अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा, ट्रम्पले कार्यकारी अधिकार प्रयोग गर्दै संकटकाल लगाए

बिजमाण्डू
२०७५ फागुन ४ गते १०:३७ | Feb 16, 2019


    राष्ट्रिय संकटकाल घोषणा पछि ट्रम्प, फोटो : एपी
वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी अधिकार प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेका छन्।

Tata
GBIME
Nepal Life

गैर कानूनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासी र तस्करहरुका कारण अमेरिकामा संकट आएको भन्दै अमेरिकाको दक्षिणी क्षेत्रमा मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल लगाउन उनले तल्लो सदन कंग्रेस समक्ष बजेट माग गरेका थिए। तर डेमोक्रेटहरुको असहयोगका कारण उनको त्यो माग पुरा नभएपछि कंग्रेसलाई बाइपास गर्दै संकटकाल घोषणा गरिएको हो।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले मेक्सिकोसँगको खुल्ला सीमाबाट 'राक्षसहरुको समूह' र 'लागू औषध' तस्करहरु भित्रिएका कारण अमेरिकी जनतालाई दुख भएको भन्दै राष्ट्रिय संकटकाल घोषणा गर्नु आफ्नो लागि महान काम भएको बताएका थिए।

ट्रम्पले दक्षिणी सीमा खुल्ला भएको र आप्रवासीहरुको गैर कानूनी प्रवेशका कारण अमेरिकामा संकट उत्पन्न भएको भन्दै पर्खाल बनाउने अडान लिँदै आएका छन्। अमेरिका प्रवेश गर्न खोजी रहेका हजारौं आप्रवासीहरु केही महिनदेखि अमेरिकासँग सीमा जोडिएको मेक्सिकोका शहरहरुमा छन्। तर ट्रम्प प्रशासनले भने गैर कानूनी रुपमा कसैलाई पनि अमेरिका प्रवेश गर्न नदिने बताउँदै आएको छ।

पर्खालका लागि बजेट पास नगरेसम्म ट्रम्पले सरकारी खर्च निकासा नगर्ने अडान लिँदा अमेरिकामा इतिहासकै सबैभन्दा लामो ३५ दिने 'सट डाउन' भएको थियो। जनवरी २६ मा पर्खालका लागि खर्च समावेश नगरी सरकारी कार्यालयहरू खोल्न ट्रम्प 'अस्थायी रुपमा सहमत' भएका थिए।

यद्यपि, ट्रम्पले बढ्दो मानवीय तथा आप्रवासी संकट समाधान गर्न मेक्सिकोसँगको सीमामा स्टिलको पर्खाल लगाउन कंग्रेससँग माग गरिएको ५.७ बिलियन अमेरिकी डलर बजेट प्रस्ताव यथावत् रहेको बताएका थिए।

बिहिवार अमेरिकी सदनले फेरि अमेरिकी कार्यालयहरु बन्द हुन नदिन सीमा सुरक्षा विधेयक पारित गरेको थियो। तर विधेयकमा सीमामा पर्खाल लगाउनका लागि ट्रम्पले माग गरे बमोजिम बजेटको व्यवस्था गरिएको थिएन। ट्रम्पले कंग्रेस समक्ष ५.७ बिलियन डलर माग गरेपनि विधेयकमा सीमा सुरक्षाका लागि १.३ बिलियन बजेट छुटयाएको छ।

त्यसैले विधेयक पास भएपछि सरकारी कार्यालय बन्द हुन नदिन ट्रम्पले उक्त विधेयकमा हस्तक्षर गर्ने तर तल्लो सदन कंग्रेसलाई बाइपास गर्दै संकटकाल लगाउने तयारी गरिरहेको ह्वाइट हाउसले जनाएको थियो।

ट्रम्पले सेनाका लागि छुट्याइएको बजेटबाट सीमामा पर्खाल लगाउन तयारी गरिरहेको बुझिएको छ।

संकटकाल लगाएपछि ट्रम्प वर्तमान राजनीतिक प्रक्रियालाई बाइपास गर्दै थप शक्तिशाली बनेका छन्। यसबाट उनले सेनालाई छुटयाइएको बजेटलाई सीमामा पर्खाल लगाउन प्रयोग गर्न सक्नेछन्। तर, सीमामा देखिएको विषय संकटकाल लगाउनै पर्ने अवस्था हो वा होइन भन्ने विषयमा भने विवाद रहेको छ।

यसभन्दा अघि पनि अमेरिकामा संकटकाल लगाइएको थियो। तर विगतमा लगाइएका संकटकालहरु विदेश मामिलामा आइपरेको संकटसँग जुध्न प्रयोग गरिएको थियो।संकटकाल लगाउने ट्रम्पको घोषणासँगै विपक्षी डेमोक्रेटहरुले ट्रम्पले शक्तिको दुरुपयोग गरिरहेको आरोप लगाएको छ। संकटकाल लगाउने विषयमा ट्रम्पको रिपब्लिकन पार्टीकै केही नेताले विरोध गरिरहेको अवस्थामा ट्रम्पको निर्णय विरुद्ध अदालतमा मुद्दा दायर गर्ने विपक्षीको योजना छ।