अनलाइन कार्यान्वयनको तीन महिनामा पनि समस्या ज्यूँकात्यूँ, नेप्से र ब्रोकरको आ-आफ्नै तर्क

बिजमाण्डू
२०७५ फागुन २ गते ११:०६ | Feb 14, 2019
अनलाइन कार्यान्वयनको तीन महिनामा पनि समस्या ज्यूँकात्यूँ, नेप्से र ब्रोकरको आ-आफ्नै तर्क


काठमाडौं। अनलाइन प्रणाली कार्यान्वयनमा आएको तीन महिना वित्दा समेत कारोबार सहज नभएपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से) र ब्रोकरबीच आरोपप्रत्यारोप सुरु भएको छ।

Tata
GBIME
Nepal Life

कारोबार सहज नभएपछि नेप्से र ब्रोकरले आआफ्नै तर्क सारेर अनलाइन प्रणालीलाई सहज बनाउन प्रयास गरेका छैनन्। शेयर बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको यही अनलाइन प्रणाली लगानीकर्ताका लागि झन् समस्याको रुपमा देखा परेको छ। नेप्से र ब्रोकर दुबै अनलाइन कारोबारलाई सफल बनाउनमा ध्याननै दिएका छैनन्।

कारोबार सहज नभएपछि ब्रोकरलेनै 'युजरनेम र पासवर्ड' समेत दिएका छैनन्। ब्रोकरले कारोबारलाई प्रोत्साहित होइन बरु उल्टै समस्यामा पर्ने भन्दै हत्तोसाहित बनाउने गरेका छन्। अनलाइन प्रणाली चाँडै कार्यान्वयनमा ल्याउन दबाब दिएका लगानीकर्ताले समेत कारोबार गरेका छैनन्।हाल ब्रोकरहरुले ५ हजार भन्दा धेरै लगानीकर्ताहरुलाई अनलाइन प्रणालीबाट कारोबार गर्नका लागि युजरनेम र पासवर्ड दिएका छन् तर कारोबार जम्मा दुई सयको हाराहारीमा मात्रै हुने गरेको छ।

नेप्सेले युजरनेम र पासवर्ड दिन ढिला गरेको भन्दै ब्रोकरहरुले लगानीकर्ताहरुलाई अनलाइन कारोबारको लागि संझौता गरेको १५ दिनभित्रमा मात्रै सुविधा दिने गरेका छन्। तर नेप्सेका प्राविधिक प्रमुख निरञ्जय नायकले ब्रोकरहरुले अनलाइन कारोबारका लागि आवेदन दिएकै दिन युजर नेम र पासवर्ड पाउने दाबी गर्छन्। अनलाइन राम्रोसँग नचल्दा कारोबारनै प्रभावित भएको ब्रोकर बताउँछन्।

‘समयमा कारोबार नै म्याचिङ हुँदैन। कहिले काहि एक पटक अर्डर पोस्ट गर्दा दोहोरो पोस्ट हुन्छ। यसले गर्दा क्लोज आउटमा पर्न सक्ने समस्या पनि छ,’एक ब्रोकरले भने। तर नायक लगानीकर्ता आफैले कारोबार गर्दा क्लोज आउटमा पर्नै नसक्ने दावी गर्छन्। तर ब्रोकर आफैले लगानीकर्ताको कारोबार गर्दा संयम भएन भने चाहि पर्न सक्ने उनी बताउँछन्। नेप्सेले प्रणालीमा पूर्ण रुपमा डिम्याट इन्ट्रिगेसन नगरेकोले यस्तो समस्या आएको ब्रोकरहरुले बताए।

नेप्सेले चार वटा क्लियरिङ बैंकसँग सम्झौंता गरेर स्वचालित रुपमा रकम काट्ने व्यवस्था मिलाएको दाबी गर्छ।बिक्री भएको शेयरको डिआइएस स्लीप बुझाउन अझै ब्रोकर कार्यालय जानुपर्ने बाध्यता छ। सिडिएसीले डिआइएस स्लीपलाई इलेक्ट्रोनिक गरेको भएपनि यसलाई प्रणालीमा नजोडिदा ब्रोकर कार्यालयमा जानुपर्ने बाध्यता भएको हो।

बैंकिङ प्रणालीलाई एनसिएचएल मार्फत जोड्ने तयारी
नेप्सेले अनलाइन प्रणालीमा स्वचालित बैंकिङ कारोबारका लागि नेपाल क्लियरिङ हाउससँग सम्झौंता गर्ने तयारी गरेको छ। नेपाल क्लियरिङ हाउससँग सम्झौंता भएसँगै बैंकिङ कारोबारको समस्या पनि हट्ने नायकले दाबी गरे।

नेपाल क्लियरिङ हाउससँग नेप्सेले एक चरण छलफल गरिसकेको छ। नेपाल क्लियरिङ हाउससँग जोडिए सँगै ७८ वटा बैंक तथा वित्तीय संस्थाबाट कारोबार गर्न मिल्छ। अहिले एउटा कारोबारबाट कति रुपैयाँ सेवा शुल्क लिने भन्ने विषयमा छलफल भैरहेको छ।

लगानीकर्ताको आफ्नै तर्क
अनलाइन प्रणाली भन्नासाथ युजरनेम र पासवर्ड लिइसकेपछि मोबाइलबाटै सजिलै शेयर खरिद बिक्री गर्न मिल्नु पर्ने लगानीकर्ता बताउँछन्। तर यस्तो सुविधा अहिलेको प्रणालीमा नभएको नभएको लगानीकर्ता सुरज अधिकारी बताउँछन्।