कोलकाताबाट विद्युतीय कार्गो वीरगञ्जका लागि हिँड्यो, व्यापार सहजीकरणमा ठूलो फड्को

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ फागुन ४ गते ११:५८ | Feb 16, 2019
कोलकाताबाट विद्युतीय कार्गो वीरगञ्जका लागि हिँड्यो, व्यापार सहजीकरणमा ठूलो फड्को


विराटनगर।ट्रान्ससिपमेन्ट मोडलको इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम अन्तर्गत मालवाहक रेल कोलकाता बन्दरगाहबाट शुक्रबार साँझ वीरगञ्जको सुक्खा बन्दरगाहका लागि हिँडेको छ।

Tata
GBIME
Nepal Life

कोलकाताबाट फागुन ३ देखि विद्युतीय कार्गोको परीक्षण गरिने कार्यक्रमअन्तर्गत वीरगञ्जको सुक्खा बन्दरगाहका लागि २० वटा कन्टेनर बोकेको मालवाहक रेल र्याक कोलकाताबाट हिँडेको हो ।कोलकातास्थित नेपालका महावाणिज्यदूत एकनारायण अर्यालको प्रमुख आतिथ्यमा तीन जनाले झण्डा हल्लाएपछि विद्युतीय कार्गो नेपालका लागि रमाना भएको थियो।

बन्दरगाहस्थित कमिस्नर कस्टम मनीषचन्द्र, कनकोरका महाप्रबन्धक शहीद रहमन र बन्दरगाह सञ्चालक समितिका अध्यक्ष विनीतकुमारले संयुक्त रूपमा झण्डा हल्लाएका थिए।कार्यक्रममा महावाणिज्यदूत अर्यालले नेपाल र भारतबीचको पारवहन र व्यापारमा विद्युतीय कार्गो प्रणालीले ठूलो परिवर्तन ल्याउने धारणा प्रकट गरे।

‘ट्रान्ससिपमेन्ट मोडालिटी अनुसार विशाखापट्टनमबाट विगत ८ महिनादेखि निरन्तर विद्युतीय कार्गो वीरगञ्जको सुक्खा बन्दरगाह गइरहेको छ’, महावाणिज्यदूत अर्यालले भने, ‘विशाखापट्टनमबाट चलान हुने कार्गोको सफलताका बारेमा धेरैले शङ्का व्यक्त गर्नुभएको थियो, त्यो सफल भएको छ । अब कोलाकाताको विद्युतीय कार्गो पनि सफल हुन्छ ।’

विद्युतीय कार्गो सञ्चालनमा आएपछि कोलकाता बन्दरगाह र अन्य ठाउँमा नेपाली व्यवसायीले अनावश्यक रूपमा खर्च गर्दै आएको अरबौँ रुपैयाँ जोगिने दाबी गर्दै अर्यालले भने, ‘नेपाली व्यवसायी धेरै झन्झटबाट अब मुक्त हुनेछन् । व्यापार सहजीकरणका लागि यो ठूलो फड्को पार गरेको साबित हुनेछ ।’

भन्सार विज्ञ श्याम दाहालका अनुसार विशाखापट्टनमबाट वीरगञ्जसम्म इसिटिएस रेल बाउन्ड कार्गो सफल भएपछि नेपाल सरकारको वाणिज्य मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत् भारत सरकारलाई कोलकाता बन्दरगाहदेखि वीरगञ्ज र विराटनगरसम्म पनि ट्रान्ससिपमेन्ट मोडलअनुसारको इसिटिएस कार्गो ल्याउन अनुरोध गरेको थियो ।

नेपालको अनुरोधलाई भारत सरकारले स्वीकार गर्दै फागुन ३ गतेदेखि कोलकाता बन्दरगाहबाट पनि इसिटिएस कार्गो वीगरञ्ज सुक्खा बन्दरगाह र विराटनगर नजिकको भारतीय रेल वे स्टेसन बथनाहासम्म परीक्षणका लागि पठाउने निर्णय अघिल्लो महिना गरेको थियो ।