महँगो ब्याजले  मध्यम वर्गीय परिवारको ‘घर सपना’ परपर, ८ प्रतिशतको ब्याज १४ पुग्यो

बिजमाण्डू
२०७५ पुष २७ गते ०९:१६ | Jan 11, 2019
महँगो ब्याजले  मध्यम वर्गीय परिवारको ‘घर सपना’ परपर, ८ प्रतिशतको ब्याज १४ पुग्यो

काठमाडौं। बैंकको ब्याज दर अस्वभाबिक रुमपा महँगो भएपछि ब्यक्तिगत प्रयोजनका लागि आवासीय ऋण लिनेको संख्या पनि घट्न थालेको छ। 

Tata
GBIME
Nepal Life

८/९ प्रतिशतमा 'होम लोन' सजिलै पाइन्थ्यो। अहिले १३/१४ प्रतिशतभन्दा तल पाउने अवस्था छैन। सर्वसाधारणलाई मर्का पर्ने गरी बैंकहरुले ब्याज बढाएपछि आफूसँग भएको थोरै पूँजी र थोरै ऋण थपेर घर बनाउन चाहने मध्यम वर्गीय निरुत्साहित भएको छ।

सर्वसाधारणको घर ऋणतर्फको बिकर्षणले यसका लागि आवश्यक पर्ने निर्माण सामाग्रीको समेत बिक्री घटेको छ। एक दुई बर्ष अगाडिको तुलनामा अहिले घर निर्माणका लागि लिइने ऋणको माग करिव ५० प्रतिशतले घटेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए। 

बाणिज्य बैंकहरुमा गत कात्तिकदेखि नै घर जग्गाको लागि ऋणको माग घट्दै आएको छ। बैंकहरुले कात्तिक महिनामा घर जग्गामा १८ अर्ब ७२ करोड रुपैयाँ ऋण लगानी गरेकोमा मंसिर महिनामा १.५७ प्रतिशतले घटेको छ। पुष महिनामा यो तथ्याङ्क अझै घट्ने बैंकहरुले जनाएका छन्।

सेञ्चुरी कमर्सियल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत जिवन भट्टराईले व्यक्तिगत घर निर्माणको लागि आह्वान भएको ऋण उपलब्ध गराउन कुनै समस्या नदेखिए पनि माग नै घटेको बताएका छन्। 

काठमाडौं लगायत शहरी क्षेत्रमा आफुसँग पैसा नभए पनि बैंकबाट ऋण लिएर घर निर्माण हुँदै आएकोमा पछिल्लो समय बैंकहरुले निरन्तर कर्जाको व्याजदर बढाउँदा घर निर्माण गर्न ऋण लिनेहरुको संख्या घटेको हो। ब्याजदर निरन्तर बढ्दा सर्वसाधारणले घर बनाउन केहि समयलार्इ पर्खिएको हुनसक्ने उनले बताए। 

ऋणको व्याजदर बढेकै छ त्यसमाथि सरकारले कित्ताकाट पनि रोकेको छ। मालपोत तथा नापीका कर्मचारीलाई पैसा खुवाउन सक्नेको मात्र कित्ताकाट भइरहेको छ। आमसर्वसाधारणले पैसा ख्वाउन सक्दैनन्, त्यसैले उनीहरु पछिल्लो समय जग्गा किनेर निरुत्साहित हुन थालेका छन्।

'कित्ताकाटले गर्दा घडेरी खरीद गर्न पाइरहेका छैनन्' भट्टराईले भने, 'यसको प्रभाव बैंकको ऋणमा पनि परेको छ।' 

सरकारले वर्षमा एक पटक मात्रै कित्ताकाट गर्न पाउने व्यवस्था गरेपनि सरकारी कर्मचारीलाई यो अतिरिक्त आम्दानी गर्ने बाटो भएको छ। पैसा ख्वाउन सक्नेको जुनसुकै बेला कित्ताकाट हुन्छ। डेभलपरले प्लटिङ गरेर घर बनाउँदै बिक्री गर्दै आएकोमा ऋण महँगो भएपछि उनीहरुलाई पनि अप्ठेरो पर्न थालेको छ।
 
निर्माण व्यावसायीले यसअघि काम गरेका परियोजनाको पैसा नपाउँदा उनीहरु निष्कृय छन्। साथै नयाँ आयोजना सुरु नहुँदा सरकारी ढुकुटीबाट पैसा बाहिर आउने अवस्था छैन, यसले गर्दा बैंकहरुमा तरलताको समस्या बढ्दै गएको शेरचनले बताए। 

चालु आर्थिक वर्षमा काम गर्नु पर्ने आयोजनाको टेण्डर प्रकृया अहिलेसम्म पनि सुरु नहुँदा विकास निर्माणको कार्यले गति लिन सकेको छैन। यि सबै क्षेत्रको असर बैंकिङ क्षेत्रमा देखिएको बैंकरहरु बताउँछन्।  

व्यावसायीका अनुसार असारदेखि मंसिरसम्म सिमेन्ट र डन्डिका लागि अफ सिजन हो। यस अवधिमा सिमेन्ट र डन्डिको मूल्य घट्छ। तर पुष लागेसँगै माग बढ्ने गरेकोमा यस पटक भने सिजनमा नै अफ सिजन जस्तो देखिएको छ।