चन्दा कोचरले साढे ३२ अर्ब ऋण घोटाला गरेको पुष्टी, राजीनामा होइन वर्खास्त

बिजमाण्डू
२०७५ माघ १७ गते ०९:२६ | Jan 31, 2019
चन्दा कोचरले साढे ३२ अर्ब ऋण घोटाला गरेको पुष्टी, राजीनामा होइन वर्खास्त


आइसिआइसिआइ बैंककी तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्दा कोचर ऋण दूरुपयोग काण्डमा दोषी देखिएकी छिन्। सर्वोच्च अदालतका पूर्व न्यायाधिस बिएन श्रीकृष्णाको अध्यक्षतामा गठित छानविन समितिले कोचरलाई दोषी पाएको छ।

Tata
GBIME
Nepal Life

पदको गलत फाइदा उठाएर भिडियोकोन ग्रुपलाई ऋण दिएर ब्यक्तिगत फाइदा उठाएको उनीमाथि आरोप थियो। सिबिआइले कोचर उनका पति दीपकमाथि आपराधिक षड्यन्त्र र ऋण दूरुपयोग गरेको आरोपमा मुद्दा दायर गरिसकेको छ। 

बैंकले पनि स्वतन्त्र जाँच गराएको थियो। २०१८ जुन ६ मा श्रीकृष्णाको नेतृत्वमा जाँचबुझ समिति गठन गरिएको थियो। यो समितिले अप्रिल २००९ देखि मार्च २०१८ सम्मको अवधिको जाँच गरेको थियो। यो बीचमा कोचर बैंकको नेतृत्वमा थिइन्। समितिले बुधबार आफ्नो प्रतिवेदन बुझाएको छ।

कोचरले पदीय दूरुपयोग गर्दै संस्थागत सुशासनमा खेलवाड गरेको समितिले उल्लेख गरेको छ। कोचरले राजीनामा गरिसकेकी छिन्। कोचरको गल्ती प्रमाणित भइसकेकाले अब उनको राजीनामा नभइ बर्खास्ती भएको बैंकले जनाएको छ। अब उनलाई बैंकले दिने कुनै पनि सुविधा उपलब्ध हुने छैन। उनीसँग कम्पनीले २००९ देखि २०१८ सम्म लिएको बोनस ब्याजसहित फिर्ता गर्न निर्देशन दिएको छ।

भिडियोकोन ऋणमा भएको गडवढी सन् २०१६ मा  सञ्चार माध्यमबाट उठेको थियो। त्यहाँ यो कारोबारका बारेमा प्रश्न उठाइएको थियो। अरबिन्दा गुप्ताको उजुरीलाई कसैले पनि ध्यान दिएका थिएनन्। त्यसपछि उनले दीपक कोचरले सन् २०१० मा स्थापना गरेको कम्पनीको बारेमा समाचारहरु बाहिर ल्याए। त्यसपछि ठूला मिडियाहरुले उनलाई साथ दिन थाले र यति ठूलो बैंकिङ घोटाला बाहिर आएको हो।

के हो प्रकरण
आईसिआईसिआई बैंककी एमडी तथा सिइओ चन्दा कोचरका श्रीमान दीपक कोचर तथा भिडियोकोन ग्रुपका चेयरम्यान वेणुगोपाल धुतका विरुद्ध मुद्दा दर्ता भइसकेको छ। चन्दा कोचरले ऋण घोटाला गरेको छानबिन समितिले प्रतिबेदन नै बुझाइसकेको छ। 

ऋण दिलाइदिएबापत  धुतबाट कोचर परिवारले ठूलो लाभ पाएको अनुसन्धानबाट खुलेको छ। भिडियोकोन कम्पनीलाई बैंकबाट ऋण दिएपछि दीपक कोचरको कम्पनीले करोडौं रुपैयाँबराबरको लाभ लिएको खुलेको छ। धुतले भिडियोकोन कम्पनीमार्फत सन् २०१२ मा आईसिआईसिआई बैंकबाट ३,२५० करोड भारु ऋण लिएका थिए।
 
भिडियोकोनले एसबिआई बैंकको नेतृत्वमा बिभिन्न २० वटा बैंकहरुबाट कुल ४० हजार करोड ऋण लिएको थियो। यसअघि नै धुतले सन् २०१० मा ६४ करोड भारु न्यूपावर रिन्यूएबल्स प्राइभेट लिमिटेडलाई दिइसकेको आरोप छ।
 
बैंकबाट ऋण लिएको ६ महिनापछि धुतले न्यूपावर कम्पनीमा रहेको आफ्नो स्वामित्व दीपकको पिनाकल इनर्जी ट्रष्टलाई ९ लाख रुपैयाँ मात्र लिएर ट्रान्सफर गरेका थिए। 

२५ वर्षअघि स्थापना भएको आईसिआईसिआई बैंक सम्पतिका आधारमा तेस्रो र मार्केट क्यापिटलाइजेसका आधारमा भारतकै चौथो ठूलो बैंक हो। यसैगरी आईसिआईसिआई न्यूयोर्क स्टक एक्सचेन्जमा लिस्टेड भएको भारतको पहिलो बैंक हो। यो बैंक सन् २००० मा न्यूयोर्क स्टक एक्सचेन्जमा लिस्टेड भएको थियो। 
 
यस्तो छ चन्दा दिपक र धुत कनेक्सन
चन्दा कोचरका श्रीमान दीपक, दीपकका बाबु र चन्दा कोचरकी भाउजुले भिडियोकोन ग्रुपका अध्यक्ष वेणुगोपाल धुतको साथमा मिलेर ५० प्रतिशत साझेदारीमा न्यू पावर रिन्यूएबल्स  स्थपाना गरेका थिए। यो कम्पनीमा वेणुगोपाल धुतको ६४ करोड भारतीय रुपैयाँ लगानी थियो।
 
यसको केही महिनापछि वेणुगोपाल धुतले आइसीआइसीआइ बैंकबाट ३,२५० करोड रुपैयाँ ऋण लिए। ऋण लिएको केही महिनापछि धुतले आफ्नो अर्को कम्पनी सुप्रिम इनर्जीको अधिकांश शेयर दीपकले संचालन गरेको पिनाकल इनर्जी ट्रस्टलाई ९ लाख भारुमा शेयर हस्तान्तरण गरेको देखिएको छ। 
 
आईसिआईसिआई बैंकबाट लिएको ऋणको रकम धुतले केही तिरे भने केही बाँकी नै राखे। तिर्न बाँकी २,८१० करोड रुपैयाँलाई पछि बैंकले नन परफर्मिङ एसेट (एनपिए) अर्थात नउठ्ने पैसा भनि घोषित गर्यो।
 
यो पुरै प्रक्रिया यसरी मिलाएर गरिएको छ कि यो प्रकरणमा गडबडी थाहा पाउने मुश्किल पर्छ। त्यसैकारण यसमा बैंक पनि मिलेको आरोप लागेको छ।

यो प्रकरणलाई सन् २०१६ मा अरबिन्द गुप्ताले ह्विसल ब्लोअरका रुपमा बाहिर ल्याएका थिए। उनले बैंकको यो ऋण प्रकरणबारे अनुसन्धान गर्न प्रधानमन्त्रीलाई नै चिठ्ठी लेखेका थिए। उनले भारतको केन्द्रीय बैंकका गभर्नर तथा अन्य सम्बन्धित निकायमा पनि यसबारे उजुरी दर्ता गराएका थिए।
 
गुप्ताले यस प्रकरण बाहिर ल्याउन लामो समय अनुसन्धान तथा अध्ययनमा खर्चिएका छन्। उनी भिडियोकोन ग्रुपमा लगानीकर्ता समेत रहेकाले धुतसँग सम्बन्धित कम्पनीहरुबारे अनुसन्धानमा लागे। उनले कम्पनीका बारेमा पत्ता लगाएका बिभिन्न बैंकिङ कारोबार तथा ट्रान्ज्याक्सनहरुलाई सार्बजनिक गरेपछि यस बिषयमा खोज्न दबाब परेको थियो।
 
अरबिन्द गुप्ताका अनुसार धुतले भिडियोकोन ग्रुपबाट सुप्रिम इनर्जीमा पैसा ट्रान्सफर गरे जसमा उनको ९० प्रतिशत शेयर थियो। धुतले यसलाई प्रमोट गरेपछि दिपक कोचरलाई ट्रान्सफर गरे। दिपक कोचरले यसको शेयर पिनाकल इनर्जीलाई ट्रान्सफर गरे। 
 
गुप्ताका अनुसार पिनाकल इनर्जी ट्रस्ट कोचर परिवारको थियो। हाल उनीहरुले यसको शेयर धेरै पहिले न्यू पावर रिन्यूएबल्सलाई बेचेको भनिरहेका छन्। न्यू पावर रिन्यूएबल्स भविष्यमा कुनै किसिमको आरोप आइलागेमा खण्डन गर्नकालागि मात्र स्थापना गरिएको गुप्ताको दावी छ। ‘आईसिआईसिआईले न्यूपावरलाई कहिले पनि ऋण दिएन तर कम्पनीले यसबाट लाभ लिएको हो’  ह्विसल ब्लोअर गुप्ता बताउँछन्।  
 
‘बैंकले त्यस्तो कम्पनीलाई ऋण दियो जो ४० हजार करोड रुपैयाँभन्दा बढी घाटामा छ र लगभग टाट पल्टिसकेको छ। चन्दा कोचरका श्रीमान दीपक न्यू पावर रिन्यूएवल्सका एक शेयरहोल्डर हुन् र यसकारण भिडियोकोनले पाएको ऋणका अप्रत्यक्ष लाभ पाएकै हुन्’ गुप्ताको दावी छ।  
 
को हुन् चन्दा कोचर
भारतमा रिटेल बैंकिङलाई प्रवर्द्धन गर्ने भूमिकाका लागि ख्याति पाएकी ६६ वर्षकी चन्दा कोचर आईसिआईसिआई बैंककी एमडी तथा सिइओसम्म भइन्। उनले केही महिनाअघि मात्र राजीनामा गरेकी छिन्। उनले सन् १९८४ मा यो बैंक ज्वाइन गरेकी थिइन्। उनले गरेको कामहरुको सम्मान गर्दै सन् २०११ मा भारत सरकारले उनलाई पद्मभूषणले सम्मानित गरिसकेको छ। उनी फोर्ब्सको विश्वकै १ सय प्रभावशाली महिलाहरुको सूचीमा सात पटक परिसकेकी छिन्। भारतको बित्तीय तथा बैंकिङ क्षेत्रमा चन्दालाई प्रभावशाली महिलाको रुपमा लिइन्छ। उनी इन्डियन बैंक एसोसिएसनकी डेपुटी चेयरम्यान समेत भएकी थिइन्।

को हुन् दीपक कोचर
चन्दा कोचरका श्रीमान दीपक न्यू पावर रिनुएवल्सका सिइओ हुन्। स्वतन्त्र उर्जा उत्पादक कम्पनी न्यूपावर रिन्यूएवल्सका उनी सहसंस्थापकका साथै सिइओ हुन्। न्यू पावरको वेबसाइटका अनुसार कम्पनीले झण्डै ७ सय मेगावाट बैकल्पिक उर्जा उत्पादन क्षमता राख्छ। कम्पनीले तामिलनाडू, कर्नाटक, राजस्थान, महाराष्ट्र, आन्द्रप्रदेश तथा मध्यप्रदेशमा पाइपलाईनको माध्यमबाट वैकल्पिक उर्जा कार्यक्रम संचालन गरिरहेको छ।
 
दीपकको कम्पनीमा ५० प्रतिशत शेयर थियो भने अर्का संस्थापक धुतले डाइरेक्टर पदबाट राजीनामा दिएपछि उनको २४ हजार ९९९ अतिरिक्त शेयर समेत दिपकले नै गरे। हार्वर्ड बिजनेस स्कुल पढेका उनी बित्त ब्यबस्थापनका डिग्री होल्डर हुन्। 

को हुन् वेणुगोपाल धुत
धुत १.६ अर्ब डलर सम्पतिका मालिकका रुपमा फोर्ब म्यागेजिनले सन् २०१५ मा भारतको अर्बपतिको सूचीमा ६१ नम्बरमा राखेका ब्यापारी हुन्। फोर्ब्सका अनुसार उनले भिडियोकोनको केही हिस्सा अमेरिकाको कम्पनी सिल्भर इगल एक्विजिसन कर्पोरेसनलाई बेचे। त्यसपछि धुतको शेयर अमेरिकाको शेयर बजार नास्दाकमा लिस्टिङ भैसकेको छ।
 
२०१८ मार्चमा एक अन्तर्वार्ताका क्रममा धुतले २० हजार करोड ऋण नतिरी देशबाट भाग्न लागेको हो? भन्ने प्रश्नमा आफ्नो देश छोड्ने कुनै मनसाय नरहेको बताएका थिए। पाँच वर्षयता आफू भारतबाट बाहिर नगएको भन्दै उनले  आफू सँधै भारतीय नै भएर बस्ने बताएका थिए। उनको सहयोगमा हालै भारतभर २ करोड रुख रोप्ने परियोजना सम्पन्न भएको बताइएको छ।