उत्तरी रसुवामा नयाँ विद्युत् आयोजना निर्माण हुँदै, १ सय २० मेगावाटको भोटेकोशी चार वर्षमा बन्ने

रासस
२०७५ फागुन २ गते ०७:५९ | Feb 14, 2019
उत्तरी रसुवामा नयाँ विद्युत् आयोजना निर्माण हुँदै, १ सय २० मेगावाटको भोटेकोशी चार वर्षमा बन्ने



रसुवा। उत्तरी रसुवाको रोङ्गा दोभान नजिक नयाँ जल विद्युत् आयोजनाको निर्माण कार्य अगाडि बढेको छ ।

Tata
GBIME
Nepal Life

लाङ्टाङखोला भोटेकोशी हाइड्रो कम्पनीले भोटेकोशीबाट १२० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न सो आयोजनाका बारेमा स्थानीय तहअन्र्तगतका निकायसँग समन्वय गरी निर्माण अघि बढाएको जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्टले जानकारी दिए।स्थानीय तहसँग यसअघि समन्वय नगरेको गुनासो आएपछि उक्त आयोजनाले ढिलै भए पनि यहाँका सरोकारवाला निकायलाई जानकारी गराई अघि बढ्दा निर्माणका बेला आउन सक्ने समस्या समाधान गर्न स्थानीय तहबाट सहजीकरण गर्ने वातावरण सिर्जना भएको जिल्ला समन्वय प्रमुख भट्टले बताए।

गोसाइँकुण्ड गाउँपालिकाको वडा नं १ अर्थात् टिमुरेको तातोपानी तल भोटेकोशीमा बाँध बाँधी ५ दशमलव दुई किलोमिटर सुरूङ बनाइनेछ ।  आमाछोदिङ्मो गाउँपालिका वडा नं ५ रोङ्गाखोला नजिक पहराभित्र निर्माण हुने भूमिगत विद्युतगृहमा प्रति सेकेण्ड १४३ घनमिटर पानी पठाई तीन वटा टर्वाइनको सहायताले १२० मेघावाट विद्युत् उत्पादन हुने बताइएको छ ।

आयोजना निर्माणका लागि नेपालीको १० र चिनियाँ कम्पनीको ९० प्रतिशत लगानी गर्ने कार्य योजना तय भई प्रारम्भिक चरणको निर्माण कार्य अगाडि बढिसकेको लाङ्टाङ (भोटेकोशी हाइड्रोपावर कम्पनीका प्रोजेक्ट मेनेजर चिनियाँ नागरिक लीले जानकारी दिए।चार वर्षको समयावधिभित्र सम्पन्न गर्ने लक्ष्यसाथ शुरू भएको सो आयोजनामा करीब रु २३ अर्ब ८० करोड खर्च हुने जानकारी दिँदै मेनेजर लिले आयोजनाले जल, जमीन र जङ्गल प्रयोग गर्दा स्थानीय बासिन्दालाई पर्ने प्रभावको असर न्यूनीकरण गर्न लागतको शून्य दशमलव ७५ प्रतिशत रकम सामूहिक विकासमा खर्च गरिने बताए।

यस्तै विगत पाँच वर्ष अगाडिदेखि निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको समग्र निर्माणको प्रगति भने ६७ प्रतिशत पूरा भएको छ । आयोजना प्रमुख छवि गैह्रेका अनुसार चार हजार १८५ मिटर लामो ‘रेडरेस’ सुरूङ निर्माण सम्पन्न भई मुहानको बाँध बाँध्ने, बालुवा जम्मा गर्ने पोखरी एवं विद्युत्गृह बनाउने काम धमाधम अगाडि बढिरहेको जानकारी दिनुभयो । प्रमुख गैह्रेका अनुसार सन् २०२० को फेब्रुअरीसम्ममा रसुवागढी आयोजनाबाट १११ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिनेछ ।

विद्युत् आयोजनाको सम्पूर्ण संरचना भूमिगत भएका कारण भोटेकोशीमा आउने बाढी, भू–क्षय, भूकम्प तथा चट्याङले कुनै असर नपर्ने विद्युत् उत्पादनमा क्रियाशील प्राविधिकले दाबी गरेका छन् । साञ्जेन जलविद्युत् आयोजनाअन्तर्गत दुई चरणमा निर्माण भइरहेको विद्युत् संरचनामध्ये १४ दशमलव ८ मेगावाटको माथिल्लो जलविद्युत् आयोजनाको निर्माण कार्य ७५ प्रतिशत र ४२ दशमलव ५ मेगावाट क्षमताको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण कार्य भने ६८ प्रतिशत पूरा भएको साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी निर्देशक किरणकुमार श्रेष्ठले जानकारी दिए।

माथिल्लो साञ्जेन आयोजनाबाट अबको एक वर्ष तथा तल्लो साञ्जेन आयोजनाबाट डेढ वर्षभित्र विद्युत् उत्पादन गरिसक्ने लक्ष्यका साथ काम अगाडि बढी रहेको यी दुवै आयोजना अर्धभूमिगतरूपको संरचना हुने बताइएको छ ।निर्माणको किसिम भने पानी ल्याउने हेडरेस भूमिगत सुरूङ एवं विद्युत्गृह  बाहिरी सतहमा हुने प्राविधिकले बताएका छन् । रसुवागढी तथा साञ्जेन जलविद्युत् आयोजनाले सर्वसाधारणका लागि प्रदान गर्ने विद्युत् शेयर यही फागुन महीनामा जारी गर्ने उनले बताए।        

उता गोसाइँकुण्ड गाउँपालिकाको वडा नं ५ मा निर्माण हुने २० मेगावाट क्षमताको लाङ्टाङ खोला जलविद्युत् आयोजना निर्माणका लागि स्याफ्रु्बँसीको भोटेकोशी र लाङ्टाङ खोलाको सङ्गमस्थलमा आफ्नो आधार इलाका जाने बेलीब्रिज  एवं सडकमार्ग निर्माण सम्पन्न गरी विद्युत्को निर्माण काम अगाडि बढाउँदै लगेको लाङटङ खोला हाइड्रोपावरले जनाएको छ ।

आमाछोदिङ्मो र उत्तरगया गाउँपालिकाअन्तर्गतको भू–भागमा निर्माण हुने  अपर त्रिशूली वान नामक २१६ मेगावाट क्षमताको जलविद्युत् आयोजना अबको एक/दुई महीनामै स्थलगतरूपमा निर्माण शुरू हुने प्राविधिकले बताएका छन् । नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन  ६० मेगावाट माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको निर्माण कार्य भने अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यसैगरी विसं २०६० भदौ ८ गतेदेखि राष्ट्रिय प्रसारणमा गएको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र र २०७१ सालमा निर्माण भई राष्ट्रिय प्रसारणमा गएको पाँच मेगावाट क्षमताको मैलुङ जलविद्युत् केन्द्र भने निर्वाधरूपमा सञ्चालन भई  विद्युत् ऊर्जा वितरणमा टेवा पुगिरहेको छ ।