चिलिमेको रोयल्टी शुल्क बढ्यो, रोयल्टी र नाफामा लाग्ने करको व्यवस्थाले नाफा १३% ले खुम्चियो

बिजमाण्डू
२०७५ फागुन १ गते १२:०४ | Feb 13, 2019
चिलिमेको रोयल्टी शुल्क बढ्यो, रोयल्टी र नाफामा लाग्ने करको व्यवस्थाले नाफा १३% ले खुम्चियो


काठमाडौं। चिलिमे हाइड्रोपावर कम्पनी सञ्चालनमा आएको १५ वर्ष पुरा भएसँगै विद्युत विकास विभागलाई भूक्तानी गर्नुपर्ने रोयल्टी बढेको छ।

Tata
GBIME
Nepal Life

नियम अनुसार जलविद्युत कम्पनीले विद्युत विकास विभागलाई विद्युत उत्पादन सुरु भएको १५ वर्षसम्म प्रति मेगावाट १०० रुपैयाँका दरले रोयल्टी भूक्तानी गर्नुपर्छ। त्यस्तै १५ वर्ष पुरा भएपछि कम्पनीहरुले प्रतिमेगावाट १००० रुपैयाँका दरले रोयल्टी भूक्तानी गर्नु पर्छ। गत भदौ ८ गतेदेखि कम्पनीले विद्युत उत्पादन सुरु गरेको १५ वर्ष पुरा भए सँगै यस्तो शुल्क प्रतिमेगावाट १००० रुपैयाँ भूक्तानी गर्नु परेको हो।

यसले गर्दा गएका वर्षमा २२ लाख रुपैयाँ मात्रै भूक्तानी गर्दै आएको चिलिमेले यस वर्षदेखि दुई करोड २० लाख रुपैयाँ भूक्तानी गर्नु परेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद कोइरालाले जानकारी दिए। कम्पनीले रोयल्टी वापतको तिर्नुपर्ने रकमलाई प्रशासनिक खर्चको रुपमा देखाउँदै आएको छ। यसै व्यवस्था अन्तर्गत कम्पनीको प्रशासनिक खर्च ४२.७१ प्रतिशतले वृद्धि भएको हो। त्यस्तै नियम अनुसार आयोजनाले उत्पादन सुरु गरेको १५ वर्षसम्म नाफामा लाग्ने करमा छुट पाउँछन्। चिलिमेले यस वर्षदेखि नाफाको २० प्रतिशत कर भूक्तानी गर्नु पर्ने हुन्छ।

नाफामा लाग्ने करको व्यवस्था र रोयल्टी बापतको व्यवस्थाले चालु आर्थिक वर्षको छ महिनामा नाफा १३.६४ प्रतिशतले घटेको छ। कम्पनीले पुसम्ममा ४५ करोड ३१ लाख रुपैयाँ नाफा गरेको छ भने गत वर्षको यहि अवधिमा ५२ करोड ४६ लाख रुपैयाँ थियो। विद्युत बिक्रीबाट हुने आम्दानी गत वर्षको तुलनामा १.२५ प्रतिशतले घटेको छ। कम्पनीले ६२ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ भने गत वर्ष ६३ करोड २१ लाख रुपैयाँ थियो।

कम्पनीले विभिन्न आयोजनाहरुमा ५ अर्ब ९२ करोड रुपैयाँ लगानी गरेको छ। कम्पनीले २०७.३ मेगावाट क्षमताका चार वटा आयोजनामा लगानी गरेको छ। कम्पनीले ४२० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना, १६५ मेगावाट क्षमताको सेतीनदी जलविद्युत आयोजना तथा ६० मेगावाट क्षमताको चुमचेत स्यार खोला जलविद्युत आयोजनाको अध्ययन गरेरर निर्माण चरणमा लैजाने योजना बनाएको छ।

बोनस शेयर दिएर चुक्ता पूँजी बृद्धि भए सँगै नाफामा गिरावट आउदा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँले घटेको छ। प्रतिशेयर आम्दानी १९ रुपैयाँ छ।

विवरण (रु.०००)

चिलिमे हाइड्रोपावर

बृद्धि (%)

पुस २०७५

पुस २०७४

नाफा

453,154.00

524,696.44

-13.64

विद्युत बिक्रीबाट आम्दानी

624,252.00

632,180.69

-1.25

उत्पादन खर्च

88,270.00

61,853.46

42.71

विभिन्न आयोजनामा लगानी

5,924,601.00

5,916,588.05

0.14

चुक्ता पूँजी

4,758,136.00

3,965,113.15

20.00

जगेडा कोष

4,420,182.00

4,568,930.00

-3.26

प्रतिशेयर आम्दानी

19.05

26.47

-7.42