भागलपुरको जिल्ला प्रशासनले आदेश संशोधन गर्यो, विक्रमशिला पुलबाट ४५ टनसम्म ल्याउन पाइने

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ फागुन ३ गते ०७:४८ | Feb 15, 2019
भागलपुरको जिल्ला प्रशासनले आदेश संशोधन गर्यो, विक्रमशिला पुलबाट ४५ टनसम्म ल्याउन पाइने


विराटनगर। विहार राज्यको भागलपुर जिल्ला प्रशासनले विक्रमशिला सेतु (पुल)बाट ४५ टन सम्मका सवारी साधन चल्न दिने भएको छ।

Tata
GBIME
Nepal Life

गत माघ २० गते उक्त पुलबाट अधिकतम २० टनका मात्र सवारी साधन चल्न दिने भन्दै गरेको आदेश संशोधन गरेर जिल्ला प्रशासनले ४५ टन बनाएको हो ।अधिकतम २० टनका मात्र सवारी साधन चल्न दिने प्रशासनको उर्दीपछि कोलकाता बन्दरगाहबाट कन्टेनर बोकेर विराटनगर नाकासम्म आउने टेलरहरू ३७० किलोमिटर घुमेर आइरहेका छन्।

बुधबार भागलपुर जिल्ला प्रशासनले माघ २० को उर्दी संशोधन गरेपछि विराटनगर नाकाबाट नेपाल भित्रने २० फिटे कन्टेनर उक्त पुलबाट ल्याउन सकिने भएको छ । बिहिबारदेखि ४५ टन सम्मका सवारी चलाउन दिने गरी बुधबार उर्दी संशोधन भएको हो ।पुल निर्माण निगम लिमिटेडको प्रतिवेदन अनुसार पुरानो आदेश खारेज गरी नयाँ जारी गरिएको प्रशासनले जनाएको समाचार भारतबाट प्रकाशित हुने ‘हिन्दुस्तान दैनिक’मा प्रकाशित छ ।

‘एक २० फिटे कन्टेनरमा बढीमा २५ टनसम्म मालवस्तु हुन्छ’, उद्योग सङ्गठन मोरङका पूर्व अध्यक्ष शिवशङ्कर अग्रवालले भने, ‘कन्टेनरको तौल २ टन र टेलरको ८ टन हुन्छ । त्यसैले २० फिटे कन्टेनरमा मालवस्तु बोकेको टेलरको तौल बढीमा ३५ टन हुन्छ । त्यसैले २० फिटका कन्टेनर ल्याउन सकिने भयो । साथै ट्रकमा लोड गरिएका मालसामान पनि ल्याउन सकिन्छ  तर ४० फिटका कन्टेनर अझै घुमाएर ल्याउनुपर्ने भएको छ ।’

संशोधित आदेशमा ६ चक्के सवारी साधनले बढीमा १६ मेट्रिक टन, १० चक्केले बढीमा २५ र १४ चक्केले बढीमा ३० मेट्रिक टन तौल बोक्न पाइने उल्लेख गरिएको छ । साथै पुल निर्माण वरिष्ठ परियोजना प्रबन्धकलाई पुलमा सवारी साधनको तौलको जाँचका लागि सेन्सरयुक्त धर्मकाँटा लगाउन पनि प्रशासनले आदेश गरेको छ।

नयाँ आदेशमा पुलमाथि एक सवारी साधन र अर्को सवारी साधन बीचको दूरी कम्तीमा २० मिटर हुनुपर्ने बताइएको छ ।लालुप्रसाद यादव विहारका मुख्य मन्त्री हुँदा विहार राज्य सरकारका तर्फबाट गङ्गा नदीमा विक्रमशिला पुल बनाइएको थियो । उक्त पुल निर्माणका बेला नै त्यसको गुणस्तरका बारेमा प्रशस्त टीकाटिप्पणी र समाचार प्रकाशित भएका थिए । विहार सरकारमा मौलाएको भ्रष्टाचारका कारण विक्रमशिला पुल कमजोर भएको समाचार त्यस बेला छापिएका थिए ।

सन् २००१ देखि सञ्चालनमा आएको विक्रमशिला सेतुको लम्बाइ ४ हजार ७ सय मिटर छ । यसअघि असोज र कात्तिक महिनामा एक महिना लगाएर सेतुको मरम्मत गरिएको थियो ।

एक होइन, तीन पुलमा समस्या
उद्यमी अग्रवालका अनुसार कोलकाता बन्दरगाहबाट विराटनगर नाकासम्म आउने सडक मार्गका तीन ठूला पुल यति बेला क्षतिग्रस्त छन् ।

‘विक्रमशिला त भइहाल्यो’, उनले भने, ‘यसबाहेक फरक्का र कुर्सेला पुलमा पनि समस्या छ । फरक्का पुल गङ्गा नदीमा र कुर्सेला कोशी नदीमा अवस्थित छ । गत महिनामात्र दुबै पुलको मरम्मत गरिएका थियो । मरम्मत पछि पनि पूर्ण ठिक नभएको समाचार आएको छ । यसका कारण ढुवानी कार्यमा विलम्ब भइरहेको छ।

कोलकाताका ढुवानी व्यवसायी विराटनगर नाकाका लागि भनेपछि टेलर दिन मानिरहेका छैनन् । सबै जसो ढुवानी व्यवसायीले प्रति मेट्रिक टन भारु ५ सयदेखि १ हजार रुपैयाँ सम्म भाडा बढाएका छन् ।’