएको कुन परियोजना देशमा छन्?




विगत केही महिनादेखि नेपाली बैकिङ क्षेत्रलाई तारो बनाएर केही व्यवसाय र उनीहरुको संगठनले ब्याज घट्नु पर्छ भन्दै आन्दोल गरे। जुन आन्दोलन बैकिङ क्षेत्रका लागि अप्रत्याशित र असामान्य लाग्न स्वभाविक थियो। किनभने खुल्ला बजारको सर्वमान्य र सर्वसिद्ध सिद्धान्तलाई नै व्यवसायिक जगतले अस्वीकार गरेको थियो। 

बिश्व बजारसँग प्रतिस्पर्धा गर्न तयार रहेका भनिने व्यावसायीहरुको यसपालीको कच्चा क्रियाकलापले हाम्रो व्यवसायिक धरातललाई नाङ्गो बनाई दिएको छ। साथै बैंक र व्यावसायीहरुको सुमधुर सम्बन्धको परिभाषालाई पनि पुनरावलोकन गर्नु पर्ने सम्मको अवस्थामा पुर्याइदिएको छ। 
Tata Nexcon AMT


हरेक देशको उद्योग, व्यापारिक कम्पनी र अन्य क्षेत्रको सबैभन्दा ठूलो ग्राहक भनेको सरकार हो। अर्थात सरकारले देशलाई समृद्ध र सम्पन्न बनाउनका लागि ठूलाठूला आयोजनाहरु, परियोजनाहरुको निर्माण गर्दछ। योजनाहरु सम्पन्न गर्नका  लागि सरकारले ठूलो धनराशी खर्च गर्दछ। जुन अहिले विविध कारणले नगण्य मात्रामा भएको छ। त्यस्तै, सरकार नै विभिन्न तरिकाबाट करका रुपमा व्यक्तिदेखि संस्थाहरुबाट ठूलो धनराशी जम्मा गर्ने निकाय पनि हो। करका रुपमा सरकारी कोषमा दाखिला हुने क्रम भने यथावत र तालिका अनुसार नै चलिरहेको छ। जसका कारणले बजारमा अहिले तरलताको अभाव रहेको छ।

सामान्य रुपमा हेर्दा र बुझ्दा सवैले अनुभव गरेको अवस्था माथिको हो। बैंकहरुले पनि बुझेको यही  नै हो। बैंकहरु भनेका छरिएर  रहेका अनुत्पादक साना साना पूँजीहरुलाई एकत्रित गरी उत्पादनशील क्षेत्रलाई आवश्यक पर्ने पूँजी उपलव्ध गराउने एउटा संस्था हो। यसका निम्ति बैंकहरुले देशैभरी पूर्वाधारहरुको निर्माण् ागरी बैंकिङ सेवाहरु प्रवाह गर्ने गर्दछन्। आमजनताहरुबाट एकत्रित गरिएको निक्षेपलाई परिचालन गरी बैंकहरुले खर्च र आम्दानीको सन्तुलन मिलाउने गर्दछन्। व्यापारीहरुले झै आफ्नो परल मूल्यमा केही मुनाफा जोडी सेवाहरु आवश्यक परेका ग्राहकहरुलाई बेच्ने गर्दछन्। 

बैंकहरुले आज पर्यन्त कुनै पनि व्यापारीले तोकेको आफ्नो बस्तुको मूल्यमा कुनै प्रश्न उठाएका छैनन्। बैंकहरुले घाटा खाएर बस्तुहरु बेच अनि बैंकलाई साँवा र व्याज तिर भन्ने सल्लाह पक्कै दिँदैनन्। जबकी बैंकहरुलाई प्राय व्यापारीहरुको बस्तुको लागत मूल्यका बारेमा धेरै जानकारी हुने गर्दछ। किनकी हरेक स्तरका व्यापारी प्रत्यक्ष वा परोक्ष रुपमा बैंकको दायरामा आउने गर्दछन् वा आउनै पर्ने हुन्छ। बैंकहरुको जस्तो पारदर्शीपन पनि व्यापारिक क्षेत्रमा हुँदैन। र, पनि बैंकहरुले ती पक्षहरुमा कहिल्यै प्रश्न उठाउने गर्दैनन्। कतिपय व्यापारमा २५ लाख रुपैयाँ लगानी गरेर सालमै २५ लाख रुपैयाँ मूनाफा गरेको उदाहरणहरु थुप्रै छन्। र पनि बैंकले अझ बढी कमाउनका लागि आफना ग्राहकहरुलाई हौसला प्रदान गर्ने गर्दछन्। 

व्यापारको धर्म भनेकै नाफा कमाउने हो। समाज सेवा गर्नका लागि शायद कसैले व्यापार गर्दैन। व्यापारी एक्लैको सीमित पूँजीले मात्र व्यापारको आकारलाई ठूलो वनाउन सकिँदैन। बैंकले व्यापारीको सोच र योजनालाई मुर्तरुप दिनका लागि साँघुको काम गरिदिने गर्दछ। त्यही साना साना निक्षेपकर्ताहरुबाट एकत्रित निक्षेपको माध्यमबाट। एकत्रित निक्षेपमा बैंकले बजारले निर्धारण गरेको व्याजदरमा व्याज प्रदान गर्ने गर्दछ। परल मूल्यमा लागत जोडी बैंकहरुले बजारको प्रवृत्ति अनुसार कर्जाको व्याज तोक्ने गर्दछन् र बिश्वव्यापी प्रचलन पनि यही हो। तर बर्तमानमा यही प्रक्रियालाई नै ठाडो चुनौती दिने प्रयास भएको छ। जसको कुनै जरो र चुरो भेटिदैन। 

निक्षेपकर्ता र कर्जावालाको हितलाई ध्यानमा राखेर बैंकले जहिल्यै सन्तुलित भूमिका निर्वाह गर्नु पर्ने हुन्छ। आजसम्म बैंकले आफनो मूमिकामा न्यायनै गरेको छ। साथै सरकार र नियामक निकायले प्रतिपादन गर्ने हरेक निर्देशनहरुलाई अक्षरस पालना गर्ने प्रयास पनि गरेकै हुन्छ। अर्थतन्त्रलाई चलायमान राख्नका लागि बैंकहरुले सवै पक्षहरुसँग काँधमा काँध मिलाएर हिँड्ने गरेको छ। सरकार र निजी क्षेत्रका हरेक ठूला साना परियोजनाहरुमा आफ्नो गच्छेले भ्याएसम्म सहभागिता पनि जनाउने गरेको छ। नेपालैभरिका हरेक परियोजनाहरुमा बैंकहरुको उपस्थितिलाई देख्न सकिन्छ। बैंकहरुले राम्रोसँग बुझेको  तथ्य भनेकै उद्यमीहरुको बिकास र प्रगतीबाट मात्रै बैंकको भलो छ। र, बैंकहरुले व्यापारी बर्गबाट खोजेको पनि यिनै कुराहरु हुन्। 

अभावको समयमा पनि बैंकहरुले धैर्यताका साथ परिस्थितीलाई आफ्ना सहयात्रीहरुको अनुकुल बनाउने प्रयास गरेका छन्। कुनै पनि परियोजनाहरुलाई रोकिन दिनु हुँदैन भन्नेमा सचेत छन्। र, देशको समृद्धिका लागि अर्थतन्त्र निरन्तर रुपमा उकालो लाग्न जरुरी छ भन्ने सत्यतालाई आत्मासात गरी सिमित स्रोतबाट उच्चतम प्रतिफलका लागि अघि बढनको बिकल्प छैन भन्ने तथ्यसँग पनि बैंकहरु परिचित रहेको सत्यलाई बुझिदिनु आजको आबश्यकता हो र भविष्यको मार्गचित्र पनि हो।
(शेरचन प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्।)

Share this Story

   

अशोक शेरचनको प्रश्न- आज बैंक नजोडिएको कुन परियोजना देशमा छन्? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.