उद्यमीसँग लिने ब्याजभन्दा ४% बढि ब्यापारीको हुनुपर्छ, उद्यमी गोल्यानको विश्लेषण

पवनकुमार गोल्यान
२०७५ फागुन ५ गते ०९:०२ | Feb 17, 2019
उद्यमीसँग लिने ब्याजभन्दा ४% बढि ब्यापारीको हुनुपर्छ, उद्यमी गोल्यानको विश्लेषण


उद्योग ब्यवसाय महँगो ब्याजमा चल्न सक्दैन। त्यसैले ऋणको ब्याज दर एकल अंकमा बस्नै पर्छ। अहिले पूर्वी नेपालका साथीलगायत अन्य उद्यमीहरु बैंक ब्याज महँगो भयो भनिरहेका छन्। उनीहरुले ब्याज घट्नुपर्छ भनेर राखेको माग ठिक हो, तर यति भन्दाभन्दै पनि उनीहरुले जुन ढंगबाट ब्याज घट्नुपर्छ भनेर भनिरहेका छन्, त्यो चै गलत हो।

Tata
GBIME
Nepal Life

निक्षेपको ब्याजदर २ प्रतिशत गर्नुपर्छ भन्ने उनीहरुको माग छ। निक्षेपको ब्याज २ प्रतिशत भयो भने हाम्रो सबै पूँजी पलायन हुनथाल्छ। कसैले पनि दुई प्रतिशत ब्याजका लागि नेपाली बैंकमा पैसा राख्दैन। अहिले मूल्यवृद्धि दरनै पाँच प्रतिशत हाराहारी छ। यसो हुँदा निक्षेपको ब्याज घटिमा पनि ६/७ प्रतिशत हुनैपर्छ।

यो पनि पढ्नुस्: व्यापार गर्नेहरु मालामाल छन्, उनीहरु पैसा फ्याँक्न सक्छन्

अहिले ब्याज किन बढिरहेको छ? यसको पृष्ठभूमि हेर्नु पर्ने हुन्छ। सबै कुरा माग र आपूर्तिले निर्धारण गर्छ। व्यापारीका हिसाबले कुरा गरौं न, आज मैले धागो नै बेचिरहेको छु। कुनै बेलामा बिश्वभरी नै अभाव भयो भने हामीले धेरै राम्रो मूल्यमा निर्यात गर्छौं। जब जब माग बढ्छ र सामान आपूर्ति कम हुन्छ, त्यो बेला मूल्य त स्वभाविक रुपमा बढ्छ। हामीले सामान निर्यात गरेर कमाइरहँदा सरकारले धेरै कमाइस् भनेर नियन्त्रण गरेको त छैन। व्यवसायीहरुले पनि धेरै कमायौं, यतिधेरै कमाउनु हुन्न त भनेका छैनन्। बैंक ब्याज पनि त्यही हो। हिजोको भन्दा अलिकति ब्याज महँगो भयो भनेर सरकारले नियन्त्रण गर्नु पर्छ भन्नु गलत हो। 

हो, एकल अंकमा के गर्दा आउँछ त्यो गर्नु पर्छ। तर अप्राकृतिक रुपमा, सरकारी हस्तक्षेपबाट ब्याज दरलाई नियन्त्रण गर्नु हँदैन। अहिले ब्याज घटाउनका लागि राष्ट्र बैंकलाई उच्च दबाब छ। उसले त ब्याज घटाउन सक्दैन। कि यतिभन्दा बढि लिन पाउँदैनौं भन्नु पर्छ। त्यो अवस्था आउन दिनु उचित हो र? खुला बजार अर्थतन्त्रमा नियन्त्रणमूखी माग गर्नु उचित होइन।

किन पैसा अभाव?
अहिले स्थिर सरकार छ। उद्योगहरुमा लगानी बढिरहेको छ। १५ खर्ब रुपैयाँ त निर्माण क्षेत्रमा माग छ। माग उच्च छ तर निक्षेपको वृद्धि दर प्राकृतिक मात्र भएको छ। अर्थात नियमित बृद्धि छ। ऋणको माग उच्च भएको दुई बर्ष भइसकेको छ। निक्षेप स्वभाविक बढ्ने तर ऋणको माग उच्च हुँदा मिसम्याच भएर ब्याज बढेको छ। 

आजको मितिमा ऋण महँगो भयो मैले व्यापार गर्न पाइन भन्ने कुराभन्दा पनि पैसा नै नपाएको अवस्था छ। उच्च मागलाई निरुत्साहित गर्नका लागि पनि बैंकले कतिपय ऋणको ब्याज महँगो  बनाएका छन्। बढेको ब्याज पनि तिरेर पैसा लैजाँदा अझै ब्याज बढ्ने अवस्था भयो। ऋणको मागलाई धान्नका लागि निक्षेप खोज्न हिँड्नु पर्यो। तर, निक्षेप नियमितभन्दा बढि छैन आन्तरिक स्रोतबाट। त्यसैले सबैले बढिबढि ब्याज तिरेर निक्षेप उठाउनु परिरहेको छ। यसले गर्दा बैंकको पूँजीको लागत नै बढेर गएको छ। बैंकले आफ्नो 'र-मेटरियल' जतिमा किन्यो त्यसमा प्रोसेसिङ र थोरै नाफा राखेर बेच्छ। 'र-मेटरियल' कै पैसा बढेपछि बैंकहरुले महँगोमा पैसा बेच्नु परिरहेको हो।

समाधान के त?
हामीलाई आन्तरिक पूँजीले मात्र धान्न सक्ने अवस्था छैन। विदेशबाट पैसा जसरी पनि भित्र्याउनु पर्ने अवस्था छ। यहाँको यति ठूलो मागलाई पूरा गर्ने गरी पैसा ल्याउनु पर्छ। आज बार्षिक ५ खर्ब रुपैयाँको अभाव हुन थालेको छ। अहिले जलविद्युत लगायत अन्य निर्माण क्षेत्रमा बैंकहरुको ठूलो प्रतिबद्धता छ। अन्य क्षेत्रमा पनि प्रतिबद्धता उच्च छ।

विदेशबाट पैसा आउने भनेको कि प्रत्यक्ष बैदेशिक लगानी (एफडिआइ) हो या ऋण (डेब्ट)। निजी क्षेत्रलाई ऋण ल्याउनका लागि खुकुलो नीति बनाइदिनु पर्छ। अहिले विदेशी पूँजी भित्र्याउन लामो प्रकृया पार गर्नु पर्छ। यसलाई छोट्याउनु पर्छ। भर्खरै हेजिङको ब्यवस्था भएको छ। यसले सजिलो पार्छ। हामी नै पनि पैसा ल्याउने पहल गरिरहेका छौं।

हामी तरलता अभाव भयो कि सरकारले विकास खर्च नगरेर भएको भन्ने प्रतिकृया दिन्छौं। तर सरकारले पुरै खर्च गर्यो भने पनि त्यसले हामीलाई पुग्दैन अब। अब सरकारले प्रथमिकता प्राप्त क्षेत्रमा जाने ऋणमा रिफाइनान्सिङ बढाउनु पर्छ। अहिले ३५ अर्ब रुपैयाँ छ, यसलाई कम्तिमा १ खर्ब रुपैयाँको बनाउनु पर्छ। यो काम तुरुन्तै गर्न सकिन्छ। 

महँगो ब्याजको असर
ब्याज दर महँगो हुँदा प्रत्यक्ष मार केही क्षेत्रलाई परिहाल्छ। जस्तो जलविद्युत, पर्यटन र जुनसुकै प्रकारको उत्पादनमूखि उद्योगलाई यसले असर गर्छ। किनभने उनीहरुको मार्जिन ब्याज दरका आधारमा निर्धारण हुन्छ। होटलले १२/१३ प्रतिशतको ब्याज धान्दैन। जलविद्युतको पिपिए फिक्स गरेको हुन्छ। उत्पादन गर्ने उद्योगहरुले ब्याजको महँगी ग्राहकमा सार्न सक्दैनन्। त्यसैले ब्याज महँगो हुनु अर्थतन्त्रका लागि राम्रो हुँदैन। 

ब्याज दर महँगो भएका कारण अहिले बैंकहरु भनेको डाका नै हो, चोर नै हो जस्तो ब्यवहार भइरहेको छ। यो बास्तविकता होइन। बैंकहरुको पूँजीको तुलनामा नाफा बढेको छैन। हो, रकममा नाफा बढिरहेको देखिन्छ तर अनुपातमा बढेको छैन। आजको मितिमा ३०० रुपैयाँमा शेयर किनेको छ तर प्रतिफल ३० प्रतिशत दिन्छ भने उसले बास्तविकतामा १० प्रतिशत मात्र प्रतिफल पाइरहेको हुन्छ। बैंकमा पैसा राख्दा बर्षमै १३ प्रतिशत पाइने अवस्था थियो। अहिले निक्षेपमा ब्याज बढि पाएकाले पनि शेयर बजार घटेको हो। 

बैंकर र ब्यवसायी एउटै हुँदा समस्या?
मलाई बैंकले बढि ब्याज लिएर उच्च नाफा कमाएर दिए भने पनि फाइदा छैन। मेरो एनएमबी बैंकमा २ प्रतिशत शेयर छ। त्यहाँबाट आउने लाभांस भनेको लाखौमा हो। तर उद्योगमा मेरो अर्बौको लगानी छ। त्यहाँ एक प्रतिशत ब्याज बढ्दा पनि मलाई धेरै अप्ठेरो हुन्छ। ३ अर्बको ऋणमा १ प्रतिशत बढायो भने पनि ३ करोड रुपैयाँ खर्च थपिन्छ। सबै ब्यवसायिक प्रतिष्ठानहरुको हालत यही नै हो।

ब्यवसायी किन नियन्त्रणको पक्षमा?
बैंकमा लगानी भएको सबै व्यवसायीले दुबै पक्षको कुरा बुझेको हुन्छ। बैंकमा लगानी भएको मान्छे त झन् बढि सेन्सेटिभ हुन्छ। ब्याज बढोस् भन्ने त उसले चाहँदै चाहँदैन। जुत्ता लाउने मान्छेले मात्र थाहा पाउँछ कि जुत्ताले पनि घाउ बनाउँछ भनेर। उद्यमीले राम्रो बुझेको हुन्छ ब्याज दरका कारण कति समस्या हुन्छ भनेर। एकातिर मात्र लगानी भएको मान्छेले कुरा बुझेको हुँदैन। उसलाई एकातिरको कुरा मात्र थाहा हुन्छ। 

एकातिरको दृष्टीकोणले मात्र हेर्दा अहिले नियन्त्रणको कुरा उठेको हो। आज बैंक ब्याज दरमा नियन्त्रण गर्न भन्दा भोली अरुतिर पनि नियन्त्रण हुन थाल्ला। त्यो अवस्था आउनु उद्यमीका लागि र अर्थतन्त्रका लागि साह्रै नराम्रो कुरा हुन्छ। आज ब्यापारीले ब्याजमा नियन्त्रणको कुरा उठायो। भोली जनताले यो अत्यावश्यक बस्तु हो, नाफा नराखी बेच्नु पर्छ भनेर आवाज उठाउलान्। त्यसैले यस्तो बिषयमा बोल्नुअघि बिचार पुर्याउन आवश्यक छ। 

एफएनसिसिआइका प्रतिनिधिहरुले अहिले नियन्त्रणको कुरा गरिरहनु भएको छ। उहाँहरुले एकातिर मात्र सोचेर बोलिरहनु भएको छ। यसले बुमर्याङ गर्छ। यो कुरा उहाँहरुले बुझ्नु भएको छैन। 

उद्यमीलाई समस्या, ब्यापारीलाई छैन
ब्यापारीलाई ब्याजले खासै असर गर्दैन। उद्यमीलाई भने असर गरिरहेको छ। त्यसैले ब्यापारीले  ब्याजको कुरा गरेको छैन। किनभने उनीहरुले 'पासअन' गर्न सक्छन् खर्च। उद्यमीको लागत नै महँगो पर्छ। उद्यमी प्रतिस्पर्धी हुन सक्दैन। 

त्यसैले ब्याज दर निर्धारण फरक ढंगले गरिनु पर्छ। ब्यापार गर्नेलाई एउटा र उद्य गर्नेलाई अर्को दर लगाउनु पर्छ। ब्यापारमा ब्याज बढि लिनु पर्छ। ट्रेडिङको लागि एलसी खोल्न महँगो ब्याज राख्नु पर्छ। कम्तिमा पनि चार प्रतितशत ब्याज महँगो राख्न आवश्यक छ। विगतमा पनि यस्तो अभ्यास भएको थियो। यसले गर्दा आयात निरुत्साहित हुन्छ र आन्तरिक ब्यवसायले सस्तो ब्याजमा पूँजी प्राप्त गर्न सक्छ। 

अहिले पनि बाहिर (अनौपचारिक क्षेत्र) को तुलनामा बैंक ब्याज निकै सस्तो छ। ब्यापारका लागि त अहिलेको ब्याज अझ सस्तो हो। उद्यमशिलताका लागि महँगो भएको छ। त्यसैले ब्याज बढि भयो भनेर मात्र हल्ला गर्नु गलत हो।