निक्षेपमा राम्रो ब्याज पाउन्जेल शेयरमा लगानी गर्न कोही तयार हुँदैन, प्रकाश तिवारीको विश्लेषण  

बिजमाण्डू
२०७५ फागुन १० गते १५:२४ | Feb 22, 2019
निक्षेपमा राम्रो ब्याज पाउन्जेल शेयरमा लगानी गर्न कोही तयार हुँदैन, प्रकाश तिवारीको विश्लेषण  

काठमाडौं। समग्र अर्थतन्त्रको आउटलुक बिग्रिदा शेयर बजार घट्ने क्रम रोकिन सकेको छैन। अर्थतन्त्रका नकारात्मक सूचकहरुलाई जतिसुकै ढाक छोप गरे पनि यसले कति दिनसम्म धान्ने भन्ने कुरा हो। अर्थतन्त्रको आउटलुक बिग्रिएसँगै कुनै पनि क्षेत्रमा उत्साह छैन। बास्तबिक क्षेत्रदेखि शेयर बजारसम्मै उत्साह हराएको छ। 

Tata
GBIME
Nepal Life

बजार निरन्तर घटिरहेकाले अचेल सबैले सोध्ने प्रश्न हो, शेयर बजार कहिलेबाट बढ्न सुरु होला? लगातार घटिरहेको बजार रोकिएको अवस्थामा मात्रै बढ्ने विषयमा सोच्न सक्ने अवस्था रहन्छ। सबैभन्दा पहिले बजार ओरालो लाग्ने क्रम रोकिनु पर्छ। बजार अझै रोकिन सुरु भएको छैन। हरेक महिना बजारले नयाँ नयाँ तल्लो बिन्दु तय गर्दै आएको छ। बजार रोकिने कुनै पनि आधार तयार भएको छैन। 

घटिरहेको बजार रोकिनका लागि केही नयाँ शक्ति आवस्यक पर्छ। त्यसैले अहिले बजार घट्ने क्रम रोकिन आवश्यक छ। शेयर बजारको विगतलाई हेर्ने हो भने पनि बजार घट्न रोकिएपछि बढ्नका लागि छ महिना शक्ति संञ्चयको लागि आवस्यक पर्छ। बजारले गति लिनका लागि अझै धेरै समय आवस्यक पर्छ। यसका लागि घट्न रोकिने समय र बढ्नको लागि आवस्यक पर्ने समय हिसाव गर्नु पर्ने हुन्छ। 

बजार घट्न रोकिने तागत के के हुन सक्छ
लगानीकर्ताबाट पेनिक सेल रोकिनु पर्छ। यो मूल्यमा म शेयर बेच्दिन भन्ने माइन्डसेट हुनु पर्छ। आफुसँग भएको शेयर बेचर पैसा निकाल्नुभन्दा अन्य स्रोत खोजेर पैसा जोहो गर्न थाल्नु पर्छ। यसले गर्दा बजारमा सेलिङ प्रेसर रोकिन्छ। यसपछि विस्तारै माग बढ्न थाल्छ। 

साथै सक्रिय लगानीकर्ताको संख्या थपिनु पर्छ। बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढ्नु पर्छ। हाल कारोबार गरिरहेका लगानीकर्ताको शेयर खरिद गर्न सक्ने क्षमता बढ्नु पर्छ। जसले लगानीकर्ताको खरिद गर्न सक्ने क्षमता बढ्न थाल्छ। जस्तो एक करोड रुपैयाँको शेयर कारोबार गरिरहेकाहरुले थप पाँच करोड रुपैयाँको शेयर खरिद गर्न सक्ने अवस्था सृजना हुनु पर्छ। यसले आपुर्तिभन्दा माग पक्षलाई बलियो बनाउँछ। 

वियरिस ट्रेण्डमा बजार अलिकति बढ्ना साथ नाफा बुक गर्नेको संख्या बढ्छ। अहिलेको अवस्थामा बजार केही अंक उकालो लाग्ना साथ सेलिङ प्रेसर आइहाल्छ। यस्तो ट्रेण्डमा बजार घट्छ नै भनेर लगानीकर्ताले खेलिरहेका हुन्छन्। तर बुलिस ट्रेण्डमा अंक जतिसुकै बढे पनि बजार अझै बढ्छ भन्ने मानसिकताले शेयर बिक्री गर्नेभन्दा पनि थप्दै जाने वातावरण अवस्था बन्छ। कुनै कुनै दिन बजार घट्दा पनि शेयर किनेर राख्नु पर्छ भन्ने मानसकिता हुन्छ। 

बजार बढ्ने मानसिकता कसरी सृजना होला? 
सबैभन्दा पहिले लगानीकर्तासँग पैसा हुनु पर्छ। लगानीकर्तासँग पैसा आउन समग्रमा अर्थतन्त्रमै सुधार आउनु पर्छ। अर्थतन्त्रका सकारात्मक सूचकले खरिद गर्न सक्ने क्षमता बढाउँछ। यसका साथै राजनीतिक अवस्था सकारात्मक हुनु पर्छ। राजनीतिक अवस्थासँगै अर्थतन्त्रका समग्र सूचक सकारात्मक हुने वित्तिकै बजार घट्न रोकिन्छ। यस्तो अवस्थामा लगानीकर्ताको मानसिकता मजबुत बनाउन थप साथ दिन्छ र बजार बढ्न मद्दत गर्छ।

कहिलेकाँहि अर्थतन्त्रका सूचक नकारात्क हुँदा हुँदै पनि मानसकिता बलियो भयो भने पनि बजार घट्लाई रोक्छ। शेयर बजार सुधारका लागि कम्पनीको पर्फर्मेन्स, लगानीको वातावारण, फण्डको मोबिलाइजेसन र विश्वको अर्थतन्त्रको सूचक सकारात्मक हुनु पर्छ। अहिलेको अवस्थामा कम्पनीहरुको पर्फर्मेन्स राम्रो छ तर राष्ट्रियस्तरको अर्थतन्त्रको सूचक भने कमजोर छ। राष्ट्रियस्तरको अर्थतन्त्रको सूचक नकारात्मक हुँदा मानसिकतामा धेरै नै असर पारेको छ। 

सम्पुर्ण सूचक नकारात्मक हुने वित्तिकै मनि सप्लाईमा प्रभाव पार्छ। मुद्राको आपुर्ति कम हुँदा बैंकको व्याजदर बढिरहेको छ। यसले गर्दा लगानी योग्य रकमको अभाव भएको छ। केहि वर्ष अगाडि सात प्रतिशत सम्ममा शेयर कर्जा पाइन्थ्यो। अहिले १४/१५ प्रतिशतमा शेयर कर्जा लिएर बजारबाट नाफा गर्न सक्ने अवस्था छैन। 

पछिल्ला दिनमा शेयर कर्जा लिनेको संख्या नै घटेको छ। बैंकहरुले छानीछानी राम्रा राम्रा कम्पनीमा कर्जा दिन सक्ने अवस्था सृजना भएको छ। राम्रा राम्रा कम्पनीमा कर्जा प्रवाह गर्न पाउँदा पाउँदै बैंकहरुले शेयर कर्जाको लागि प्रोत्साहन गर्दैनन्। 

बजेट खर्च नभएसँगै बजारमा तरलता अभाव कायमै छ। तरलता समस्या रहुन्जेल निक्षेपको व्याजदर घट्न सक्ने अवस्था छैन। निक्षेपमै राम्रो व्याज पाउँदा पाउँदै शेयर बजारमा लगानी गर्न कोहि तयार हुँदैनन्।  
(बजार विश्लेषक प्रकाश तिवारीसँग गरिएको कुराकानीमा आधारित)