‘पूर्वाधार तयार हुँदैछ, २० लाख पर्यटक आउँछन्’, पर्यटन बोर्डका सिइओ दीपकराज जोशीको विचार

बिजमाण्डू
२०७५ माघ १३ गते १३:२३ | Jan 27, 2019
‘पूर्वाधार तयार हुँदैछ, २० लाख पर्यटक आउँछन्’, पर्यटन बोर्डका सिइओ दीपकराज जोशीको विचार



नेपाल भ्रमण वर्ष २०२०लाई लक्षित गरेर हामीले दिगो पर्यटन विकासलाई अगाडि बढाउन खोजेका छौं। अर्को वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित केही रणनीतिक योजनाहरु बनाइरहेका छौं।

Tata
GBIME
Nepal Life

सरकारले घोषणा गरेको यो कार्यक्रम राष्ट्रिय कार्यक्रम हो। यो राष्ट्रिय कार्यक्रम सफल बनाउन जनताको प्रत्यक्ष सहभागिता समेत अपरिहार्य हुनेछ। यो कार्यक्रम जनताको सहभागितामा सफल बनाउने र दिगो बनाउने उदेश्यका साथ हामीले आफ्ना योजना बनाइरहेका छौं। हामीले अहिले मूलत दुईवटा उदेश्यसहित यो कार्यक्रम अघि बढाइरहेका छौं।

अहिलेसम्मको पर्यटन प्रवर्द्धनको चुनौती भनेको पूर्वाधारको कमी हो। पूर्वाधारकै कमीका कारण हामीसँग पर्यटन क्षेत्रको यतिधेरै सम्भावना भएपनि उपलब्धी हासिल गर्न सकेनौं।हामीसँग एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा समेत पूर्वाधारको कमी थियो। तर अहिले यो विमानस्थलको पनि सुधारको काम द्रुत गतिमा अघि बढिरहेको छ। रनवे सुधारको काम जुलाईसम्म सकिँदैछ। अर्को भैरहवास्थित गौतमवुद्ध विमानस्थल सन् २०१९को सेप्‍टेम्बरमा सकिँदैछ।

यो पर्यटन क्षेत्रका लागि उत्साहजनक विषय हो। यो पूर्वाधार निर्माण पर्यटन क्षेत्रका लागि कोशेढुंगा सावित हुने विश्वास हामीले लिएका छौं। नारायणगढ- मुग्लिन सडक निर्माण भइसकेको छ भने नागढुंगा-कलंकी सडकको काम समेत राम्रो गतिमा अघि बढिरहेको छ। सडक र हवाईका लागि आवश्यक पूर्वाधार राम्रो भएकाले समेत हामीले पर्यटन वर्षमा राखेको लक्ष्य प्राप्त हुने अपेक्षा गरेका छौं। यो वर्ष मात्रै १२ लाख पर्यटक नेपाल भित्रिएका छन्। अब गौतम बुद्ध विमानस्थल समेत संचालनमा आएपछि त्यसले पर्यटन क्षेत्रमा ठूलो प्रभाव पार्छ।

 अहिलेसम्म हाम्रो पर्यटन क्षेत्र सिजनमा आधारित पर्यटन मात्रै हो। अक्टोबर र नोभेम्बरमा पर्यटक खचाखच अरु बेलामा पर्यटकनै नहुने अवस्था रहँदै आएको छ। अब हामीले यो ट्रेन्डलाई परिवर्तन गर्दैछौं। हामीले समर,मनसुन र विन्टर तीन सिजन बनाएर प्रोडक्ट निर्माण गर्दैछौं। यसका लागि हामीले लोगो र थिम समेत तयार पारिसकेका छौं।

त्यो लोगो र थिमलाई हामीले विभिन्न नौवटा ल्याङ्ग्वेजमा प्रचारप्रसार गर्दैछौं। अहिले सामाजिक संजालमार्फत पनि डेस्टिनेशनको प्रचार गरिरहेका छौं। त्यसको सकारात्मक प्रभाव आइरहेको छ। लण्डनमा संसारकै सबैभन्दा ठूलो ट्राभल मार्ट हुँदैछ त्यही समय पारेर हामीले भ्रमण वर्ष २०२०को प्रचारप्रसार गर्दैछौं। अरु यूरोपेली मुलुकमा रहेका दूतावासले समेत पर्यटन वर्षको इनिसियसन लिइरहेका छन्। कतिपय मुलुकमा गैरआवासीय नेपालीलाईनै पर्यटन प्रवर्द्धनको अभियन्ताको रुपमा अगाडि समेत बढाइएको छ।

भ्रमण वर्ष अघि विदेशी टुर अपरेटर्स, संचारमाध्यम, ट्राभल एजेन्ट्स, सेलिब्रेटी लगायत करिब पाँच सय जनालाई नेपालको विभिन्न क्षेत्रमा भ्रमण गराउने योजना बनाएका छौँ। हालसम्म एक सय जना आइसकेका छन्।हामीले भ्रमण वर्षकै लागि १० हजार जनशक्तिलाई तालिम दिँदैछौं। अहिलेसम्म चार हजारलाई तालिम दिइसकेका छौं।भ्रमण वर्षको संयोजक र उपसंयोजक नियुक्त भइसकेको छ। यो समितिको कामका लागि कार्यविधि समेत तयार भइरहेको छ।

यो मन्त्रीपरिषद्बाट पारित भएपछि क्यालेन्डर इभेन्टनै बनाएर प्रचारप्रसार गर्नेछौं। पर्यटन वर्षकै लागि पर्यटन बोर्डको पनि रिफर्म आवश्यक छ। हामीले पर्यटन बोर्डको काम कारवाहीलाई व्यवस्थित र पारदर्शी बनाउँदै लगेका छौं। हामीले व्यवसायिक रुपमा आफ्ना कामकारवाही अगाडि बढाएका छौं। विदेशको तुलना गर्दा हामी आर्थिक र पूर्वाधारका हिसाबले पछाडी छौं तर मुलुकभित्रकै संस्थाका अगाडि हामीले राम्रो रिजल्ट दिएका छौं भन्ने हाम्रो दाबी छ। यति भन्दाभन्दै पनि संस्थामा रिफर्म भने आवश्यक छ। हामी अझै सुधार गरेर सरकारले घोषणा गरेको पर्यटन वर्ष सफल बनाउन लाग्नेछौं।

बजेट न्यून
पर्यटन प्रवर्द्धनका लागि अहिलेको बजेट प्रर्याप्त छैन। पर्यटन प्रवर्द्धनका लागि ठूलै रकम आवश्यक पर्छ। हामीसँगै जोडिएका र दक्षिण एसियाली मुलुक भारत, श्रींलका,मालदिभ्सको तुलनामा हाम्रो बजेट ज्यादैनै न्यून छ।

हामीले खर्चिएको पैसाको प्रतिफल नभएको होइन। तर पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास पनि उतिकै जरुरी हुन्छ।हामीले प्रचारप्रसार गरेर मात्रै हुँदैन पूर्वाधारपनि हुनुपर्छ। हाम्रो प्रचारले डेस्टिनेशनको भिजिविलिटी भइरहेको छ। अर्को भनेको कुनै लगानीको प्रतिफल आजै होइन १० देखि २० वर्षपछि मात्रै आउँछ। विदेशका राम्रा गन्तब्य निर्माण र प्रचारप्रसारका लागि धेरै पैसा र समय खर्च भएपछि मात्रै पर्यटकहरु भित्रिएका हुन्।

के हुँदैछ?

सन् २०१६ र २०१७मा नेपालको पर्यटन इतिहासमै सबैभन्दा ठूलो मिडिया क्याम्पेन गर्यौं। एकैपटक बीबीसी, ट्रिप एडभाइजर, रोयटर्स लगायत डिजीटल मार्केटीङ प्ल्याटफर्ममा नेपाल प्रोमोशन भयो।

हामीले डायसपोराहरुलाई प्रयोग गरेर नेपालको रैथाने परिकार, गन्त्बय, संस्कृति, सम्पदा लगायत प्रमोसन गर्ने काम गर्‍यौँ। केही दिनअघि मात्रै युएनडब्लुटिओ र पाटा जस्तो संस्थाले नेपाललाई फास्टेस्ट ग्रोइङ डेस्टिनेशन मध्ये तेस्रो दर्जामा राखेको छ।(कुराकानीमा आधारित)