थाइ राजकुमारीको प्रधानमन्त्री बन्ने सपना तुहियो, राजाले भने- ‘राजनीतिमा आउनु अनुपयुक्त’

बिजमाण्डू
२०७५ माघ २८ गते १६:०२ | Feb 11, 2019


थाइल्यान्डका राजा महा बजरालोङ्कोनकी दिदी राजकुमारी उबोलरत्न महिडोल राजकन्याको राजनीतिमा प्रवेश गर्ने  सपना अन्तत: तुहिएको छ।

Tata
GBIME
Nepal Life

आगामी महिना हुने आम निर्वाचनमा प्रधानमन्त्री पदमा उम्मेद्वारी दर्ता गराएकी राजकुमारी प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा अयोग्य भएको थाइल्याण्डका राजाले ठहर  गरेका हुन्।

राजाको भनाईपछि थाइल्याण्डको निर्वाचन आयोगले राजुकमारीको उम्मेदवारी बदर भएको घोषणा गरेको छ। निर्वाचन आयोगले राजसंस्था राजनीतिभन्दा माथि हुने समेत बताएको छ। 

उनले विवादास्पद थाइ रक्स चार्ट पार्टीबाट प्रधानमन्त्रीका लागि लड्ने बताइएको थियो। उक्त पार्टी सिनावात्रा परिवारसँग नजिक रहेको पार्टी हो।

उक्त पार्टीको नेतृत्व गरी प्रधानमन्त्री बनेका यिङलक सिनावात्रा र थाक्सिन सिनावात्रा हाल भ्रष्टाचार आरोपमा स्व:निर्वासनमा छन्। तथापि दुवै जना अहिले पनि थाइल्यान्डको राजनीतिमा शक्तिशाली रहेको मानिन्छ।

राजकन्याले १९७२ मा अमेरिकी नागरिकसँग विवाह गरेकी थिइन्। यसकारण उनले आफ्नो शाही पद त्याग गरेकी थिइन्। यद्यपि सम्बन्ध विच्छेद भएपछि उनी फेरि थाइल्यान्ड फर्केर राजकीय जिम्मेवारीमा छिन्।

सामाजिक संजालमा सक्रिय रहेकी राजकन्याले केही थाइ चलचित्रमा अभिनयसमेत गरेकी छिन्।

उनको तीन सन्तानमध्ये एक जनाको सुनामीको कारण २००४ मा मृत्यु भएको थियो भने दुई जना अमेरिकामा बस्दै आएका छन्।

वर्तमान प्रधानमन्त्री प्रयुथ हान ओचहाले गत शुक्रवार प्रधानमन्त्री पदका लागि पुन: उम्मेदवारी दिने घोषणा गरेका थिए। २०१४ मा सैन्य कू गरेर सत्तामा पुगेका प्रयुथ सेना समर्थित पलाङ प्रचारत पार्टीबाट निर्वाचन लड्ने बताइएको छ।  

१९३२ मा सक्रिय राजतन्त्र अन्त्य भइ नयाँ संविधान बनेयता थाइल्यान्डको सेनाले १२ पटक कू गरेर  राजनीतिलाई आफू अनुकूल बनाउँदै आएको छ।