टेलिकमको भ्वाइस कल सेवा लिने घट्दा नाफा १५% ले खुम्चियो, थ्रिजी र फोरजी विस्तारले नाफा टिकाउने

बिजमाण्डू
२०७५ माघ २९ गते १२:०९ | Feb 12, 2019


काठमाडौं। नेपाल टेलिकमको भ्वाइस सेवा लिनेको संख्या घट्दा १५ प्रतिशतले नाफामा गिरावट आएको छ। विगत तीन वर्षदेखि नेपाल टेलिकमको भ्वाइस सर्भिसतर्फको आम्दानी घटिरहेको छ। चालु आर्थिक वर्षको छ महिनाको अवधिमा यस्तो सेवाबाट टेलिकमले १८ अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ।

Tata
GBIME
Nepal Life

गत वर्षको यहि अवधिमा कम्पनीले १९ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको थियो।

पछिल्लो समय नेपालीहरुले भ्वाइस कलभन्दा पनि इन्टरनेटको प्रयोग गरेर फोन गर्न थाले पछि नाफामा गिरावट आउन थालेको टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए। उनले भने, 'पछिल्लो समय डेटाको प्रयोगकर्ता बढेसँगै भ्वाइस सेवातर्फको आम्दानी घटेको छ।'

टेलिकमको भ्वाइस सेवातर्फको आम्दानी घटेपनि डेटासहित अन्य आम्दानी भने २२ प्रतिशतले बढेको छ। टेलिकमले ६ महिनाको अवधिमा यस्तो आम्दानी तीन अर्ब २६ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष भने यस्तो आम्दानी दुई अर्ब ६६ करोड रुपैयाँ थियो।

कम्पनीको लगानी तथा सेवासहितको जम्मा आम्दानी नै २.९४ प्रतिशतले घटेको छ। कम्पनीले छ महिनामा जम्मा २१ अर्ब ७१ करोड रुपैयाँ आर्जन गरेको छ।

त्यस्तै खर्च २.१६ प्रतिशतले बढेर १२ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। कम्पनीले 'टुजी' सेवालाई स्तरोन्नती गर्दै 'थ्रीजी' बनाउने र १२ महिना भित्र देशभरि 'फोर जी' सेवा विस्तार गर्ने क्रममा खर्च बढेको अधिकारीले जानकारी दिए।

नेपालीहरुले विदेशमा फोन गर्न इन्टरनेटको प्रयोगलाई बढाइरहेको छ। इन्टरनेट सेवा प्रदायक संस्था नेपाल टेलिकम बाहेक १४ वटा कम्पनीले यो सेवा प्रदान गरिरहेका छन्। भ्वाइस सेवा प्रदान गर्ने कम्पनी भने चार वटा रहेका छन्। जसमा टेलिकमको प्रमुख प्रतिस्पर्धी एनसेल रहेको छ।

केहि वर्ष अघि एकछत्र राज गर्दै आएको नेपाल टेलिकमको प्रतिस्पर्धी बढेसँगै आम्दानीमा पनि गिरावट आउन थालेको हो। बजार निकै प्रतिस्पर्धात्मक भएपछि कम्पनीले आफ्नो सेवा शुल्कको दर घटाउँदा नाफामा नै असर परेको अधिकारीले बताए।

कम्पनीले आफ्नो सेवा क्षेत्र विस्तार गर्दै गत वर्षको नाफा टिकाउने प्रयास गरिरहेको टेलिकमले जनाएको छ। यसको प्रभाव चालु आर्थिक वर्षको अन्तिमसम्ममा देखिने अधिकारीले दाबी गरे।

टेलिकमको नाफामा गिरावट आउँदा प्रतिशेयर आम्दानी पनि १५ रुपैयाँले गिरावट आएको छ। कम्पनीको प्रतिशेयर आम्दानी ८४ रुपैयाँ थियो। गत आर्थिक वर्षको अन्तिमसम्ममा भने ११६ रुपैयाँ थियो।
 

विवरण (रु. ०००)

नेपाल टेलिकम

बृद्धि (%)

२०७५ पुस

२०७४ पुस

नाफा

6,341,420.69

7,482,814.57

-15.25

सेवा तर्फको आम्दानी

18,444,163.78

19,706,404.25

-6.41

अन्य आम्दानी

3,268,278.85

2,663,511.97

22.71

जम्मा आम्दानी

21,712,442.62

22,369,916.22

-2.94

जम्मा खर्च

12,609,703.96

12,343,296.00

2.16

ऋण लगानी

2,701,160.68

2,856,756.03

-5.45

नगद

22,752,794.69

26,305,132.17

-13.50

जम्मा लगानी

57,606,060.15

47,471,721.05

21.35

चुक्ता पूँजी

15,000,000.00

15,000,000.00

0.00

जगेडा कोष

90,999,941.57

75,345,004.19

20.78

प्रतिशेयर आम्दानी (रु.)

84.55

99.77

-15.22