म्याट्रेसपछि लुम्विनी समूह कार्पेट उद्योगमा, जेन्सा ब्राण्डमा कार्पेट उत्पादन

बिजमाण्डू
२०७५ फागुन ४ गते ११:०७ | Feb 16, 2019
म्याट्रेसपछि लुम्विनी समूह कार्पेट उद्योगमा, जेन्सा ब्राण्डमा कार्पेट उत्पादन



काठमाडौं। घर, होटल तथा कार्यालय सजावटको लागी प्रयोग हुने कार्पेटको बजारमा रुपन्देहीको रोहिनी गाउँपालिकामा अवस्थित आशी इण्डष्ट्रिज प्रालिले विभिन्न छ प्रकारका फाइबर कार्पेटसहित बजारमा प्रवेश गरेको हो ।

Tata
GBIME
Nepal Life

लुम्बिनी क्वायर म्याट्रेस (तयारी डसना) उद्योग संचालन गरिरहेको लुम्बिनी समूहले घर सजावटको उत्पादन श्रृंखलालाई जोड्दै आशी इण्डष्ट्रिज प्रालि मार्फत 'जेन्सा' ब्राण्डमा भुइँ सजावटको लागी कार्पेट उत्पादन शुरु गरेको हो ।

'मंसिरमा‌ हामीले परिक्षण उत्पादन शुरु गरेकोमा माघदेखि व्यवसायिक उत्पादन शुरु भएको छ', उद्योगका संचालक आशिष अग्रवालले भने,'उच्चगुणस्तर र कार्पेटको नयाँ भेराइटी हाम्रो स्ट्रेन्थ हो।चिनियाँ प्रविधिको अर्द्ध स्वचालित मेशिनरी उपकरण जडान गरिएको यो उद्योगसँग चार मिटर चौडाइको कार्पेट उत्पादन गर्ने मेशिनरी रहेको छ । नेपालमा सामान्यतया दुई मिटर चौडाइको कार्पेट मात्र उत्पादन हुँदै आएको छ ।

स्वदेशी बजारको साथै विदेशी बजारमा समेत निर्यात गर्ने उद्देश्य भएकोले कार्पेटको गुणस्तरियतामा‌ एकरुपता ल्याउन कच्चा पदार्थ र तयारी उत्पादनको गुणस्तर परिक्षण गर्न उद्योग परिसरमै प्रयोगशाला समेत संचालनमा ल्याइएको व्यवस्थापनले जानकारी दिएको छ ।

मासिक तीन लाख मिटर कार्पेट उत्पादन क्षमताको यो उद्योगले लामो धर्का भएको कार्पेट(रिब कार्पेट),प्रदर्शनी कार्पेट(एक्जिविशन कार्पेट), नरम कार्पेट ( भेलौर कार्पेट), बुट्टे कार्पेट(प्रिन्टेड कार्पेट), दुई रंग मिश्रित कार्पेट (डबल कलर कार्पेट) सहित छ प्रकारका कार्पेट उत्पादन गरिरहेको छ ।लुम्बिनी क्वायर म्याट्रेस र लुम्बिनी फोम र लुम्बिनी कम्फर्ट उद्योग मार्फत् सजावट उद्योगमा लुम्बिनी समूहको दुई दशक लामो अनुभव छ ।

स्वदेशी बजारमा जम्मा तीन उद्योग
स्वदेशी बजारमा फाइबर कार्पेट उत्पादक उद्योगको संख्या अहिले जम्मा तीनवटा छ।यसअघि यती कार्पेट, एसटी कार्पेट र हेरिटेज कार्पेट संचालनमा रहेकोमा दुई वर्ष अघि भएको भीषण आगलागीपछि यती कार्पेट उद्योग बन्द रहेको छ ।

उद्योग बन्द हुनु अघि यति कार्पेटले वार्षिक ४० करोड रुपैयाँ बराबरको कारोबार गर्दै आएको थियो ।पुनर्निर्माणसँगै आतिथ्यता उद्योग (हस्पिटालिटी इण्डष्ट्रिज) मा आएको उल्लेखनीय लगानीको कारण भुइँ सजावटको लागी कार्पेट लगायतको सज्जा सामाग्रीको बजार मागमा पनि सकारात्मक प्रभाव परेको छ ।