माघ १७ गतेदेखि चन्द्रगढी विमानस्थलमा रात्री उडान सुरु हुने, प्रधानमन्त्रीबाट उद्घाटन हुँदै

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ माघ ८ गते १९:२२ | Jan 22, 2019
माघ १७ गतेदेखि चन्द्रगढी विमानस्थलमा रात्री उडान सुरु हुने, प्रधानमन्त्रीबाट उद्घाटन हुँदै

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले माघ १७ गतेबाट इन्स्ट्रुमेन्टल फ्लाइट रुल्स (आइएफआर)मार्फत भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा रात्री उडान संचालनमा ल्याउने भएको छ।

Tata
GBIME
Nepal Life

हाल रात्री उडानका लागि आवश्यक एयरफिल्ड लाइट(रनवे लाइट, डिम लाइट, फग लाइट, ट्याक्सीवे लाइट)को काम सकिसकेको प्राधिकरणका मेकानिकल इन्जिनियनर कुलप्रसाद सिंखडाले जानकारी दिए।

'गत जुनबाट सुरु भएको यो प्रोजेक्टको लागि १० महिनाको समयावधि तोकिएको थियो। हामीले यो प्रोजेक्ट तोकिएको समयावधिभन्दा तीन महीना अगाडि सकाउने योजना बनाएका छौं।' उनले भने।

उनका अनुसार भिजुल फ्लाइट रुल्स 'भिएफआर' अन्तर्गत पाँच हजार मिटर भिजिबलिटीमा फ्लाइट अपरेशन गर्दै आएका जहाजले आइएफआरमार्फत १६ सय मिटर भिजिविलिटीमा फ्लाइट अपरेशन गर्न सकिने उनले जानकारी दिए। यो उडानको उद्घाटन प्रधानमन्त्री केपीशर्मा ओलीले गर्नेछन्।

१० महिना अगाडि विहान र दिउँसोको लागि आइएफआर सेवा सुरु गरिसकेको विमानस्थलमा रात्री उडान सुरु भइसकेपछि आन्तरिक उडानबाट भइरहेको एयर ट्राफिक कम हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुरमार क्षेत्रीले जानकारी दिए।

'अहिले विहानको समयमा डोमेस्टिक उडानमा चाप भएको कारण फ्लाइट डिले हुने, एयर ट्राफिक कन्जेशन हुने समस्या न्यून हुनेछ। रात्री उडानमा पनि आइएफआर लागू भइसकेपछि विमानस्थलमा राती नौ बजेसम्म आन्तरिक उडान गर्न सकिन्छ। यसले गर्दा यात्रुले एकैदिन आउन जान सक्ने सुविधा लिन सक्नुका साथै फ्लाइट बढे अनुसार विमानस्थलको राजश्व पनि बढ्नेछ। ।' महाप्रवन्धक क्षेत्रीले भने।

क्षेत्रीका अनुसार हाल बुद्ध एयर, श्री एयरलाइन्स र यति एयरले भैरहवा, नेपालगञ्ज, धनगढी, विराटनगर, सिमरा लगायतका क्षेत्रमा राती नौ बजेसम्म उडान भर्दै आएका छन्।  

चन्द्रगढी विमानस्थलमा दश महीना अघि विहान र दिउँसोको लागि स्याटलाइट बेस्ड आइएफआर सेवा सुरु भइसकेको छ।इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स लागू भएपछि भिजिविलिटी २५ सय मिटर रनवे क्लियर भएपछि जहाज अवतरण गरिँदै आएको प्राधिकरणले बताएको छ । यस अघि भिजुअल फ्लाइट रुल्स 'भिएफआर' पाँच हजार मिटर रहेको थियो। 

प्राधिकरणले आउँदो दुई महिनाभित्र जनकपुर विमानस्थलमा पनि आइएफआर अन्तर्गत रात्री उडान गर्ने बताएको छ। हाल जनकपुर विमानस्थलमा एयरफिल्ड लाइट जडानको काम अन्तिम चरणमा रहेको प्राधिकरणले बताएको छ।