सप्तकोशी डेभलपमेन्ट र काबेली विकास बैंक मर्जरको तयारीमा, प्रदेशकै ठूलो विकास बैंक बनाउने

बिजमाण्डू
२०७५ माघ ४ गते १३:०३ | Jan 18, 2019
सप्तकोशी डेभलपमेन्ट र काबेली विकास बैंक मर्जरको तयारीमा, प्रदेशकै ठूलो विकास बैंक बनाउने

विराटनगर। प्रदेश १ को सबैभन्दा ठूलो विकास बैंक हुने लक्ष्यका साथ सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंक एक आपसमा मर्जर हुने भएका छन्।

Tata
GBIME
Nepal Life

आगामी २०७६ साउन १ गतेदेखि दुबै बैंकले एकीकृत कारोबार गर्ने गरी मर्जर गर्ने समझदारी गरिएको हो। सप्तकोशीका अध्यक्ष तारानाथ निरौला र काबेलीका अध्यक्ष गोपालप्रसाद काफ्लेले मर्जरको समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। 

अध्यक्ष निरौलाका अनुसार, मर्जरपछि बन्ने बैंकको नाम सप्तकोशी डेभलपमेन्ट बैंक नै हुनेछ। मर्जरपछि बैंकको केन्द्रीय कार्यालय धनकुटामा र कर्पोरेट कार्यालय विराटनगरमा राखिनेछ।

सुरुमा मोरङ, इलाम र पाँचथर कार्यक्षेत्र रहेको सप्तकोशीको स्थापना २०६९ मा गरिएको थियो। तीन महिनाअघि यसको कार्यक्षेत्र विस्तार भएर झापा र सुनसरीसम्म पुगेको थियो। सप्तकोशीको हाल १६ शाखा छन्। यसको चुक्ता पूँजी ५२ करोड ३७ लाख रुपैयाँ छ।

त्यस्तै २०६५ सालमा धनकुटामा खुलेको काबेलीको कार्यक्षेत्र धनकुटा र तेह्रथुम छ। काबेलीले यसअघि तेह्रथुमको माउन्ट मकालु विकास बैंकसित मर्जर गरेको थियो। यसका हाल ७ शाखा छन्। यसको चुक्ता पूँजी २८ करोड ४३ लाख रुपैयाँ छ।

मर्जरपछि बैंकको चुक्ता पूँजी ८१ करोड रुपैयाँ पुग्ने छ। नेपाल राष्ट्र बैंकले प्रादेशिक स्तरको बैंक हुन १ अर्ब २० करोड चुक्ता पूँजी चाहिने भनी बनाएको नियमअनुसार यस बैंकले हकप्रद र बोनस शेयर मार्फत् पूँजी वृद्धि गर्ने निरौलाले जानकारी दिए।

मर्जरपछि बैंकले दुई वर्षभित्र प्रदेश नम्बर १ का १४ वटै जिल्ला र सबै स्थानीय तहमा शाखा खोल्ने लक्ष्य लिएको छ। मर्जर लगत्तै प्रदेश नम्बर १ मा केन्द्रीय कार्यालय भएको विकास बैङ्कमा सबैभन्दा धेरै जिल्ला र शाखामा कार्यक्षेत्र भएको बैङ्क हुने सञ्चालकको दाबी छ।

साथै दुबै बैंक गाभिएपछि संस्थापक शेयरधनी सङ्ख्या ४२२, सर्वसाधारण शेयरधनी सङ्ख्या करिब २८ हजार तथा २०७५ असार मसान्तको विवरण बमोजिम निक्षेप २ अर्ब ४२ करोड र लगानीमा रहिरहेको कर्जा २ अर्ब २६ करोड भएको बैंक हुनेछ।

मर्जर कार्यको सम्पादनका लागि सप्तकोशीका सञ्चालक समितिका सदस्य बलराम बरालको संयोजकत्वमा ६ सदस्य रहेको संयुक्त मर्जर समिति गठन गरिएको छ। समितिमा सप्तकोशीका तर्फबाट यज्ञप्रसाद शर्मा र डाक्टर अर्जुन बराल तथा काबेलीका तर्फबाट जनार्दन घिमिरे, गणेशप्रसाद बराल र हेमराज सुवेदी सदस्य छन्।