रेष्टुरेन्टबाट सेवा शुल्क खारेजीमा आक्रामक भएका मजदुर युनियन मत्थर, होटल व्यवसायी मौन

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ फागुन १ गते ११:५५ | Feb 13, 2019
रेष्टुरेन्टबाट सेवा शुल्क खारेजीमा आक्रामक भएका मजदुर युनियन मत्थर, होटल व्यवसायी मौन



काठमाडौं। रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल(रेवान)ले सेवा शुल्क खारेजीपछि चर्किएको द्धन्द्ध मत्थर भएको छ। रेष्टुरेन्टमा खानाको बिलमा अतिरिक्त १० प्रतिशत तिर्नुपर्ने बाध्यात्मक अवस्था खारेजीपछि हड्तालको घोषणा गरेका मजदुर संगठन पनि अहिले शान्त देखिएका छन्।

Tata
GBIME
Nepal Life

सेवा शुल्क खारेजीपछि रेवानका पदाधिकारीलाई कालोमोसो दल्नेदेखि रेष्टुरेन्टनै बन्द गर्ने घोषणा गरेका मजदुर संगठनले अहिले आन्दोलनको कार्यक्रम स्थगित गरेर वार्तामा बसेका छन्। हड्तालमा उत्रिने घोषणा गर्ने सतारुढ दल नेकपाका मजदुर युनियन थिए। स्रोतका अनुसार सतारुढ दलकै नेताको दबाबमा मजदुर युनियनले हड्तालको कार्यक्रम स्थगित गरेर वार्तामा बसेका हुन्।

अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर संघ नेकपा माओवादीको भातृ संगठन हो। यो संगठन सबैभन्दा आक्रामक थियो। हड्तालको कार्यक्रम स्थगित भएपछि रेवान समेत आफ्नो निर्णय कार्यान्वयननै गर्ने पक्षमा छ। श्रम कार्यालयमा आइतबार भएको छलफलमा रेवान प्रतिनिधीले आफ्ना सदस्य संस्था नभएको भन्दै सेवा शुल्क खारेजीको बारेमा कुनै निर्णय गर्न नसकिने बताएको थियो।

रेवानका महासचिव अरनिको राजभण्डारीले सेवा शुल्क खारेजीको निर्णय कार्यान्वयन हुने बताए।‘अहिले यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। सर्वोच्चको निर्णयलाई हामीले शिरोपर गर्छौं। तर धाकधम्कीबाट हामी विचलित भएर सेवा शुल्क खारेजीको निर्णय उल्टाउने छैनौं।’ उनले बिजमाण्डूसँग भने,’सेवा शुल्क खारेजीको निर्णयबाट सबैभन्दा बढी उपभोक्ता लाभान्वित भएका छन्। उनीहरुले यो निर्णयको स्वागत गरेका छन्। रेष्टुरेन्टमा कार्यरत कर्मचारी पनि टिप्स धेरै आएको भन्दै खुशी छन्।’

उनले कर्मचारी र उपभोक्ता खुशी भएको अवस्थामा सेवा शुल्क लगाएर अतिरिक्त भार थप्नु उपयुक्त नहुने समेत बताए। राष्ट्रिय उपभोक्ता मञ्चले सर्वोच्चमा दायर गरेको रिटको फागुन ८ गते फैसला हुँदैछ। यो फैसलाले सेवा शुल्कको बारेमा उपयुक्त निकाश दिने रेष्टुरेन्ट व्यवसायी बताउँछन्। सेवा शुल्क खारेजीपछि आक्रामक बनेका मजदुर संघ पनि रेवानले समय मागेको भन्दै फागुन ८ गते फेरी वार्तामा बस्न तयार भएका छन्।

'आइतबार बसेको बैठकमा रेबानले पोखरा र सौराहा क्षेत्रीय रेष्टुरेण्ट एण्ड बार एशोसिएसनसँग सल्लाह गर्नका लागि समय लिएका छन्। फागुन आठ गते मजदूरहरुले श्रम तथा ब्यवसायजन्य सुरक्षा विभाग र रेबानका प्रतिनिधिसँग त्रिपक्षीय वार्ता गर्ने योजना बनाएका छौँ।' अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर संघका महासचीव मुक्ती दाहालले बिजमाण्डूसँग भने। 

शुक्रबार नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन र अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर संघविच पुनः बैठक बस्ने योजना रहेको दाहालले जानकारी दिए। उनका अनुसार संयुक्त मजदुरसंघको छलफलपछि सेवाशूल्क खारेज विरोधमा कारवाही अगाडी बढाइनेछ।

'हामीले तत्काल पर्यटन क्षेत्र र पर्यटन व्यवसायमा वाधा नपुगोस् भन्ने उद्धेश्यले हड्ताल स्थगित गरेका हौँ। कानुनको व्याख्या गराएर रेष्टुरेण्ट व्यवसायीलाई कानुन पालना गराएरै छोड्छौँ।' दाहालले भने।

रेवानको छुट्टै बैठक विहिबार
सेवा शुल्क खारेजीको निर्णयलाई कार्यान्वयन गराउन रेवानले पर्यटनसँग सम्वन्धित व्यवसायिक संस्थालाई छलफलका लागि विहिबार लैनचौरको मेला रेष्टुरेन्टमा बोलाएको छ।

होटल संघ नेपाल वाहेक सबै पर्यटनसँग सम्वन्धित संस्था वार्तामा आउन तयार भएको रेवानका महासचिव राजभण्डारीले बताए। उनका अनुसार सेवा शुल्क खारेजी कार्यान्वयनका लागि प्रतिवद्धता जाहेर गर्न ती संस्थाहरुलाई बोलाएको हो। सेवा शुल्क खारेजीको नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल व्यवसायिक पहल(एनविआई)ले स्वागत गरिसकेको छ।

हानले के भन्छ?
सबैभन्दा बढी सेवा शुल्क उठाइरहेको होटल संघ नेपालले भने सेवा शुल्कको बारेमा कुनै प्रतिकृया दिएको छैन। दुई वर्षअघि सेवा शुल्क खारेजीको पहल गर्ने यही संस्था अहिले भने मौन छ।

स्रोतका अनुसार होटलनै बन्द हुने अवस्था नआओस् भनेर सेवा शुल्कको बारेमा कुनै प्रतिकृया नदिइएको हो। संघका महासचिव विनायक शाहले सेवा शुल्कको बारेमा कुनै प्रतिकृया नदिने बताए।‘हामी अहिले केही प्रतिकृया दिन सक्दैनौं। यसका बारेमा सरकारलेनै निर्णय गर्नुपर्छ’ उनले भने।