बैंकले ५% तल ब्याज कबुल गरेपछि राष्ट्र बैंकको रिपो पुरै बिक्री भएन, अन्तर बैंक सापटी ६.५% माथि

बिजमाण्डू
२०७५ माघ ७ गते ११:३६ | Jan 21, 2019

काठमाडौं। अन्तर बैंकमा चलेकोभन्दा निक्कै कम ब्याज दर तिर्ने गरी बैंकहरुले आवेदन दिएपछि राष्ट्र बैंकले आइतबार ल्याएको रिपो पुरै बिक्री हुन सकेन। 

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले मौद्रिक नीतिमा नीतिगत ब्याज दर ५ प्रतिशत तोकेको छ। यो ब्याजदरभन्दा माथि हुने गरी रिपोका लागि आवेदन दिनु पर्नेमा बैंकहरुले ५ प्रतिशत तल आवेदन दिएकाले राष्ट्र बैंकले बिक्री नगरेको हो।

राष्ट्र बैंकले पाँच अर्बको रिपो निष्कासन गरेको थियो। यसमध्ये ५० करोड रुपैयाँ मात्र बिक्री भएको छ। जबकी बैंकहरुले ७ अर्ब रुपैयाँ हाराहारी पैसा चाहिएको भन्दै आवेदन दिएका थिए। तर ब्याज दर भने ५ प्रतिशतभन्दा कम राखेका थिए।

राष्ट्र बैंकले आन्तरिक भुक्तानीमा समस्या नहोस् र अनिवार्य तरलता अनुपात (सिआरआर) पुर्याउनका लागि तरलता उपलब्ध गराउँछ। बैंकहरुले किनेको ट्रेजरी बिल्सको धितोमा पैसा उपलब्ध गराउने प्रकृयालाई रिपो भनिन्छ।

रिपो मार्फत पैसा नपाएपछि अन्तर बैंक सापटीमा दवाव देखिएको छ। आइतबार निक्षेपका रुपमा प्रयोग गर्न सकिने अन्तर बैंक सापटीको दर साढे ६ प्रतिशत कायम भएको छ। सिआरआरका लागि गणना गर्न मिल्ने सापटीको दर भने पाँच प्रतिशत छ।

'आइतबार रिपोमार्फत पैसा नआएकाले सोमबार अन्तर बैंक सापटीमा दबाब देखिएको छ' एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बिजमाण्डूसँग भने, 'साढे ६/७ प्रतिशतसम्म ब्याज उक्लिने देखिएको छ।' पुस मसान्तताका निक्षेपका रुपमा देखाउन मिल्ने सापटीको ब्याज दर साढे ८ प्रतिशतसम्म पुगेको थियो। यसरी सापटी लिँदासमेत ८ वटा बैंकको कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) ८० प्रतिशत नाघेको थियो।

राष्ट्र बैंकले मंगलबार फेरि साढे सात अर्बको रिपो निष्कासन गर्ने भएको छ। 

'मौद्रिक नीतिमै नीतिगत दर ५ प्रतिशत तोकिएपछि रिपोमा ५ प्रतिशतभन्दा तल ब्याज दिन्छु भन्ने बैंकलाई पैसा दिन नसकिएको हो' राष्ट्र बैंकको राष्ट्र ऋण विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले भने, 'हामीले फेरि रिपो जारी गर्ने भएका छौं। पाँच प्रतिशतमाथि ब्याज दिन चाहनेलाई पैसा दिन सकिन्छ।'