वीरगंजमा क्लिकर उत्पादन गर्ने एक मात्र उद्योग युनिटेकको उत्पादन शुरु, अढाई करोड राजस्व गुम्यो

बिजमाण्डू
२०७५ माघ ६ गते १८:४५ | Jan 20, 2019
वीरगंजमा क्लिकर उत्पादन गर्ने एक मात्र उद्योग युनिटेकको उत्पादन शुरु, अढाई करोड राजस्व गुम्यो

वीरगंज। जितपुर सिमरास्थित युनिटेक सिमेन्ट प्रालि पुनः सञ्चालनमा आएको छ। चुनढुङ्गा पिँधेर क्लिङ्कर उत्पादन गर्ने उद्योग डेढ महिनादेखि बन्द थियो। 

Tata
GBIME
Nepal Life

स्थानीयले प्रदुषण फैलाएको भन्दै विरोध गरेपछि जितपुर सिमरा उपमहानगरपालिकाका मेयर कृष्ण पौडेल र स्थानीयहरुले उद्योगमा तालाबन्दी गरेका थिए।

विभिन्न समयमा गरी तीन पटकमा ६ करोडको डक्टिङ् सिस्टम (धुलो सोस्ने प्रविधि) जडान भएपछि उद्योगको उत्पादन पूर्ण रुपमा शुरु भएको हो। 

उद्योग चलेपछि जितपुर सिमराका जनप्रतिनिधि तथा सरोकारवालाहरुले उद्योगको स्थलगत निरीक्षण गरेका छन्। मेयर पौडेल, वडा नं ३ का वडा अध्यक्ष जगरनाथ घिमिरे, वडा नं ६ का वडा अध्यक्ष क्यामुद्दिन अन्सारी, वातावरण विदलगायतले उद्योगको स्थलगत निरीक्षण अवलोकन गर्दै अवस्था सन्तोषजनक रहेको बताएका छन्।

उद्योगी अशोक वैद्यले डेढ महिनामा करिब अढाई करोड सरकारको राजस्व गुमेको बताए। उनले उद्योगलाई करिब १ करोड घाटा लागेको जानकारी दिँदै वातावरणको रक्षाको लागि कम्पनी जिम्मेवार रहेको बताए। 

२०६४ सालमा शालिमार र रिलायन्स समुहको संयुक्त लगानीमा ३० करोड रुपैयाँ पूँजीमा उद्योग खोलिएको थियो। दैनिक ३ सय टन क्लिकर उत्पादन गर्दै आएको उद्योगका प्रबन्धक गिरधारी अग्रवालले बताए। वीरगंज कोरिडोरको यो क्लिकर उत्पादन गर्ने एक मात्र उद्योग हो।