इन्भेष्टमेन्ट बैंकबाट पैसा झिकेर कहाँ लगे अजय सुमार्गीले? इन्भेष्टमेन्टबाट ३ बैंकमा सरिसक्यो

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७५ पुष ३० गते ११:५९ | Jan 14, 2019
इन्भेष्टमेन्ट बैंकबाट पैसा झिकेर कहाँ लगे अजय सुमार्गीले? इन्भेष्टमेन्टबाट ३ बैंकमा सरिसक्यो


काठमाडौँ। पाँच बर्षदेखि रोकिराखेको पैसा झिक्न दिन सर्बोच्च अदालतले गत १० गते मंगलबार आदेश दिएपछि ब्यवसायी अजय सुमार्गी बिहीबारदेखि नै नेपाल इन्भेष्टमेन्ट बैंक धाउन थाले। 

Tata
GBIME
Nepal Life

सर्बोच्चको अल्‍पकालिन  अन्तरिम आदेश बोकेर आएका सुमार्गीलाई पैसा दिनै पर्ने वाध्यतामा बैंकको उच्च ब्यवस्थापन परेको थियो। सुमार्गीले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई लिएर राष्ट्र बैंकको कार्यालयमा पनि धाए।

अदालतको आदेश राष्ट्र बैंक पुगिसकेको थिएन। इन्भेष्टमेन्ट बैंक र राष्ट्र बैंकलाई विपक्षी बनाएर सुमार्गीले मुद्दा हालेका थिए। राष्ट्र बैंक पनि अन्यौलमै थियो।

'सुमार्गीजीले बैंकका सिइओलाई लिएर आउनु भएको थियो' दुबैसँग भेटेका राष्ट्र बैंकका एक अधिकारीले बिजमाण्डूसँग भने, 'पैसा चाँडो चाहियो कि चाहियो भनेर सुमार्गीजी दबाब दिइरहनु भएको थियो।'

सुमार्गीले पैसा नदिने भए, त्यसको कारण खुलाएर लिखितमा उत्तर दिन दबाब दिएको ती अधिकारीले बताए। अन्तत बैंकले ७८ करोड रुपैयाँ (६९९९९८९ अमेरिकी डलर) सुमार्गीलाई दिने निर्णय गर्यो। ७८ करोड रुपैयाँमध्ये २० करोड हाराहारी सुमार्गीले इन्भेष्टमेन्ट बैंकबाट लिएको ऋण तिर्न प्रयोग गरे। बैंक ब्यवस्थापनले बिजमाण्डूसँग ग्राहकको ब्यक्तिगत विवरण सार्बजनिक गर्न नमिल्ने जनाएको छ। 

कुल ७८ करोडमध्ये २० करोड हाराहारी इन्भेष्टमेन्ट बैंकलाई बुझाएपछि सुमार्गीले बाँकी रहेको ५८ करोड रुपैयाँ अन्य बैंकमा लगेको राष्ट्र बैंकका अधिकारीहरुले बताए।

सुमार्गीले पैसा झिकेर लगेपछि गत मंगलबार सर्बोच्चका प्रधान न्यायाधिससहितको संयुक्त इजालासले सुमार्गीको पैसा इन्भेष्टमेन्ट बैंकमै फर्काएर पुरानै अवस्थामा राख्न अर्को आदेश जारी गरिसकेको छ। आदेश पालना गर्दै राष्ट्र बैंकले आइतबार इन्भेष्टमेन्ट बैंकलाई पैसा फिर्ता ल्याउन निर्देशन दिएको छ।

न्यायाधिस दीपकराज जोशीको एकल इजलासले खुलाएको सुमार्गीको पैसा प्रधान न्यायाधिस राणा र न्यायाधिस डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले फिर्ता ल्याउन निर्देशन दिएको हो। सुमार्गीले मुक्तिश्री सिमेन्ट उद्योगको नाममा विदेशबाट पैसा ल्याएका थिए। यो पैसाको स्रोत नखुलेको भन्दै राष्ट्र बैंकले 'सम्पति सुद्धिकरण' अनुसार कारवाही हुनु पर्ने माग दावीसहित सर्बोच्चमा भ्याकेटमा गएको छ। 

जोशीले आदेश दिएको दुई दिनभित्र सुमार्गीले पैसा झिकेका थिए। राष्ट्र बैंक स्रोतका अनुसार, सुमार्गीले ७८ करोड रुपैयाँमध्ये २० करोड हाराहारी इन्भेष्टमेन्ट बैंककै ऋण तिर्न प्रयोग गरेका छन्। बाँकी ५८ करोड रुपैयाँ महालक्ष्मी विकास बैंक, नेपाल बंगलादेश बैंक र प्राइम बैंकमा जम्मा गरेका छन्। 

कानुन ब्यवसायीहरुका अनुसार, पैसा लगिसकेपछि पैसा खोल्ने पुरानो आदेश खारेज भएपनि अब सुमार्गीमाथि त्यो फिर्ता गर्नु पर्ने दायित्व सृजना भएको छ। 'नभए स्रोत नखुलेको पैसा राखेको अभियोगमा कारवाही हुन्छ' ती कानुन ब्यवसायीले भने। राष्ट्र बैंकले पनि सुमार्गीको पैसालाई स्रोत नखुलेका रुपमा ब्याख्या गरेको छ।

अदालतको आदेश पालना गर्नका लागि अब इन्भेष्टमेन्ट बैंकले आफ्नोबाट चेक काटिएर जुनजुन बैंकमा पैसा गएको छ, उनीहरुलाई पत्र लेखेर पैसा फिर्ता माग्नु पर्ने राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन्। 'हामीले पनि ट्र्याक गरिरहेका छौं। अब इन्भेष्टमेन्टले पनि आफ्नोबाट चेक काटिएर जुन बैंकमा पैसा गएको छ त्यहाँबाट फिर्ता माग्नु पर्छ' ती अधिकारीले भने, 'यो पैसा फिर्ता हुन्छ।'