ब्याजदर घटाउन आन्दोलनरत मोरङका व्यवसायीलाई प्रधानमन्त्रीले बालुवाटार बोलाए, शनिबार वार्ता

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ फागुन ३ गते १७:२० | Feb 15, 2019


विराटनगर। बैंक ऋणमा ब्याजदर घटाउनुपर्ने माग राखेर सडकमा उत्रिएका मोरङका व्यवसायीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि राजधानी बोलाएका छन् ।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान प्रधानमन्त्री र व्यवसायीबीच बैंक ऋणको ब्याज र वीमा कम्पनीका समस्याका बारेमा छलफल हुने भएको छ।

छलफलमा भाग लिन मोरङ व्यापार सङ्घ र उद्योग संगठन मोरङका ब्यवसायीहरुको एक टोली राजधानी आएको छ।

छलफलका लागि प्रधानमन्त्री ओलीले  शनिबार बिहान ९ समय दिएको मोरङ व्यापार सङ्घका अध्यक्ष पवनकुमार शारडाले बताए ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा, विशिष्ट सदस्य चण्डीराज ढकाल र जिल्लानगर उपाध्यक्ष किशोर प्रधान पनि सहभागी हुनेछन्।

साथै वीरगञ्ज, भैरहवा र दमक उद्योगवाणिज्य सङ्घका अध्यक्ष पनि छलफलमा सहभागी हुने अध्यक्ष शारडाले जानकारी दिए ।

‘हाम्रो मुख्य आग्रह बैंक ऋणको ब्याजसम्बन्धी नै हुनेछ, यसका लागि नै हामी माघ २० गतेदेखि आन्दोलनमा छौँ’, अध्यक्ष पवनले भने, ‘उत्पादनमूलक उद्योगले लिएको ऋणको ब्याज ७ प्रतिशत र व्यापार व्यवसायका लागि ९ प्रतिशत तोक्नुपर्ने हाम्रो माग हो । साथै बैङ्कले आफ्नो लगानीको ५० प्रतिशत हिस्सा उत्पादनमूलक क्षेत्रमा प्रयोग गनुपर्ने हाम्रो माग छ।’

उद्योग सङ्गठनका अध्यक्ष भीम घिमिरेले वीमा कम्पनीले गरिरहेको कार्टेलिङ र सिन्डिकेटलाई तोड्न पनि प्रधानमन्त्रीसमक्ष आग्रह गरिने उल्लेख गरे ।

‘२५–१६ वटा शीर्षक हुन्छन्, सबै शीर्षकमा वीमा कम्पनीले प्रिमियम माग्छन्’, अध्यक्ष घिमिरेले भने, ‘सबै वीमा कम्पनीको एउटै भ्वाइस हुन्छ। चाहिँदै नचाहिने विषयमा पनि वीमा गर्नुपरेको छ । उता बैंक र वीमा कम्पनीको साँठगाँठ छ । उनीहरूले भनेको वीमा नगरे बैङ्क ऋण नै नपाइने अवस्था सृजना गरिएको छ ।’

घिमिरे भन्छन्, ‘धनकुटाको डाँडामाथि चिया बगान लगाउनेलाई बाढी र आगोको वीमा किन गर्नुपर्यो। ति डाँडामा कहिले आउँछ बाढी र बगाउँछ चियाको बोट? म इँटा भट्टा चलाउँछु, मेरो भट्टामा २४ सै घण्टा आगो नै बलिरहेको हुन्छ, मैले आगोको बीमा किन गर्नुपर्यो? फलामे डन्डीका फ्याक्ट्रीमा बाढीले कम्पाउन्ड वाल भत्काउला बाँकी केही बिगार्न सक्तैन । तर डन्डीका उद्योगले पनि बाढीको वीमाको महँगो प्रिमियम तिरिरहेका छन् । जत्रै बाढी आए पनि फलाम बगाउने त होइन । यो सिन्डिकेट र कार्टेलिङ हो, यसलाई तोडिनुपर्छ।’ ‘सबै वीमा कम्पनीमा सबै शीर्षकमा वीमाको रेट एउटै हुन्छ।’, अध्यक्ष भीमको भनाइ छ, ‘खुला बजारलाई चुनौती दिँदै उनीहरूले रेटमा कार्टेलिङ गरेका छन् ।’

छलफलमा आउलान् अर्थमन्त्री

प्रधानमन्त्री ओलीले वार्ताका लागि व्यवसायीलाई बोलाएको भए पनि अर्थमन्त्री त्यहाँ आउलान् कि नआउलान् भन्ने चासो व्यवसायीले लिइरहेका छन् ।

‘हामीले अर्थमन्त्री, उद्योग मन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नर छलफलमा हुनैपर्छ भनेर प्रधानमन्त्रीसँग आग्रह गरेका छौं।, अध्यक्ष घिमिरेले भने।

अर्थमन्त्री खतिवडाले केही दिन अघि एक कार्यक्रममा एक हातमा बैंक र अर्को हातमा उद्योग–व्यवसाय राखेर सरकारलाई ब्याज घटाउन हस्तक्षेप गर्न किन गर्नुहुन्छ भन्दै व्यवसायीलाई प्रश्न गरेका थिए ।

थन्कियो कार्यदलको प्रतिवेदन

यसअघि प्रधानमन्त्रीले साउन १९ गते मोरङका व्यवसायीलाई बालुवाटार बोलाएर व्यावसायिक मुद्दा र समस्यामा छलफल गरेका थिए ।

छलफलपछि अर्थ मन्त्रालयका सहसचिव हरिशरण पुडासैनीको संयोजकत्वमा कार्यदल बनेको थियो । कार्यदलले प्रतिवेदन बनाउने र प्रधानमन्त्रीसमक्ष बुझाउने निर्देशन प्रधानमन्त्रीले दिएका थिए ।

‘उक्त प्रतिवेदन अर्थमन्त्री खतिवडाले म अध्ययन गर्छु अनि मात्र प्रधानमन्त्रीकहाँ लैजाने भनेर राखेको दुई महिना भयो’, भीमले दावी गरे। ‘अर्थमन्त्रीले त्यो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउनुपर्छ भन्ने आग्रह पनि हामी गर्नेछौं।