शिवम् सिमेन्टको आइपिओ फागुन ६ गतेदेखि, शेयर मूल्य सय रुपैयाँ घटाइयो, किन मूल्य घटाइयो?

बिजमाण्डू
२०७५ माघ २९ गते १५:२१ | Feb 12, 2019
शिवम् सिमेन्टको आइपिओ फागुन ६ गतेदेखि,  शेयर मूल्य सय रुपैयाँ घटाइयो, किन मूल्य घटाइयो?



काठमाडौं। शिवम् सिमेन्टले प्रभावित सहित सर्वसाधारणको लागि फागुन ६ गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले यस अगाडि निर्धारण गरेको प्रिमियम मूल्य घटाएर शेयर निष्काशन गर्ने भएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले प्रभावित क्षेत्रका लागि प्रतिशेयर १०० रुपैयाँमा १०० रुपैयाँ प्रिमियम सहित २०० रुपैयाँ र सर्वसाधारणको लागि प्रतिशेयर १०० रुपैयाँमा २०० रुपैयाँ प्रिमियम सहित ३०० रुपैयाँमा शेयर निष्काशन गर्ने अनुमति पाएको छ।  यसअघि प्रभावित क्षेत्रमा निष्काशन गर्दा पूर्ण आवेदन नपरेपछि प्रिमियम मूल्य घटाएर शेयर निष्काशन गर्न लागिएको हो।

प्रभावित क्षेत्रका वासिन्दाले यस अगाडि प्रतिशेयर ३०० रुपैयाँमा दुई लाख दुई हजार ४१० कित्ता शेयर खरिद गरेका थिए। तीन सय रुपैयाँमा शेयर खरिद गरेकालाई कम्पनीले थप शेयर दिने भएको छ। साथै प्रभावित क्षेत्रका बासिन्दाले पनि पुनः सर्वसाधारणलाई छुट्टाइएको समयमा शेयर खरिद गर्ने व्यवस्था मिलाइएको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

कम्पनीले निष्काशन गरेको आइपिओ छिटोको अवधिमा फागुन ९ गते र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा चैत्र ५ गतेसम्म निष्काशन गर्ने छ।

किन घटाइयो प्रिमियम?
कम्पनीले पहिलो चरणमा शेयर निष्काशन गर्दा प्रभावित क्षेत्रका बासिन्दाले शेयर खरिद गरेनन्। दोस्रो बजार लगातार घटिरहेको अवस्थामा कम्पनीको शेयर मूल्य अहिलेको अवस्थामा महँगो भएको बताएका थिए।

नेपाल धितोपत्र बोर्डले पछिल्लो समय प्रिमियम सहित शेयर निष्काशन गर्दा नेट वर्थको दुई गुणा भन्दा मूल्य राखेर शेयर निष्काशन गर्न नपाइने व्यवस्था गरेको थियो। हाल कम्पनीको नेट वर्थ १६१ रुपैयाँ रहेको छ। नियम अनुसार सर्वसाधारणको लागि निष्काशन गरिएको शेयर मूल्य नेट वर्थको दुई गुणा भन्दा धेरै हुन आउँछ।

यसैले गर्दा पनि कम्पनीले सर्वसाधारणको लागि ३०० रुपैयाँ र यस अघिको निर्णय अनुसार प्रभावित क्षेत्रका बासिन्दाको लागि सर्वसाधारणको भन्दा एक सय रुपैयाँ डिस्काउन्ट गरेर निष्काशन गर्ने निर्णय भएको थियो। यही निर्णयले गर्दा प्रभावित क्षेत्रका लागि २०० रुपैयाँमा शेयर निष्काशन गरिने भएको हो।

यस्तो छ वित्तीय अवस्था
प्राथमिक शेयर निष्काशन अगाडिको चुक्ता पूँजी तीन अर्ब ८२ करोड रुपैयाँ रहेको छ। कम्पनीको जगेडा कोष ९७ लाख ९८ हजार रुपैयाँ ऋणात्मक छ। कम्पनीले गत आर्थिक वर्षमा एक अर्ब १४ करोड रुपैयाँ नाफा गरेको छ।

यस आधारमा कम्पनीको प्रतिशेयर आम्दानी २९ रुपैयाँ रहेको छ। आइपिओ निष्काशनको प्रकृयाले गत वर्षको साधारणसभा गर्न सकेको छैन। प्राथमिक शेयर निष्काशन सँगै कम्पनीले साधारणसभाबाट प्राथमिक शेयर धनीहरुलाई समेत १० प्रतिशत भन्दा धेरै नगद लाभांस दिने योजना बनाएको छ।

शिवमले सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सीमा २६.४ प्रतिशत लगानी गरेको छ। होङ्सीको आम्दानी आउन थालेपछि प्रतिशेयर आम्दानीमा सुधार हुने देखिन्छ। आगामी दुई आर्थिक वर्षमा कम्पनीले प्रतिशेयर आम्दानी ४७ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ।