नेपालको विकासमा साथ दिने अस्ट्रियाली विदेशमन्त्रीको बचन, परराष्ट्र मन्त्रीस्तरीय वार्ता

विधुर ढकाल/बिजमाण्डू
२०७५ फागुन १० गते १४:४४ | Feb 22, 2019
नेपालको विकासमा साथ दिने अस्ट्रियाली विदेशमन्त्रीको बचन, परराष्ट्र मन्त्रीस्तरीय वार्ता


काठमाडौं। अष्ट्रिया र नेपालबीच मन्त्रीस्तरीय द्वीपक्षीय वार्ता सम्पन्न भएको छ। नेपालको तीन दिने भ्रमणमा बिहीबार नेपाल आइपुगेकी अष्ट्रियाकी युरोप तथा परराष्ट्र मामिला मन्त्री कारिन किन्सल र परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको प्रतिनिधि मण्डलबीच आज द्वीपक्षीय वार्ता सम्पन्न भएको हो।

Tata
GBIME
Nepal Life

वार्ताका क्रममा दुई देशबीचको सम्बन्धलाई थप उचाईमा पुर्‍याउने विषयमा छलफल भएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए।

'वार्ताका हामीहरुले द्वीपक्षीय सम्बन्धको समिक्षा गर्दै सम्बन्धलाई थप उचाइमा लैजान विषयमा छलफल भयो। हाम्रो सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन द्विपक्षीय तथा वहुपक्षीय फोरमहरुमा मिलेर काम गर्ने सहमति भएको छ,' द्विपक्षीय वार्तापछि आयोजित संयुक्त प्रेस ब्रिफिङ कार्यक्रममा मन्त्री ज्ञवालीले भने, 'हामीले दुई देशबीच व्यापार, लगानी, प्रविधि हस्तान्तरण, दिगो विकास, वातावरण संरक्षण, क्लिन इनर्जी र अन्य साझेदारीका क्षेत्रहरुमा छलफल भयो।'

मन्त्री ज्ञवालीले नेपालको प्राथमिकता र नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपालीको अभियानका बारेमा अष्ट्रियाकी समकक्षीलाई जानकारी गराएको बताए। अष्ट्रियाको तर्फबाट नेपालको विकासमा सहयोग गर्ने प्रतिवद्धता प्राप्त भएको उनले जानकारी दिए।

छलफलका क्रममा नेपालले मार्चमा आयोजना गर्न लागेको लगानी सम्मेलनको जानकारी गराउँदै कार्यक्रममा अष्ट्रियाका लगानीकर्ताको सहभागिताका लागि आग्रह गरेको जानकारी गराए।

त्यस्तै नेपाल भ्रमण वर्ष २०२०को कार्यक्रममा अष्ट्रियाका पर्यटकहरुको आगमन हुनेमा विश्वास व्यक्त गरे।

नेपालको विकासमा अष्ट्रियाको साथ रहन्छ
यसैबीच अष्ट्रियाकी परराष्ट्र मन्त्रीले नेपालले भूकम्पपछिको पुन:निर्माणमा हासिल गरेको उपलब्धिको सरहना गर्दै नेपालको पुन:निर्माण र विकासमा अष्ट्रियाको साथ रहने बताएकी छन्। उनले अष्ट्रियाको सहयोगमा निर्माण भएको पाटनको संग्रहालयको नाम लिँदै नेपालको संस्कृतिक सम्पदाको संरक्षण र विकासमा अष्ट्रियाको साथ रहने बताइन्।

उनी बिहीवार नै सो संग्रहालयको भ्रमण गरेकी थिइन्। सो संग्रहालयको निर्माण अष्ट्रियाको सहयोगमा भएको थियो।

उनले नेपाल आउनु अगाडि नेपालको बारेमा अध्ययन गरेको भन्दै उनले नेपालबारेका पुस्तकहरु उपलब्ध गराएको भन्दै परराष्ट्र मन्त्री ज्ञवालीलाई धन्यवाद दिइन्। उनले नेपालको उर्जा क्षेत्रमा अष्ट्रियाको सहयोग हुने बताइन्।

उनले अष्ट्रिया र नेपाल पर्यटकीय सम्भावनाका हिसावले समान भएको भन्दै उनले अष्ट्रियाका तर्फबाट पर्यटक व्यवसायीहरुले नेपालमा लगानी गर्दै आएको भन्दै यसले निरन्तरता पाउने बताइन्। त्यस्तै नेपाल भ्रमण वर्ष २०२० मा समेत अष्ट्रियाका पर्यटकहरुसमेत आउने बताइन्।

नेपाली सेनाको प्रशंसा
यसैबीच मन्त्री करिनले राष्ट्र संघीय शान्ति सेनामा नेपाली सेनाले पुर्‍याएको योगदानको लागि धन्यवाद दिइन्।

'राष्ट्र संघीय शान्ति मिसनमा नेपाली सेनाले महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्। त्यसका लागि म धन्यवाद दिन चाहन्छु। नेपाली व्लु हेलमेटले विश्वमा शान्तिको शन्देश फैलाएका छन्,' उनले भनिन्।

उनको यो भ्रमण अष्ट्रियाबाट २९ वर्ष पछि हुन लागेको उच्चस्तरीय भ्रमण हो। सन् १९९० को फेब्रुअरीमै अष्ट्रियाका तत्कालिन परराष्ट्र मन्त्री अलोइस मोकले नेपालको तीन दिने भ्रमण गरेका थिए।

दुई देशबीच सन् १९५९मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो। दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएपछि सन् १९७८ मा आर्थिक साझेदार उपमन्त्री डा अडोल्फ नुसबाउनर नेपालको भ्रमणमा आएका थिए।  त्यस्तै सन् १९८१ मा डा कुर्त वाल्धेइमले नेपाल भ्रमण गरे। संयुक्त राष्ट्र संघको महासचिवको हैसियतमा नेपाल भ्रमण गरेका उनी सन् १९९० मा अष्ट्रियाको राष्ट्रपति भएका थिए। 

नेपालका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सन् १९९३ मा अष्ट्रियाको भ्रमण गरेका थिए। मानवअधिकार सम्मेलनमा भाग लिन उनी त्यहाँ पुगेका थिए। त्यस्तै राजा वीरेन्द्र र रानी ऐश्वर्यले सन् १९८६ र २००० मा र राजकुमार ज्ञानेन्द्रले १९९३ मा अष्ट्रियाको भ्रमण गरेका थिए।

अष्ट्रियाले नेपालमा नाम्चे लघुजलविद्युत परियोजना, पाटन संग्राहलय केशरमहलको श्वप्न बगैँचा, रोलवालिङ इको टुरिजम परियोजनामा नेपाललाई सहयोग गरेको छ। अष्ट्रियाकी परराष्ट्रमन्त्रीले नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रमसमेत रहेको छ। यद्यपी परराष्ट्र मन्त्रालयले उनको भ्रमणको तालिका सार्वजनिक गरिसकेको छैन।

अष्ट्रियन मन्त्री करिनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। त्यस्तै साँझ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले गर्ने नेपाल अष्ट्रिया सम्बन्धको विषयमा आयोजना गर्ने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

नौ दिन लामो दक्षिण एसियाली मुलुकहरुको भ्रमणमा बुधवार निस्किएकी मन्त्री करिन दोस्रो देशको रुपमा नेपाल आएकी हुन्। उनी यसअघि बंगलादेश भ्रमण गरिसकेकी छन्। उनी भोली भुटान जाने कार्यक्रम रहेको छ।