नेपाली गार्मेन्ट उद्योगले अर्बौंको बजार फर्काउन के गर्नुपर्छ?, बंगलादेशबाट के सिक्ने?

भावना शर्मा/बिजमाण्डू
२०७५ माघ १४ गते १३:२० | Jan 28, 2019
नेपाली गार्मेन्ट उद्योगले अर्बौंको बजार फर्काउन के गर्नुपर्छ?, बंगलादेशबाट के सिक्ने?



नेपाल र बंगलादेशबीच के समानता छ? दुबै दक्षिण एशियाका साना मुलुक। दुबै देशको क्षेत्रफल लगभग उस्तै छ। दुबैको सिमाना भारतसँग जोडिएको अनि दुबै देश आर्थिक विकासकालागि संघर्षरत छन्।

Tata
GBIME
Nepal Life

यस बाहेक दुबै देशका तयारी पोशाक उद्योग एकै समयमा स्थापना भएका हुन्। तर सँगै स्थापना भएपनि विकासक्रममा दुई देशका तयारी पोशाक उद्योगबीच कुनै समानता छैन। अझ भनौं एकआपसमा पटक्कै तुलनायोग्य छैन।

हाल बंगलादेश विश्वको दोस्रो ठूलो कपडा निर्यातकर्ता देश हो। सँगै तयारी पोशाक उद्योग सुरु गरेको नेपाल भने हाल वार्षिक करिब पाँचदेखि ६ अर्ब रुपैयाँ हाराहारीको तयारी पोशाक निर्यातमा अल्झिरहेको छ।गत जुन महिनासम्ममा बंगलादेशको गार्मेन्ट उद्योगले ३६.७ अर्ब डलर कुल निर्यात गर्यो।

हाल बंगलादेशको कुल निर्यातको ८३.५ प्रतिशत तयारी पोशाक उद्योग रहेको बंगलादेश गार्मेन्ट उत्पादक तथा निर्यात एसोसिएसनको तथ्यांकले देखाउँछ। एसोसिएसनका अनुसार हाल बंगलादेशमा ४ हजार ५ सय ६० वटा गार्मेन्ट उद्योग चालु अवस्थामा छन्। बंगलादेशको अर्थतन्त्रमा बिगत एक दशकदेखिको आर्थिक बृद्धिको एकमात्र कारक बनिरहेको छ त्यहाँको तयारी पोशाक उद्योग।

तर सन् २००१/२००२ ताका नेपालमा झण्डै १२ सयको हाराहारीमा तयारी पोशाक उद्योग थिए। नेपाली तयारी पोशाक अमेरिकाको वालमार्ट,जेसिपेनी, ग्याप लगायतका स्टोरमा झुन्डिन्थे। तर यो धेरै समय टिकेन। सन् २००४ बाट अमेरिकाको कोटा खारेजीपछि नेपाली तयारी पोशाक प्रतिस्पर्धी हुन छाडे।

भन्साररहित सुविधा पाइरहेका नेपाली तयारी पोशाक चर्को भन्सार शुल्कका कारण महँगो भयो। विस्तारै उद्योगको संख्या घट्दै गयो। हाल साना र ठूला गरी ५५ वटा जति मात्र तयारी पोशाक उद्योग छन् जसमध्ये अधिकांश आफैँलाई धान्न संघर्षरत छन्।

तर त्यही समय बंगलादेशका लागि अवसरको ढोका खुल्यो। कोटा खारेजीपछि बंगलादेशले आफ्नो उत्पादकत्व मात्रै बढाएन राजनीतिक तहमा समेत सहमति गरेर निकासी उद्योगलाई हस्तक्षेपमुक्त बनायो। त्यो बेलाको राजनीतिक सुझबुझकै कारण अहिले बंगलादेशले विश्व गार्मेन्ट निर्यातको ६.३ प्रतिशत ओगटेको छ जुन आजभन्दा ८ वर्षअघि ४ प्रतिशतमात्र थियो। विश्व ब्यापार संगठनको एक तथ्यांक अनुसार सन् २०१६ देखि बंगलादेश तयारी पोशाक निर्यातमा दोस्रो स्थानमा छ।

सन् २०१९ मा तयारी पोशाक निर्यातलाई ३९ अर्ब डलर पुर्याउने र सन् २०२१ मा बंगलादेश आफू ५० वर्षको हुँदा निर्यातलाई समेत बढाएर ५० अर्ब डलर पुर्याउने लक्ष्य बंगलादेशको सरकारले लिएको छ। ४० लाख ५० हजार मानिसले काम गर्ने बंगलादेशका कपडा उद्योगमा सरकारले विशेष क्षेत्रका रुपमा संरक्षण र प्रोत्साहन गरिरहेको छ।

यो सबै तथ्यहरुले बंगलादेशको तयारी पोशाक उद्योग र नेपाली तयारी पोशाक उद्योग एकै समयमा स्थापना भएपनि तुलना योग्य नहुनुको कथा भन्छ।

सन् २००४ अघि अमेरिकाले भन्सार छुटमा नेपाली उत्पादन कोटामा निर्यात गर्ने सुविधा दिएको थियो। तर अमेरिकाले २००५ मा मल्टी फाइबर एग्रिमेन्ट खारेज गरेपछि नेपालले कम मूल्यमा उत्पादन गरेर प्रतिस्पर्धामा जान सकेन।
 
सन् २००१ मा नेपालबाट साढे ३८ करोड डलर बराबरको तयारी पोशाक निर्यात भएको थियो। तर सन् २०१५ सम्म आइपुग्दा ५ अर्ब रुपैयाँको मात्र निर्यात गर्न सक्ने अवस्थामा पुग्यो। सन् २०१८ मा ६ अर्ब १ करोड रुपैयाँको तयारी पोशाक निर्यात भएको नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष चण्डी अर्याल बताउँछन्। 

एक समय देशकै चौथो ठूलो निर्यातका वस्तुका रुपमा रहेको नेपालको तयारी पोशाक उद्योगबाट हाल ठूलो लगानी तथा लाखौं कामदार पलायन भैसकेका छन् भने केही उद्योगी समेत अमेरिका पलायन भएका छन्। तयारी पोशाक उद्योग संघकै पूर्व अध्यक्ष प्रशान्त पोखरेल अमेरिका पलायन भए। धेरै उद्योगी अहिले पनि बैंकको कालोसूचीमा छन्।

'बंगलादेशमा कामदारको ज्याला कम छ। श्रमिकको उत्पादकत्व बढी छ। उनीहरुको ढुवानी लागत पनि कम पर्छ किनभने उनीहरुको आफ्नै बन्दरगाह छ।' पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा नेपाल र बंगलादेशको तयारी पोशाक उद्योग तुलनायोग्य बन्न नसक्नुका अफ्ठ्यारा औल्याउँदै भन्छन् -"हामीकहाँ थप पारवहन लागत लाग्छ उनीहरुको ढुवानी लागत कम पर्छ। उनीहरुको तयारी पोशाक उद्योगमा लगानी नै धेरै ठूलो छ। सरकारको संरक्षण छ। हाम्रा ससाना उद्योगमात्रै छन्। फेरि बंगलादेशको तयारी पोशाक उद्योग विशेष आर्थिक क्षेत्रमा स्थापना भएका छन्। त्यहाँ दक्ष कामदारहरु छन् उनीहरुलाई सबै सुविधा उपलब्ध गराइएको छ, उद्योगमा हडताल निषेध छ।" यति सबै भएकाले बंगलादेशको  तयारी पोशाक उद्योग फस्टायो।

बंगलादेशले तयारी पोशाक मात्रै तयार पार्दैन उसले कपास र फाइबर आयात गरी आफैं धागो उत्पादन गरी कपडा बनाउँछ। यसबाट उनीहरुको उद्योग धेरै ग्रो भैसकेको छ।  हामीकहाँ धागो लगायतका सबै कच्चा पदार्थ आयात गर्नुपर्छ त्यसकारण नेपालको तयारी पोशाक उद्योगको लागत नै बढी भएकाले प्रतिस्पर्धामा जान नसकेको पूर्व वाणिज्य सचिव ओझा बताउँछन्।

उनका अनुसार अहिले पनि नेपाली तयारी पोशाक  चीन, भारत र बंगलादेशको भन्दा ३० प्रतिशत बढी महंगो पर्छ। किन्नेले पनि कम लागतमा गुणस्तरीय उत्पादन नै खोज्ने भएकोले बंगलादेशले बिदेशी बजारमा आफूलाई अब्बल बनाउँदै लैजान सक्यो। 

नेपाली गार्मेन्ट केही समय कोटा प्रणालीको भरमा बिदेशमा टिक्यो। तर सन् २००४ मा कोटा प्रणाली पूर्णरुपमा खारेज भएपछि नेपालका गार्मेन्ट उद्योगहरु धरासायी भए। उद्योगहरु आत्मनिर्भर हुन नसकेपछि काम खोज्दै यस क्षेत्रका कामदारहरु पनि पलायन भए।
 
राजनीतिक हस्तक्षेपले गुमेको अवसर
अमेरिकाको कोटा खारेजीपछि बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले मोरङको टंकीसिनवारीमा ठूलो लगानीमा गार्मेन्ट उद्योग स्थापना गरेको थियो।

अर्बौ लगानीमा स्थापना भएको उद्योगमा ट्रेड युनियनको बारम्बारको हस्तक्षेपका कारण बन्द भयो। यो उद्योगबाट जोन प्लेयरका सर्ट र पाइन्ट उत्पादन हुन्थ्यो। नेपालबाट उत्पादन भएको तयारी पोशाक विश्वबजारमा समेत बिक्री हुन थालेको थियो।

अत्याधुनिक मेशिनसहित ठूलो लगानीमा आएको सूर्य नेपालको गार्मेन्टले विश्वबजारमा विश्वास बढाइरहेको थियो। तर राजनीतिक स्वार्थका लागि मजदुरलाई उपयोग गर्दा यो उद्योग बन्द भयो। नेपालको बजार स्थापित गर्ने अर्को अवसर सूर्य नेपाल गार्मेन्ट बन्द हुँदा गुम्यो।

निरन्तरताको परिणाम

जतिबेला नेपालमा गार्मेन्ट उद्योग 'बुम' मा थियो त्यहीबेला १८ वर्षअघि बिराटनगरमा प्रत्यक्ष बैदेशिक लगानीमा एउटा तयारी पोशाक उद्योग खुल्यो। 'मकालु क्यासमिर' नामको त्यो गार्मेन्ट उद्योग ठूलो लगानी र महत्वकांक्षाका साथ खुलेको थियो।

जसै नेपाली तयारी पोशाक उद्योगको अवस्था ओरालो लाग्दै गयो त्यसका साझेदारहरु उद्योगमा थप लगानी र मेशिनरी बिस्तारमा उत्साहित भएनन्। साझेदारहरु बाहिरिएपनि उद्योगलाई निरन्तरता दिने जिम्मेवारी गोल्यान समूहले लियो। त्यसै समूहको लगानी र बिस्तारपछि हाल 'ट्राइकोट इन्डस्ट्रिज'का नाममा पुरानो गार्मेन्ट उद्योग संचालन भैरहेको छ। उद्योगमा अटोमेटेड मेशिनहरु थपिएका छन्। जसबाट उत्पादन र गुणस्तर दुबै बढेको गोल्यान समूहका निर्देशक शक्ति गोल्यानले जानकारी दिए।

निरन्तर संचालन तथा लगानी बिस्तारसँगै उद्योगले फेरि अन्तराष्ट्रिय बजारमा पखेँटा फिजाएको छ। वार्षिक ३५ देखि ४० करोडको हाराहारीमा तयारी पोशाक निर्यात गरिरहेको कम्पनीले आफ्नो उत्पादनको ९० प्रतिशत हिस्सा बिदेश निर्यात गर्ने र दश प्रतिशत आन्तरिक बजारमा खपत हुने गरेको उनले बताए।  

हाल ट्राइकोटका उत्पादनहरु डेनमार्क, जर्मनी, अमेरिका, इटाली, अष्ट्रिया, न्यूजिल्याण्ड, बेलायत, भारत, दक्षिण अफ्रिका क्यानडा र स्विजरल्याण्ड जान थालेको छ। झण्डै तीनसय मजदूर काम गर्ने यो गार्मेन्टले नेपालका ति गार्मेन्ट उद्योगको प्रतिनिधित्व गर्छ जसले अफ्ठेरो अवस्थाकाबीच पनि कामलाई निरन्तरता दिइरहेका छन्। देशभर साना ठूला झण्डै ५५ वटा यस्ता तयारी पोशाक उद्योग संचालनमा छन् जसका कारण नेपाली गार्मेन्ट उद्योग आशावादी छ।   

के के छन् सुधारका उपाय?
तयारी पोशाक उद्योग संघका अध्यक्ष चण्डी अर्यालका अनुसार तयारी पोशाक उद्योगहरुको बेस बनाउनकालागि सबैभन्दा पहिलो शर्त देशमै आवश्यक कच्चा पदार्थ उत्पादन हुनु हो।

उनी भन्छन् – 'गार्मेन्ट उद्योग मात्र होइन जति पनि निर्यातजन्य उद्योगहरु छन् तिनलाई आवश्यक पर्ने कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने ब्यबस्था हुनुपर्छ।' 'सरकारले चाहेमा ६ देखि ८ महिनाभित्र एउटा कपडा मिल चालु हुन सक्छ।'- अर्याल सरकारले तयारी पोशाक उद्योगलाई अन्तराष्ट्रिय बजारको प्रतिस्पर्धामा जान सक्ने गरी २/४ वर्षलाई विशेष सहयोग गरेमा गार्मेन्ट उद्योग फस्टाउने वातावरण बन्ने तर्क गर्छन्। 

एक महिनाअघि मात्रै सरकारले निर्यातजन्य उद्योगलाई दिँदै आएको नगद अनुदान दोब्बरभन्दा बढी बनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निकासीमा दिँदै आएको नगद अनुदानको कार्यविधी संशोधन गर्दै तीन प्रतिशत नगद अनुदान बनाएको छ। नयाँ कार्यविधि अनुसार अब स्वदेशमा उत्पादित कपडा, तयारी उनका सामाग्री, धागोजन्य वस्तुहरुले तीन प्रतिशत नगद अनुदान पाउनेछन्।

यसले तयारी पोशाक उद्योगलाई केही भरथेग गरेपनि तयारी पोशाक उद्योगको विकासको लागि सरकारले नै विशेष कार्यक्रम ल्याउनुपर्ने पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा बताउँछन्।

उनका अनुसार सरकारले तयारी पोशाक प्रशोधन केन्द्र वा 'स्पेशल जोन' स्थापना गरी विशेष जनशक्ति तयार पार्नुपर्छ। नेपालको तयारी पोशाक क्षेत्रमा दक्ष कामदार तथा जनशक्तिको कमी भएकाले दक्षता बढाउनकालागि बृहद तालीम संचालन गरी कामदार उत्पादन गर्न पनि उनी सुझाव दिन्छन्।

यसैगरी तयारी पोशाक उद्योगहरुले ठूला तथा आधुनिक मेशिनरी तथा औजार झिकाउँदा सरकारले छुट र सहुलियत दिने ब्यबस्था गर्नुपर्ने उनको भनाई छ।

उनी नेपाली तयारी पोशाक उद्योगमा विदेशी लगानी ल्याउनकालागि प्रोत्साहन गर्न सरकारले  विदेशीकालागि लगानीयोग्य वातावरण तयार पार्नुपर्ने आवश्यकता देख्छन् । 

पूर्व वाणिज्य सचिव ओझा बन्द भएका सरकारी कपडा उद्योगहरु बुटवल धागो, हेटौंडा कपडा, बालाजु कपडा जस्ता उद्योगहरु फेरि संचालन गर्न सुझाव दिन्छन्। यसबाट थप रोजगारीको सिर्जना हुनुको साथै पुराना स्वदेशी कारखानाहरुको संचालन गार्मेन्ट उद्योगको विकासमा  'महत्वपूर्ण कदम' हुने उनको तर्क छ।

राजनीतिक स्थिरता अवसर
अहिले तीन चरणको निर्वाचनपछि राजनीतिक स्थिरतातर्फ मुलुक अग्रसर छ। पछिल्लो केही वर्ष ठूला बन्द हड्ताल समेत भएका छैनन्। बन्द हड्ताल नहुँदा सहज रुपमा नेपालबाट तयारी पोशाक उत्पादन गरेर निकासी गर्न सकिन्छ।

विगतमा कोटा खारेजीसँगै जनयुद्धसँगैको बन्द, हड्तालका कारण समयमा तयारी पोशाक निकासी नभएकोले अन्तर्राष्ट्रिय क्रेता अन्य देशतर्फ आकर्षित भएका थिए। अर्कोतर्फ दुई वर्षअघि अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबामाले कर छुट सम्बन्धी एउटा महत्वपूर्ण विधेयकमा हस्ताक्षर गरेसँगै नेपाली पोशाकको पहुँचको बाटो खुलेको छ। नेपालले शून्य भन्सार दरमा नेपाली तयारी पोशाकको निकासीका लागि लबिङ समेत गरिरहेको छ। यो तयारी पोशाक पुर्नजीवनका लागि महत्वपूर्ण अवसर हो।