शेयर बजारमा मन्दी: कारोबार रकम साढे १९ करोडमा खुम्चियो, ब्रोकर कार्यालय पनि सुनसान

बिजमाण्डू
२०७५ माघ २९ गते १५:२७ | Feb 12, 2019


काठमाडौं। शेयर बजार लगातार ओरालो लाग्दा कारोबार रकम समेत दैनिक घट्दो क्रममा छ। बैंक तथा वित्तीय संस्थाले व्याजदर घटाउने संकेत नदेखाएपछि यसको प्रत्यक्ष असर शेयर बजारमा देखिएको हो।

Tata
GBIME
Nepal Life

बाणिज्य बैंकले थोरै मात्रै आधार व्याजदर घटाए पनि कर्जाको व्याजदर भने खासै घटाएका छैनन्। ‘दोहोरो अंकको व्याजदरले लगानीकर्ताले शेयर कर्जा लिएर शेयर खरिद बिक्री गर्न चाहिरहेका छैनन् एक ब्रोकरले भने 'बजारमा उत्साह नहुँदा लगानीकर्ताले जोखिम लिएर दोहोरो अंकको व्याजदरमा कर्जा लिएका छैनन्।‘

मंगलबार ०.६७ अंकले शेयर बजार रातो देखिदा कारोबार रकम १९ करोड ४१ लाख रुपैयाँमा खुम्चिएको छ। जसमा प्रभु बैंकको प्रमोटर शेयरको ३ करोड १० लाख रुपैया कारोबार भएको छ। नेप्से सूचक ११२८.१९ अंकमा ओर्लिदा पाँच सूचक घटेका छन् भने ६ वटा सूचक हरियो देखिएको छ। उत्पादनमूलक सूचक १.२४ प्रतिशतले बढेको छ भने अन्यको सूचक सबैभन्दा धेरै ०.७२ प्रतिशतले घटेको छ।

जेविल्स फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ७.६३ प्रतिशतले कमाएका छन् भने महालक्ष्मी विकास बैंकका शेयरधनीरुले ३.४८ प्रतिशतले गुमाएका छन्। कारोबारमा मन्दीसँगै ब्रोकर कार्यालयहरु पनि सुनसान हुन थालेका छन्।

नेप्सेको रङ् सँगै लगानीकर्ताको उपस्थिति तलमाथि हुने एक ब्रोकरले बताए। बजार रातो हुन थाल्यो भने लगानीकर्ता उठेर हिड्न थाल्छन् अनि हरियो देखियो भने लगानीकर्ता ब्रोकर कार्यालयमा आएर बुझ्न थाल्छन्। बजार बढ्ने संकेत देखियो भने शेयर बजारमा चहल पहल सुरु हुन्छ।