मोफसलमा क्यासिनो हब बन्दै नेपालगंज, छ वटा होटलमा क्यासिनोका लागि करोडौं लगानी

बिजमाण्डू
२०७५ माघ ५ गते ०९:४८ | Jan 19, 2019
मोफसलमा क्यासिनो हब बन्दै नेपालगंज, छ वटा होटलमा क्यासिनोका लागि करोडौं लगानी



काठमाडौं। भारतीय पर्यटकलाई लक्षित गर्दै पर्यटन क्षेत्रमा लगानी ओरिएको मध्य पश्चिमको व्यापारिक केन्द्र नेपालगंजमा क्यासिनो सिटीको रुपमा समेत चिनिने भएको छ।

Tata
GBIME
Nepal Life

नेपालगंजमा संचालित तीनतारे देखि लिएर पाँच तारे ‌‌‌‌‌‌‌‌‌‌वर्गसम्मको होटलले क्यासिनो(जुवा घर) संचालन गर्ने तयारी गरेका छन् ।हाल संचालनमा रहेका तारे होटल सिटी प्यालेस, होटल‌ सिद्धार्थ, होटल कलपत्रु लर्ड्स इन, होटल सिग्नेट इन कृष्णा, ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ले क्यासिनो सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार निर्माण सम्पन्न गरिसकेका छन् ।

चार तारे स्तरको होटल सोल्टीले‌ क्यासिनो संचालनकै लागी पाँच तारेमा स्तरोन्नतीको लागी पर्यटन विभागमा आवेदन दिइसकेको छ । 'स्तरोन्नती लगत्तै क्यासिनो संचालनको लागी पूर्ण तयारीका साथ छौं, होटल सोल्टीका उच्च व्यवस्थापकले भने, 'स्तरोन्नतीको प्रमाणपत्र पाएको एक महिनाभित्रै क्यासिनो संचालनमा आउनेछ।' ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ले काठमाडौंस्थित पाँचतारे सोल्टी होटलमा झैँ नाइट क्यासिनो संचालनमा ल्याउन लागेको हो ।

नेपालगंजमा होटल सोल्टी बाहेक सबैले मिनी क्यासिनो संचालनको तयारी गरेका हुन् ।'होटलको स्तरोन्नती र क्यासिनो दुबै एक साथ गर्ने तयारीमा छौं, कारकाँदोस्थित तीनतारे होटल किचन हटका संचालक विनोद मैनालीले भने, स्वीमिङ पुल, क्लब,साउना, क्यासिनो अहिले यहाँका तारे होटल संचालनको लागी अत्यावश्यक पूर्वाधार झैं भइसकेको छ ।

सिद्धार्थ हस्पिटालिटी समूह अन्तर्गतको कारकाँदोकै चारतारे होटल सिद्धार्थमा क्यासिनो संचालनको तयारी अन्तिम अवस्थामा पुगेको व्यवस्थापन सम्बद्ध श्रोतले जानकारी दिएको छ।हाल ६८ वटा कोठा रहेको धम्बोझीस्थित होटल सिटी प्यालेसले पनि थप पचास करोड रुपैयाँ लगानी गरेर क्यासिनो संचालनको लागी पूर्वाधार निर्माणको कार्य तीब्र गतिमा गरिरहेको छ ।

थप पचास वटा कोठा, स्वीमिङ पुल,क्लब,ब्यांक्वेट हल र क्यासिनोसहितको पूर्वाधार निर्माणको कार्य भइरहेको छ,होटल संचालक समितिको अध्यक्ष लोकेन्द्र अर्यालले भने, आठ महिनाभित्र विदेशी साझेदारसँगै क्यासिनो संचालनमा ल्याउने योजना छ। निर्माण कार्य छिटो सम्पन्न गर्न भवन निर्माणमा फलामे संरचनाको प्रयोग गरिएको उनले बताए । तीनतारे होटलमा नयाँ थपिने कोठा र पूर्वाधार पछि चारतारे स्तरमा स्तरोन्नती गरिने सिटी प्यालेस होटल व्यवस्थापनले जानकारी दिएको छ।

राँझा विमानस्थल नजिकै निर्माणाधीन तीन तारे होटल द गोल्डेन ब्लिसमा समेत क्यासिनो संचालनमा ल्याउने तयारी भइरहेको होटलका प्रबन्ध निर्देशक सीताराम यादवले जानकारी दिए। क्षेत्रिय विमानस्थल घोषणा गरिएको नेपालगंज विमानस्थलबाट नेपालगंज-दिल्ली सिधा हवाई उडान शुरु गर्ने तयारी भइरहेकोले समेत बाँके र बर्दियाका पर्यटन व्यवसायी उत्साहित भएका छन् । जंगल सफारीको लागी विश्व प्रसिद्ध बर्दिया, प्राकृतिक सुन्दरताको लागी मुगुको रारा ताल र धार्मिक पर्यटनको लागी मानसरोवर भारतीय पर्यटकलाई भित्र्याउन मुख्य आकर्षण हुन् ।

तारे होटलसँगै क्यासिनोको संचालनले पर्यटकको बसाई लम्ब्याउन र खर्च बढाउन उपयोगी हुने होटल व्यवसायीको भनाई छ।उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको गडेलपुरामा अवस्थित नेपालगंजकै पुरानो तारे होटल‌ स्नेहा होटलमा मात्र क्यासिनो संचालनमा रहेको छ ।

सेन्ट्रल प्लाजाले बर्दियामा जंगल रिर्सोट बनाउँदै
स्थानीय अधिकांश तारे होटलले क्यासिनो संचालनको ‌‌‌‌‌‌‌‌‌‌लागी पूर्वाधार निर्माणको लागी लगानी गरिरहेका बेला बाँकेको एक मात्र पाँचतारे होटल सेन्ट्रल प्लाजाका अध्यक्ष देव अर्याल भने बर्दियामा रिसोर्ट संचालनमा ल्याउने तयारीमा जुटेका छन् ।

गत महिना मात्र‌ ठाकुरद्वारामा सेन्ट्रल प्लाजा जंगल रिर्सोटको शिलान्याश गराउँदै निर्माण ‌‌‌‌‌‌कार्य थालेका उनले पन्ध्र महिनाभित्र रिसोर्ट संचालनमा ल्याउने बताएका छन् । ३६ वटा कोठा सहित नेपाली वास्तुकला झल्काउने गरी सुविधा सम्पन्न रिसोर्ट निर्माण भइरहेको होटल व्यवस्थापनले जानकारी दिएको छ ।