सराङकोटमा ४० करोडको लगानीमा बन्यो लक्जरी रिसोर्ट, होटल बाराहीको ब्यबस्थापनमा बैशाखदेखि संचाल

बसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ फागुन ३ गते १४:१२ | Feb 15, 2019


काठमाडौं।पोखराको सराङकोटमा बैशाख एक गतेदेखि ४० करोड रुपैयाँको लगानीमा लक्जरी हाइ इण्ड रिसोर्ट संचालनमा आउने भएको छ।  
कोठामै बसेर सहजै झ्यालबाट सूर्योदय, हिमश्रृङ्खला तथा पोखरा उपत्यकाका डाँडाँपाखा हेर्नमिल्ने गरी रिसोर्ट तयार पारिएको 'सराङकोट माउन्टेन रिसोर्ट एण्ड स्पा' का संचालक विप्लव पौडेलले जानकारी दिए।

Tata
GBIME
Nepal Life

'पर्यटकले रिसोर्टभित्र छिरे लगत्तै नेपाली मौलिक तथा संस्कृति झल्कने इन्टेरियर र एक्स्टेरियरको अनुभूति गर्न सक्छन्। सुविधा भने अत्याधुनिक र पूर्ण सुविधायुक्त हुनेछ।  यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा दिने हाम्रो तयारी हो।' उनले भने।

१० रोपनी क्षेत्रफलमा बनेको हाइइण्ड रिसोर्टबाट केही पर ३० रोपनीको क्षेत्रफलमा रिसोर्टमा दैनिक भान्सामा प्रयोगका लागि अर्गानिक खाना तथा तरकारी उत्पादन गरिने बताइएको छ। पौडैलका अनुसार रिसोर्ट र अर्गानिक फार्मका लागि प्रयोग गरिएको कुल ४० रोपनी जग्गा निजी हो।

हाल ४० रोपनी जग्गामा दैनिक भान्सामा खपत हुने खाद्यान्न तथा तरकारीको उत्पादन सुरु भैसकेको उनले बताए। आगामी छ महिनाभित्र अर्गानिक उत्पादनका साथै  गाई, भैंसी, कुखुरा, खसी, बाख्रा, कुखुरा लगायतका जनावर पालेर दही, दुध, मही, घ्यू, मासु, अण्डा लगायतका उत्पादन तयार गरिने पौडैलले बताए।   

'पोखरा आफैँमा हराभरा छ। प्राय पर्यटक सराङकोटमा सुर्योदय र हिमश्रृङ्खला हेर्न लेकसाइडदेखि हिँडेर वा गाडीमा आउने गरेका छन्। त्यसैले साराङकोटमै लक्जरी सुविधाको होटल खोलेका हौं।'-पौडेलले भने। रिसोर्टमा पौडेलसँगै साझेदार नारायण पहाडीको लगानी छ।

अढाई वर्ष अघि निर्माण थालिएको तीन तले रिसोर्टमा ३० वटा कोठा छन्। यसमा दुईवटा सुइट रुम रहेका छन् भने बाँकी २८ वटा डिलक्स रुम रहेका छन्। रिसोर्टको इन्टेरियर र एक्स्टेरियरमा पूर्ण नेपाली परम्परागत शैली अपनाइएको छ। पौडेलका अनुसार रिसोर्टमा कोठाको शूल्क न्यूनतमम एक सय ५० डलर रहेको छ।

रिसोर्टको भुँईंतलामा रहेको रेष्टुरेण्टमा एकैपटक ६५ जनाले सजिलै बसेर खानपीन गर्न सक्ने तथा कन्फ्रेन्स हलमा ८० जनाको क्षमता रहेको पौडेलले जानकारी दिए।

पर्यटकले रिसोर्टको तेस्रो तलामा  स्विमिङसहित स्पाको सुविधा लिन सक्ने गरी तयार पारेको छ।  पौडेलका अनुसार रिसोर्टमा पर्यटकले नेपाली रैथाने परिकारदेखि कन्टिनेन्टल परिकारको स्वाद लिन सक्नेछन्। रिसोर्टमा २० वटासम्म गाडी अटाउने पार्किङ रहेको छ।

होटल वाराहीको व्यवस्थापन रहने रिसोर्टमा ६५ जना दक्ष जनशक्तिले काम गर्ने पौडेलले बताए।    

उनका अनुसार रिसोर्टको एक्स्टेरियर डिजाइन कन्सेप्ट डिजाइन इन्जिनियर अरुणदेव पन्तले गरेका छन् भने इन्टेरियर डिजाइन  इन्जिनियर सिद्धार्थ गोपालानले गरेका छन्।