स्थीर सरकार आउँदा विदेशी लगानी झन् घट्यो, पुसमा ७८ करोड मात्रै विदेशी लगानी

बिजमाण्डू
२०७५ माघ ८ गते १५:१२ | Jan 22, 2019
स्थीर सरकार आउँदा विदेशी लगानी झन् घट्यो, पुसमा ७८ करोड मात्रै विदेशी लगानी

 

Tata
GBIME
Nepal Life


काठमाडौं। सरकारले लगानीका लागि सहज वातावरण बनाएको दाबी गरेपनि विदेशी लगानी भने घटिरहेको छ। स्थीर सरकार बनेपछि केही महिना विदेशी लगानी बढेपनि त्यसपछि भने लगातार घट्दो क्रममा छ।

उद्योग विभागका अनुसार पुस महिनामा ठूला लगानीमा एउटा पनि उद्योग आएनन्। विभागमा लगानी प्रस्ताव लिएर आउने साना र मझौंला उद्योगका विदेशी लगानी मात्रै छन्। एक उद्योगीका अनुसार ठूलो लगानीमा जोखिम मोल्न नचाहेकै कारण साना लगानी आएको हो।'स्वदेशी वा विदेशी लगानीकर्ताले मुनाफा हेरेर मात्रै लगानी गर्छ। तर स्थीर सरकार आएपनि लगानीकर्तालाई विश्वस्त बनाउने वातावरण तयार हुन सकेको छैन' ती उद्योगीले भने,'स्वदेशी लगानीकर्तानै त्रासमा रहेका बेला विदेशीले यहाँ आएर अर्बौ लगानी कसरी गर्छन्?' उनका अनुसार ठूला लगानीकर्ताका लागि नीतिगत स्थिरता आवश्यक हुन्छ।

 अझ पुस महिनामा आएको विदेशी लगानी अर्ब भन्दा पनि कम छ। विभागका अनुसार पुसमा ७६ करोड रुपैयाँको मात्रै विदेशी लगानीको प्रस्ताव आएको छ। यो मंसिर भन्दा पनि कम हो। मंसिरमा ९४ करोड रुपैयाँ विदेशी लगानीको प्रतिवद्धता आएको थियो। पुसमा आएका उद्योगमा दुई वटा मझौला लगानीका उद्योग छन् भने २० वटा साना लगानीका उद्योग रहेका छन्। मंसिरमा एउटा ठूलो उद्योग, एउटा मझौला उद्योग र २४ वटा साना लगानीका उद्योगमा विदेशी लगानी स्विकृत भएको थियो

४ अर्ब रुपैयाँले घट्यो विदेशी लगानी

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४ अर्ब रुपैयाँ भन्दा बढीले विदेशी लगानी प्रतिवद्धता घटेको विभागले जनाएको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा  १० अर्ब २४ करोड ३६ लाख रुपैयाँ खुद विदेशी लगानी प्रतिवद्धता भएको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनामा भने १४ अर्ब ७४ लाख रुपैयाँ खुद विदेशी लगानी प्रतिवद्धता भएको थियो। गत वर्षको तुलनमा चालु आर्थिक वर्षमा करिब ४ अर्ब रुपैयाँले विदेशी लगानी प्रतिवद्धता घटेको छ।

गत वर्ष दुई वटा जलविद्युत आयोजनामा एक अर्ब ७० करोड रुपैयाँ र एउटा खानिज उद्योगमा दुई अर्ब रुपैयाँ लगानी प्रतिवद्धता भएको थियो। चालु आर्थिक वर्षमा भने जलविद्युत क्षेत्रमा कुनै पनि विदेशी लगानी आएन। विभागका वैदेशिक लगानी शाखाका निर्देशक प्रशान्त बोहराले जलविद्युत र खनिज उद्योगमा डेढ करोड रुपैयाँ मात्र विदेशी लगानी प्रतिवद्धता आएको बताए।

गत वर्ष एक/एक अर्ब रुपैयाँ मात्र विदेशी लगानी प्रतिवद्धता भएका सेवा र पर्यटन उद्योगमा चालु आर्थिक वर्षमा भने क्रमश एक अर्ब ४८ करोड र तीन अर्ब ६८ करोड रुपैयाँ आएको बोहराले बताए।

चालु आर्थिक वर्षमा उत्पादनमूलक उद्योगमा पनि विदेशी लगानी प्रतिवद्धता घटेको छ। यो वर्ष पहिलो ६ महिनामा ३७ उद्योगमा चार अर्ब ६० करोड रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएको छ। गतवर्ष पहिलो ६ महिनामा पाँच अर्ब ७२ करोड रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएको थियो।

यो वर्ष कृषि क्षेत्रमा ७ करोड रुपैयाँ मात्र विदेशी लगानीको प्रतिवद्धता भएको छ। गतवर्ष भने एक अर्ब ८६ करोड रुपैयाँ विदेशी लगानी प्रतिवद्धता भएको बोहराले बताए।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १९५ वटा विदेशी लगानीका उद्योगमा लगानी स्वीकृत गरिएको छ। गत वर्षको यहि अवधिमा भने १ सय ६८ वटा उद्योगमा मात्र विदेशी लगानी स्वीकृत गरिएको थियो।