यातायातका ५०% कर्मचारीमाथि भ्रष्टाचार मुद्दा, महानिर्देशक भन्छन्, ‘विभागले काम गर्न नसकेको हो’

बिजमाण्डू
२०७५ पुष २७ गते १४:२२ | Jan 11, 2019
यातायातका ५०% कर्मचारीमाथि भ्रष्टाचार मुद्दा, महानिर्देशक भन्छन्, ‘विभागले काम गर्न नसकेको हो’


काठमाडौं। यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले पचास प्रतिशतभन्दा बढी कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि यातायात व्यवस्था विभागको कामकार्वाही ठप्प हुन पुगेको खुलासा भएको छ। 

Tata
GBIME
Nepal Life

देशभरका यातायात व्यवस्था विभागको कार्यालयबाट अधिकृत र उपसचिवसहित ५० प्रतिशतभन्दा बढी कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा मुद्दा चलाएपछि कर्मचारीको अभावमा विभाग कामै गर्न नसक्ने अवस्था पुगेको उनले जानकारी दिए। 

शुक्रबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा ढकालले कर्मचारी नै नभएपछि विभागले काम गर्न नसकेको तर्क गरे। बैठकमा समितिका सदस्यहरुले विभागको काम कार्वाही प्रभावकारी हुन नसकेको भन्दै आलोचना गरेका थिए।

महानिर्देशक ढकालले विभाग मातहतका देशभरका कार्यालयहरुमा अधिकृत र उपसचिव जति सबै भ्रष्टाचारको मुद्दामा अख्तियारको मुद्दा खेपी रहेकाले काम गर्न अप्ठ्यारो भईरहेको स्पष्टिकरण दिए। उनले केन्द्रमा थोरै  कर्मचारी भएकाले अनियमितता गर्ने देशभरका कर्मचारीलाई निगरानी राख्ने अवस्था नरहेको पनि समितिलाई जानकारी गराए।

विभागले नेताहरुको सस्तो लोकप्रियताका कारण देशभरका यातायात कार्यालयबाट स्मार्ट लाईसेन्स वितरण गर्ने घोषणा गरेपनि त्यसका लागि आवश्यक स्रोत, साधन नहुँदा कार्य सम्पादन गर्न नसकिएको पनि स्पष्टिकरण दिएको छ। विभागका महानिर्देशक ढकालले दैनिक ७ हजार माग हुने तर चार वटा प्रिन्टरले १५ सय मात्रै स्मार्ट लाईसेन्ट प्रिन्ट गर्नु परेकाले पनि सो काममा समस्या भईरहेको पनि बताए।

उनले यो समस्या समाधानका लागि प्रदेशमै स्मार्ट कार्ड वितरण गर्ने व्यवस्था गरिएको उल्लेख गर्दै प्रिन्टरको व्यवस्था मिलाई दिन पनि समिति समक्ष आग्रह गरेका छन्। स्रोत, साधन नभएकै अवस्थामा नेताहरुले सस्तो लोकप्रियताको लागि स्मार्ट लाईसेन्सको व्यवस्था गरिदिँदा विभाग अप्ठयारोमा परेको महानिर्देशक ढकालको भनाई छ।

महानिर्देशक ढकालले प्रदेशबाटै स्मार्ट लाईसेन्स वितरणको काम सुरु गर्दा सहज हुने भएपनि त्यसका लागि बजेटको अभाव रहेको उल्लेख गरे।