५० वर्षअघि हिप्पीलाई पाहुना बनाएको घर बन्यो तारे होटल, पहिलोपटक ‘स्विस’ चेन

बसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ माघ १५ गते १२:०० | Jan 29, 2019
५० वर्षअघि हिप्पीलाई पाहुना बनाएको घर बन्यो तारे होटल, पहिलोपटक ‘स्विस’ चेन


काठमाडौं। पोखराको लेकसाइडमा युरोपको स्विस इन्टरनेशनल होटल चेन 'सरोवर' संचालनमा आएको छ। सन् २०१९ को पहिलो दिनदेखि नै होटलको 'सफ्ट ओपनिङ' गरिएको होटलका प्रमुख कार्यकारी तथा अध्यक्ष भरतराज पहारीले जानकारी दिए। 

Tata
GBIME
Nepal Life

होटलको ब्यबस्थापनको जिम्मा स्विस इन्टरनेशनलले लिएको उनले बताए। 

होटलको प्रमुख कार्यकारी तथा अध्यक्षमा प्रोफेसर डा. भरतराज पहारी छन् भने निर्देशकमा उनका भाइ डाक्टर मोहन पहारी छन्। पहारी दाजुभाईले आफ्नै जग्गामा होटल संचालनमा ल्याएका हुन्।

'राष्ट्रको अर्थतन्त्रमा टेवा पुर्यादउनु भनेकै रोजगारको सिर्जना गर्नु हो। हामीले यहाँ प्रत्यक्षरुपमा एक सय जनालाई रोजगार दिएका छौँ। पाँच सयले अप्रत्यक्ष रोजगारी पाएका छन्। अन्य व्यावसायिक क्षेत्रका पाँच हजारले यहाँबाट अप्रत्यक्ष फाइदा लिन सक्छन्' प्रोफेसर पहारीले भने। 

इन्जिनियरिङका प्रोफेसर पहारीले यो होटल निर्माण गर्दा व्यवसायी मैत्रीमात्र नभइ वातावरणमैत्री र संस्कृति मैत्री रुपमा बनाएको बताए।  

वातावरणमैत्री होटल
यो होटलमा प्राविधिक उपकरण प्रयोगका लागि एक सय ४० किलोवाट क्षमताको सौर्य उर्जा जडान गरिएको छ। उर्जा खपत किफायतका लागि होटलका भित्ता र झ्याल इन्सुलेटेड छन्। होटल निर्माणमा ईंटाको प्रयोग गरिएको छैन। १० तल्लाको यो होटलमा ईंटाको सट्टा भुकम्प प्रतिरोधात्मक कंक्रिट र जाली मात्र प्रयोग गरिएको छ भने इन्सुलेसनका लागि दुई इन्चको थर्मकोल जडान गरिएको छ। थर्मकोल जडान गर्नाले हरेक कोठामा जुनसुकै मौसममा न्यूनतम तापक्रम महशुस गर्न सकिने पहारी बताउँछन्। 

उनका अनुसार तापक्रम र आवाज नियन्त्रण गर्नका लागि प्रत्येक झ्यालमा डबल कोटेड शिशा जडान गरिएको छ। 

जियो थर्मल विधिको प्रयोग
ऐतिहासिक दरबारहरुमा प्रयोग हुने गरेको जियो थर्मल प्रविधि यस होटल निर्माणमा प्रयोग गरिएको छ। होटलको ग्राउण्ड फ्लोरभन्दा पाँच मिटर तल एक सय मिटर लामो सुरुङ खनिएको छ। यसरी सुरुङ खन्नाले होटल निर्माण भएको बेसमाथि ३५ डिग्री सेल्सियस तापक्रम भएतापनि दुई तलासम्म १८ डिग्री सेल्सियस तापक्रम महशुस गर्न सकिनेछ।

दुई तलामाथि पनि उत्तिकै तापक्रम निर्धारण गर्नका लागि होटलमा 'इन्भर्टेड एसी' जडान गरिएको छ।

होटलमा भएको दुईवटा किचन र बाथरुमबाट निस्कने फोहोरलाई संकलन गरी सोलिड वेस्ट म्यानजमेन्ट अवधारणा अनुसार ग्राण्डिङ मेशिनबाट वायोग्यास उत्पादन गरिँदै आएको अध्यक्ष पहारीले जानकारी दिए। वायोग्यास उत्पादनपछि निस्किएको पदार्थलाई भने पुनः न्यूनतम तापक्रममा तताएर अर्ग्यानिक मलको प्रयोजनमा ल्याइने गरेको उनले बताए। 

संस्कृतिमैत्री होटल
मानव शरीरको सन्तुलनलाई विभिन्न यन्त्र र मन्त्रले प्रभाव पार्नेमा विश्वास गर्ने पहारी दाजुभाइले होटलका बिभिन्न कक्षहरुमा मन्त्र सहितको यन्त्र जडान गरेका छन्। 

'यहाँ शरीरको सन्तुलनसँग सम्बन्धित श्रीयन्त्र, धर्म चक्र, गणेश यन्त्र, सरस्वती यन्त्र, दुर्गा यन्त्र, काली यन्त्र लगायत विभिन्न यन्त्रको आकृति जडान गरिएको छ। यसबाट होटलभित्र प्रवेश गरिसकेपछि अतिथिलाई आनन्द र सकारात्मक अनुभूति प्राप्त हुन्छ' उनले भने। 

सिंगै घरभित्र संस्कृति र प्रकृति झल्किने खालका तस्विर राखिएको उनले बताए। उनका अनुसार होटलमा कुनैपनि अमूर्त तस्विर राखिएको छैन तर अर्थपूर्ण ढंगले 'कम्पन' दिने यन्त्र भने जडान गरिएको छ। 

हिप्पीलाई पाहुना बनाएको घर बन्यो होटल 'सरोवर' 
बि.सं.२०२५ सालतिर हिप्पीहरुको प्रिय गन्तब्य थियो नेपाल। उनीहरु टर्की, इरान, अफगानिस्तान, पाकिस्तान, भारत हुँदै नेपालसम्म आइपुग्थे। हिप्पीका लागि काठमाडौंको ठमेल, स्वयम्भु, ललितपुरको झम्सीखेलका साथै पोखरा प्रिय थियो। 

माछापुछ्रेको छाँया देखिने पोखराको फेवाताल किनारमै पर्थ्यो पण्डित खलकका पहारीको घर। दैनिक संस्कृतका ग्रन्थ पाठ हुने त्यो घरको पिँढीमा हिप्पी बास बस्न आउन थाले। घरमा परिवारका सदस्य बाहेक विदेशी पर्यटकको अस्थायी बसोबास क्रमश: बढ्दै गयो।  

हिप्पीको आउजाउ बढ्दै गएपछि पोखराका हरेक घरमा वास बसेवापत हिप्पीसँग दुईदेखि पाँच रुपैयाँ शुल्क लिइन थालियो। पहारी परिवारले पनि कटेरोमा कोठा बारेर हिप्पीका लागि थप सुविधायक्त पाहुना घर बनायो। 

पछि वि.सं २०३५ सालतिर त्यसै पाहुनाघरलाई नयाँ नाम दिइयो 'सरोवर'। सरोवर अर्थात् ताल। फेवातालकै पर्यायवाची शब्द छानेर पाहुना घरले 'होटल सरोवर'को नाम पाएको पहारीले सुनाए।  

वि.सं २०५० सालतिर तीन दाजुभाइ भिन्न भए। दाजु हरिकृष्ण पहारी होटल व्यवसायमै लागे भने दुई दाजुभाई अध्ययन अध्यापनमा। त्यसपछि होटल सरोवरले एक दशकभन्दा बढी समय विश्राम लियो। 

यसरी जोडियो स्विस इन्टरनेशनल होटल चेन

आफूसँग होटल संचालनको लागि पर्याप्त अनुभव नभएकै कारण युरोपको स्विस इन्टरनेशनल होटलको चेन नेपालमा भित्र्याएको पहारी बताउँछन्। 'म इन्जिनियरिङको प्राध्यापक हुँ भाई मेडिकल डाक्टर। हामी फरक क्षेत्रका बिज्ञ हौं, होटलको होइन। तर आफ्नै व्यवसाय सुरु गर्दा हामीले पुरानो नाता जोडिएको होटल क्षेत्र नै रोज्यौं' उनले भने।  

प्रतिस्पर्धाका कारण अहिले ब्यावसायिक रुपमा नचलाए होटलमा सफल हुन नसकिने पहारी दाजुभाईले बुझेका छन्। त्यसैले उनीहरुले आउट सोर्सिङ गरेर होटल चलाउने योजना बनाए। अध्ययन गर्दै जाँदा उनीहरु यूरोपको स्विस इन्टरनेशनल होटलसम्म पुगे। 

स्विस इन्टरनेशनल होटलको व्यवस्थापनमा अफ्रिका, मध्यपूर्वी देशहरु र एसियामा १९ वटा होटल प्रभावकारी रुपमा संचालन आइरहेको थियो। नेपालमा भने यसलाई पहिलो पटक पहारी दाजुभाइले नै भित्र्याएका हुन्। स्विस इन्टरनेशनलको नाम र मापदण्ड मात्र तोक्ने नभइ व्यावसायिक रुपबाट पनि उत्कृष्ट बन्ने सोचका साथ आफूहरुले स्विस होटल चेनमा आबद्ध भएको उनले बताए। 

'कम्पनीले सुरुमा ब्राण्डमात्र प्रयोग गर्न दिने र वर्षेनी एक पटक नेपाल आउने प्रस्ताव राख्यो। तर हामीले चरणवद्ध रुपमा कम्पनीसँग प्रोफेसनल अपरेटरको माग गरेपछि मात्र बल्ल बल्ल स्वीस इन्टरनेशनलले सम्झौता गर्यौँर' उनका अनुसार व्यवस्थापनमा ल्याइएको कम्पनीले सरोवरसँग वार्षिकरुपमा केही प्रतिशत ब्यबस्थापन शुल्क तथा रोयल्टी लिनेछ।   
   
गत वर्षको जुलाईमा स्विस इन्टरनेशनल र होटल सरोवरबीच सम्झौता भएपछि हाल यो होटल 'स्विस इन्टरनेशनल होटल सरोवर' नामले संचालनमा छ। 

छ रोपनी क्षेत्रफलमा बनेको होटल निर्माण गर्दा अन्य होटलको तुलनामा ३० प्रतिशतले कम लागतमा सम्पन्न गरेको उनले जानकरी दिए। होटलमा डेढ अर्बको लगानी रहेको पहारी बताउँछन्। होटल मध्यम वर्गीय आन्तरिक पर्यटक, बाह्य पर्यटक र विशेष गरी व्यावसायिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको पहारीले बताए। 

के के सुविधा छन् होटलमा?
होटलको पहिलो तल्लामा स्पा राखिएको छ। १६ हजार बर्गफिटमा बनेको सौना, स्टिम, ज्याकुजी सहितको स्पा अन्तर्राष्ट्रिय स्तरको रहेको छ। यसैगरी होटलमा जिम सेन्टर, जुम्बा हलको पनि सुविधा रहेको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय सभा सम्मेलनलाई विशेष प्राथमिकता दिँदै निर्माण गरिएको सभाकक्षमा सात सय जना अट्ने क्षमता रहेको पहारीले बताए। 'सभा कक्षमा पार्टेसन गर्न सकिन्छ। एक पटकमा सातवटा साना हल संचालन गर्न सकिन्छ। प्रत्येक सभाकक्षमा एक सयसम्म मान्छे अट्न सक्छन्' उनले भने।

भुईँतल्लामा रहेको स्विमिङपुलमा जडान गरिएको हिट पम्पमार्फत जाडो महिनामा तातो पानीमा पौडीको सुविधा दिने बताइएको छ।  

होटलमा क्यासिनो राख्नका लागि पनि विभीन्न कम्पनीको प्रस्ताव आइरहेको उनले बताए। उनका अनुसार भविष्यमा होटलमा पर्यटक लक्षित मिनी क्यासिनो पनि संचालन गरिनेछ।   

१० तले होटलको तेस्रो तलादेखि भने तीन प्रकारका कोठा रहेका छन्। होटलमा एउटा प्रेसिडेन्ट सुइट रुम, १५ वटा सुइट रुम र ८० वटा डिलक्स रुम गरी जम्मा ९६ वटा कोठा  छन्। 

पहारीका अनुसार प्रेसिडेन्ट सुइट रुमको शूल्क १५ सय डलर, सुइटरुमको तीन सय देखि पाँच सय डलर र डिलक्स रुमको एक सय ४० डलर रहेको छ। 

होटलमा ग्राहकले नेपालको रैथाने परिकारदेखि कन्टिनेन्टल परिकारको स्वाद लिन सक्नेछन्। स्विसले विशेष गरी मेनुलाई प्राथमिकता दिने भएको कारण ग्राहकले सबै परिकारको विशेष स्वाद लिन सक्ने उनको दाबी छ। अन्तर्राष्ट्रिय अभ्यास अनुसार 'डाइनामिक रेट सिस्टम' लागू भएको कारण पर्यटकको हाइ सिजन र लो सिजनमा होटलको महसुलमा फेरबदल हुने पहारीले बताए। 

जनवरी एक तारिखमा सफ्ट ओपनिङ भएको होटलमा अहिले ४० प्रतिशत अक्युपेन्सी रहेको उनले जानकारी दिए। आउँदो मार्च-अप्रिलमा पर्यटकको हाइ सिजन सुरु हुने भएका कारण पहारीले सो अवधिभित्र होटलको ग्राण्ड ओपनिङ गर्ने योजना रहेको बताएका छन्।        

'नेपाल भ्रमण वर्ष २०२०लाई लक्षित गर्दै भारत र चीन लगायतका पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सुविधा दिनु नै हाम्रो मूल उद्धेश्य हो। नेपाली संस्कृतिको मर्यादा राखेर हामी नेपाल आउने सबै पर्यटकलाई उच्चस्तरीय सुविधा दिनेछौँ' उनले भने। 

२०७२ साल बैशाखबाट निर्माण सुरु गरिएको होटल एक महिना अघिदेखि सफ्ट ओपनिङ भइसकेको छ।