अर्थ कर्मचारीलाई आचारसंहिता: विवाह ब्रतबन्ध सभ्यरुपमा गर्नुपर्ने, तथ्यांक बंग्याउन नहुने

बिजमाण्डू
२०७५ माघ ७ गते १०:५८ | Jan 21, 2019
अर्थ कर्मचारीलाई आचारसंहिता: विवाह ब्रतबन्ध सभ्यरुपमा गर्नुपर्ने, तथ्यांक बंग्याउन नहुने

काठमाडौं। अर्थ मन्त्रालयका कर्मचारीलाई माथिल्लो निकायको स्वीकृति विना सेवाग्राही तथा सम्बन्धित सरोकारवालाहरुलाई कामको सिलसिलामा कार्यस्थलभन्दा बाहिर भेट्न रोक लगाइएको छ। मातहतका कर्मचारीका लागि आचारसंहिता लागू गर्दै मन्त्रालयले कुनै पनि सेवाग्राहीको प्रतिनिधि वा एजेन्ट भएर काम गर्न पनि रोकिएको छ। 

Tata
GBIME
Nepal Life

अर्थ मन्त्रालयका कर्मचारीका लागि जारी गरिएको आचारसंहितामा कुनै कर्मचारीले व्यक्तिगत लाभ हासिल गर्ने वा अन्य मतलबयुक्त काम गर्ने वा गराउने उद्देश्यले कार्यस्थलबाहेक अन्य स्थान वा निवासमा भेटघाट गर्न नहुने उल्लेख गरिएको छ। आचारसंहिता अर्थमन्त्री डा. युवराज खतिवडाले पुस ३० गते स्वीकृत गरेका थिए।

यसैगरी कार्यालय, होटल, रेस्टुराँ तथा अन्य सार्वजनिक स्थलमा अस्वाभाविक वा भड्किलो व्यवहार गर्न नहुने पनि आचारसिंहतामा उल्लेख छ। साथै विवाह, ब्रतबन्ध जस्ता सामाजिक काम गर्दा मितव्ययी एवं सभ्य व्यवहार प्रदर्शन गर्नुपर्ने पनि आचारसंहितामा उल्लेख गरिएको छ। 

आचारसंहितामार्फत पदीय दायित्व निर्वाह गर्ने सिलसिलामा बाहेक आफू कार्यरत संस्था, माथिल्लो वा मातहतका निकायहरु वा आफूभन्दा माथिल्लो, समकक्षी वा मातहतका पदाधिकारी विरुद्ध प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नकारात्मक टिप्पणी गर्न रोक लगाइएको छ। अन्तर वैयक्तिक सम्बन्ध राख्दा कुनै पनि आधारमा भेदभाव नगरी सबैलाई सम्मानका साथ समान र उचित व्यवहार प्रदर्शन गर्नुपर्नेछ। 

यसैगरी कुनै पनि तथ्य वा तथ्यांक वा मुद्दालाई बंग्याई जानीबुझी गलत वा भ्रामक अर्थ दिने गरी ब्याख्या गर्न, प्रयोग गर्न वा व्यक्त गर्न नहुने पनि उल्लेख गरिएको छ। 

पढ्नुस् आचारसंहिता