तिहारलाई मगाएको चिनी अझैसम्म भन्सारमै थन्कियो, गोदामलाई पैसा तिरेको तिरै

बिजमाण्डू
२०७५ माघ २१ गते १३:३९ | Feb 4, 2019
तिहारलाई मगाएको चिनी अझैसम्म भन्सारमै थन्कियो, गोदामलाई पैसा तिरेको तिरै


वीरगञ्ज। साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको करीब १३ करोड मूल्य बराबरका २४ हजार ४५ मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ। 

Tata
GBIME
Nepal Life

सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि कर्पोरेशनले भित्र्याएको उक्त परिणामको भारतीय चिनी गोदाममा थन्किएको हो। परिणात्मक बन्देजका कारण पाँच महीना भइसक्दा पनि कर्पोरेशनले चिनी लग्न सकेको छैन। 
 
दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी कर्पोरेशनले भारतको गुजरात राज्यस्थित रेणुका सुगर मिलबाट सो परिणामको चिनी आयात गरेको थियो। ढिलो गरी आयात भएकाले चिनी भन्सार पास हुन नसक्दा गोदाममै थन्किएको छ। विगत लामो समयसम्म गोदाममै थन्किएका कारण चिनी बिग्रदै गएको छ।  

२०७५ भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णयलाई आधारमानी वाणिज्य विभागले चिनीको जाँचपास नगर्न पत्राचार गरेकाले यस्तो स्थिति आएको सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ। कार्यालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको चिनी असोज ६ गते सुख्खा बन्दरगाहमा आएकाले भन्सार पास हुन नसकी गोदाममै थन्किएको छ। 

सुख्खा बन्दरगाहको गोदाममा राखिएको सो चिनी छाड्ने बारे विभागबाट कुनै पनि पत्र नआएकाले यस बारेमा अहिले केही भन्न नसकिने भन्सार अधिकारीको भनाइ छ। 
     
विगत पाँच महीनादेखि भन्सारमै थन्किएको सो चिनी गोदाममा राखेको भाडावापत साल्ट ट्रेडिङ कर्पोरेशनले बन्दरगाह सञ्चालक कम्पनी हिमालयन ट्रर्मिनललाई चार करोडभन्दा बढी रकम तिर्नसमेत सकेको छैन। गोदाममा राखे वापतको भाडा दर प्रतिदिन तीन लाख ७६ हजार ६०० रहेकाले हालसम्म कर्पोरेशनले भाडा तिर्न नसकेको गोदाम इञ्चार्ज सुनिलकुमार सिंहले बताए।