झापालाई ‘एग्रि प्रोसेसिङ जोन’ बनाउन गोल्यान समूहको अर्बौ लगानी, २ सय बिघा जमीनमा अर्गानिक खेती

भावना शर्मा/बिजमाण्डू
२०७५ माघ ७ गते १४:४१ | Jan 21, 2019


मदरगाछ। झापाको दक्षिणी भेगमा रहेको मदरगाछ गाउँ। जनसंख्या खासै ठूलो छैन। उसो त सिंगो झापा गाउँपालिकामा जम्मा ३५ हजार मानिसहरु मात्र छन्। परसम्म जमीन बाँझै छ। सानो ठाउँमा कसैले तोरी र फापर छरेर छोडेको बाहेक ठूलो खेती केही देखिन्न।

Tata
GBIME
Nepal Life

भर्खरै खेती उठाएका ठाउँमा परालका ठूला/ठूला कुन्यू छन्। घरसँगै जोडिएका करेसाबारी हरियो देखिएपनि त्यसबाहेकका जमीन उराँठलाग्दो छ। एक त पातलो गाउँ त्यसमाथि युवा पुस्ता राहदानी म्यानपावरलाई बुझाएर भिसा कुरिरहेका। घरमा बसेका बुढापाका खेतीमा धेरै खट्न सक्दैनन्।

रैथाने सतार, सन्थाल, राजबंशीहरु बाहेक बाहुन, क्षेत्री र अन्य जातजाती रहेको गाउँमा बाँझिदै गएको जमीनले त्यहाँबाट युवा पुस्ताहरुको विदेश पलायनको तस्वीर झल्काउने स्थानीय डिल्लीराज उच्च माविका शिक्षक सुन्दरलाल गणेश बताउँछन्।

'गाउँमा बस्ने ९५ प्रतिशत किसान नै हुन्। तर युवाहरु बिदेशिने चलनले प्रौढ र महिलाहरुले मात्र कृषिमा जिविका चलाउने बाहेकका ब्यावसायिक काम गर्न सक्दैनन्।' सुन्दरलालका अनुसार यहाँका प्रत्येक घरका युवा बिदेशिएका छन्। घरमा बाँकी रहेकाहरु पनि खाली जमीनमा के गर्ने के नगर्ने अन्योलमा छन्।

यही मदरगाछको एउटा छेउमा भर्खरै ९ बिघा खयरघारी फाँडियो। हेर्दाहेर्दै यो ठूलो घारीबाट खेतीयोग्य जमीनमा बदलियो। यतिबेला यही ठाउँमा ठूला/ठूला खाल्डा खनिएका छन् । पश्चिम बंगालको कृषि बिश्वविद्यालयका प्रोफेसरसहितको बिज्ञ टोली दोमाटे जमीनमा खनिएका ठूला खाल्डाहरुमा कुन खेती लगाउने बारे योजना बनाइरहेका छन्।

केही दिनमै यी खाल्डाहरुमा कागतीका बोटहरु रोपिनेछ। छेवैमा मेवा, मस्क मेलन, वाटरमेलनको लागि जमीन तयार छ। यहाँ अर्गानिक फलफूल खेती सुरु भएको छ।

यो जमीनमा बढेको चहलपहल छेउका गाउँलेहरु पनि चाख मानेर हेरिरहेका छन्। र, यो चहलपहल यही गाउँमा मात्र सीमित छैन। झापाको दक्षिणी भेगका राजगढ, चकचके, केराबारी जस्ता विभिन्न ठाउँहरु गरी २ सय बिघा बाँझो जमीन यसरी नै अर्गानिक खेतीका लागि  तयार भैरहेको छ।  र यो सबैका पछाडि छन् नेपालकै प्रतिष्ठित औद्योगिक घराना गोल्यान समूहका अध्यक्ष पवन गोल्यान।

दुईसय विघा जमीनमा पाइलट प्रोजेक्टका रुपमा सुरु भएको गोल्यान समूहको अर्गानिक खेतीलाई पवन आफ्नै निगरानी र निर्देशनमा अघि बढाइरहेका छन्। एसबिआइ बैंक र जनता बैंकको लगानीमा २ सय ९ बिघा जमीन लिएको जानकारी दिँदै उनले भने- '२ सय ९ बिघा जमीन खरिदमा अहिलेसम्म ६० करोड लगानी भैसकेको छ, यसलाई एक हजार बिघासम्म फैलाउने योजनामा काम गरिरहेका छौं। झापालाई हामी एग्रि प्रोसेसिङ जोन बनाउन चाहन्छौं।'

महत्वाकांक्षी सुनिएपनि पवनको यो कुनै लहडको योजना भने होइन। यो पवनले तीन वर्ष अघि नै चाहेका थिए। योजना अनुसार काम सुरु पनि भयो। तर जसलाई उनले काम सुम्पिए उसबाट काम सुरु हुन सकेन। किन होला? उनकै भनाईमा कृषिलाई व्यावसायीकरण गर्न भिजन मात्र होइन 'डेडिकेसन' चाहिन्छ। र, जसलाई उनले जिम्मा दिए उसमा त्यो 'डेडिकेसन' भएन।

त्यसपछि पवन आफैं फिल्डमा खटिए। बलियो टिम बनाए। नतिजा उनको भिजनलाई सपोर्ट गर्ने किसिमको छ जसबाट उनी असाध्यै उत्साहित छन्।  'अब यहाँ कागती रोपेपछि फल्न २ वर्ष लाग्छ। त्यसबीच इन्टर क्रपिङ हुन्छ। यो जमीनमा मेवा, तेजपात, अदुवा, बेसार जस्ता अन्य फलफूल लगाउने हो।'- पवन यतिबेला पनि खेतमै छन् र किसानले झैं बालीको योजना बनाइरहेका छन्।

लामो समयदेखि धागो कारखाना, हाउजिङ, तयारी पोशाक, होटल जस्ता ब्यवसायमा रहेको गोल्यान समूहले कृषिमा हात हाल्यो। पवनले कृषिमा ठूलो संभावना देखेका छन्। तर यसलाई व्यावसायिक रुपमा अघि बढाउन नसक्दा किसानहरुले दूख पाइरहेको तथ्य पनि बुझेका छन्। उनको भनाईमा जो उत्पादक छन् उनीहरु सँधै मर्कामा छन्। ट्रेडिङ गर्नेहरुले नाफा कमाइरहेका छन्।

'अर्गानिक खेती भनेर अहिले जे जति उत्पादन भइरहेको छ। त्यो एलिट क्लासले ठूला सपिङ मलबाट महंगो दाम तिरेर किन्ने खानेकुरा हो भन्ने मान्यता स्थापित नहोस्। सबैको पहुँचमा पुगोस्। किसानले पनि धुलो मैलो भएर खेतमा अहोरात्र खटिँदा पनि खर्च उठाउन नसक्ने अवस्थाको अन्त्य होस्।' पवनले सुनाए- 'खासमा म किसानलाई बलियो बनाउन चाहन्छु।'

पवनले खेतीबाट उत्पादित अर्गानिक फलफूल तथा तरकारीहरुको बिक्रीका लागि आफ्नै ब्राण्ड पनि बनाइसकेका छन्। 'माटो' नामको ब्राण्डबाट कम्पनी आफैंले उत्पादन गरेका तथा आफूसँग जोडिन आउने किसानहरुका अर्गानिक फलफूल तथा खाद्यान्न बजारमा लैजानेछ।

चाइनिज स्याउ हेर्दा आकर्षक  छ तर मिठो  र रसिलो मुस्ताङको स्याउले बजार पाउन कठिन छ। तर हामी यहीँ जेनेटिक चेन्ज गरेर चाइनिज स्याउजस्तो आकर्षक मुस्ताङी स्याउ उत्पादन गर्न सक्छौं। यसबाट किसानलाई पनि फाइदा हुन्छ बिदेशी फलफूल भन्दा नेपाली फलफूलले नै बजार ढाक्न सक्छ। अचेल पवनको दिमागमा यस्ता अनेकौं आइडियाहरु खेलिरहेका हुन्छन्।

‘हामी किसानलाई बजार खोजिदिन सक्छौं। प्रोसेसिङ जोन बनाएर उनीहरुको उत्पादन खरिद गरिदिने र उचित मूल्य दिन सक्छौं। सबै कुरामा सरकार नै अघि बढ्नुपर्छ भन्ने पनि होइन हामी आफैंले जे सक्छौं त्यहीबाट थालौं भन्ने सोच हो। कर्पोरेट हाउसहरुले कृषिमा लगानी गरेनन् भने कहिल्यै पनि यस क्षेत्रको व्यावसायीकरण हुन सक्दैन। कृषिको व्यावसायीकरण भएन भने किसानको जीवनस्तर पनि उठ्दैन।‘- उनले भने।

२ सय बिघा क्षेत्रमा फैलिएको राजगढको जमीनमा जडीबुटी र फलफूल लगाउने योजना छ। लोठसल्ला, अदुवा र बेसारबाट तेल निकाल्ने र संभावित मेडिकल हर्बका बारेमा बिज्ञको टोली  अनुसन्धान गरिरहेका छन्। रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर निर्माणकालागि यहाँको २५ विघा जमीन उनले छुट्याइसकेका छन्।

हरेक उत्पादनको अनुसन्धान र विकास गर्नकालागि बैज्ञानिक राखेर काम गराउने उनको योजना अनुसार नै हाल पश्चिम बंगाल कृषि विश्वविद्यालयका बैज्ञानिकको टोलीले  माटोको परीक्षण र उत्पादनको विकासकालागि लागि खेतमै आएर अनुसन्धान गरिरहेका छन्। १५ जना कृषि बैज्ञानिकले व्यावसायिक खेतीको लागि अध्ययन अनुसन्धान गर्ने पवनले जानकारी दिए।  

झापाबाट सुरु भएको गोल्यान समूहको यो अर्गानिक खेती बिस्तारै पहाडी भेगहरुमा पनि विस्तार हुनेछ। पहिले प्रदेश नम्बर १ र २ मा काम थाल्ने र बिस्तारै पहाडी भेगमा काम सुरु गर्ने बताइएको छ। पवनका अनुसार गोल्यान समूहले सुरु गरेको अर्गानिक खेतीले किसानको उत्पादनहरुसँग प्रतिस्पर्धा गर्ने छैन। उनले किसानका बालीलाई असर नपर्ने र किसानले उत्पादन नगर्ने किसिमका बालीमात्र लगाउने जानकारी दिए। 
  
माटोको अनुसन्धानमा खटिएको  पश्चिम बंगाल विश्वविद्यालयका विज्ञ टोलीको नेतृत्व गरिरहेका कृषि बैज्ञानिक रणधिर चक्रवर्तीले एक वर्षमै आत्मनिर्भर हुने गरी इन्टरक्रपिङ गर्न सकिने उत्पादनहरुको अध्ययन गरिरहेको बताए।

उनले यो जमीन निकै उर्बर र प्रचुर संभावनायुक्त भएकोले फलफूलकासाथै जडीबुटीको उत्पादन गर्न सकिने परीक्षणबाट पत्ता लागेको जानकारी दिए। बैज्ञानिकहरुको अनुसन्धानले पवनलाई पनि उत्साहित बनाएको छ। '३ अर्बको उद्योग मदरगाछमै लगाउने सोचिरहेको छु।'- पवनले भने।