नागरिक लगानी कोषले करारमा मुख्य व्यवस्थापक र व्यवस्थापक नियुक्त गर्ने, कसले दिन सक्छ आवेदन?

बिजमाण्डू
२०७५ फागुन २ गते ११:३१ | Feb 14, 2019
नागरिक लगानी कोषले करारमा मुख्य व्यवस्थापक र व्यवस्थापक नियुक्त गर्ने, कसले दिन सक्छ आवेदन?

काठमाडौं। नागरिक लगानी कोषले दशौँ र एघारौँ तहमा करारमा कर्मचारी नियुक्त गर्ने भएको छ। कोषले एघारौँ तहको मुख्य व्यवस्थापक र दशौँ तहको व्यवस्थापन तहमा एक एक जना कर्मचारी करारमा नियुक्त गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

दुवै पद प्रशासन समूह तर्फका लागि भएको पनि कोषले जनाएको छ। कोषले प्रकाशन गरेको सूचनाअनुसार २१ दिनभित्रमा ईच्छुक आवेदकले आवेदन दिन सक्नेछन्। कोषका अनुसार एघारौँ तहमा दरखास्त दिने व्यक्तिको अधिकतम उमेर हद ५५ वर्ष र दशौँ तहमा दरखास्त दिनेको उमेरहद ४५ वर्ष तोकिएको छ। 

कोषले आवेदकको कार्ययोजना र त्यसको प्रस्तुतीकरण र अन्तर्वार्ताका माध्यमबाट योग्य उम्मेद्वार छनौट गर्ने जनाएको छ। आवेदकले दरखास्त फारामसाथ शिलबन्दीसहित कार्ययोजना अनिवार्य रुपमा पेश गर्नुपर्ने कोषले जनाएको छ। 

मुख्य व्यवस्थापकमा आवेदन दिन चाहनेले मान्यता प्राप्त शैक्षिक संस्थाबाट अर्थशास्त्र वा व्यवस्थापन संकायमा स्नातकोत्तर तह उत्तीर्ण गरी नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा संचालित संगठित संस्थाको अधिकृतस्तरको पदमा कम्तिमा १५ वर्ष काम गरेको हुनुपर्नेछ।

यसैगरी व्यवस्थापक पदका आवेदकले मान्यता प्राप्त शैक्षिक संस्थाबाट अर्थशास्त्र वा व्यवस्थापन संकायमा स्नातकोत्तर गरी नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा संचालित संगठित संस्थाको अधिकृतस्तरको पदमा कम्तिमा १० वर्ष काम गरेको हुनुपर्नेछ।