नेकपा बैठक: ओली अल्पमतमा पर्ने देखिएपछि एकताका लागि गठित कार्यदल विघटन

बिजमाण्डू
२०७५ फागुन १० गते १२:५६ | Feb 22, 2019
नेकपा बैठक: ओली अल्पमतमा पर्ने देखिएपछि एकताका लागि गठित कार्यदल विघटन

काठमाडौ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालय बैठक सकिएको छ। बैठकले असहमतिकाबीच एकता सम्बन्धी बाँकी काम टुंग्याउन स्थायी कमिटी बैठकले गठन गरेको कार्यदललाई विघटन गर्ने निर्णय गरेको छ।

Tata
GBIME
Nepal Life

शुक्रवार बिहान बसेको सचिवालय बैठकले एकीकरणका बाँकी काम सचिवालयले नै टुंग्याउने निर्णय गर्दै कार्यदल भङ्ग गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

‘एकीकरणका काम बाँकी सचिवालयले गर्ने छ। सचिवालयले गृहकार्य गरी प्रस्ताव तयार गरेर स्थायी कमिटीमा पेस गर्नेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘साथै यसअघि बनेको कार्यदललाई धन्यवादसहित बिदा गर्ने निर्णय भयो।’

स्थायी कमिटीको पौष १३ सम्पन्न बैठकले सचिवालय सदस्य रामबहादुर थापा नेतृत्वमा ९ सदस्यीय कार्यदल बनाएको थियो। 

कार्यदललाई १५ दिनको समय दिइए पनि सो अवधिमा कार्यदलभित्र सहमति जुट्न नसक्दा संयोजक थापाले अपुरो प्रतिवेदन बिहीबार बसेको कार्यदलका सदस्य सम्मिलित सचिवालय बैठकमा पेस गरेका थिए। 
 
संयोजक थापाले बाँकी काम सक्न एक साताको समय मागेका थिए। तर, कार्यदललाई विघटन गर्ने प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले सारेका थिए। 

असहमतिका बिच सचिवालय बैठकले कार्यदल विघटन गरेको हो। कार्यदलको विघटन गर्ने विषयमा सचिवालय सदस्य तथा वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमले असहमति जनाएका छन्। 

कार्यदलमा संयोजक थापासहित सदस्यमा महासचिव विष्णु पौडेल, शङ्कर पोख्रेल, रघुवीर महासेठ , वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र वेदुराम भुसाल रहेका थिए। 

कार्यदलमा ओली पक्ष अल्पमत हुँदा कार्यदल विघटन गर्नतर्फ ओली अग्रसर भएका हुन्। कार्यदलमा पोखरेल, पौडेल र महासेठ ओली पक्षका हुन् भने संयोजक बादलसहित सदस्यहरुले कार्यदलको म्याद थप गर्ने विषयमा सहमत थिए।