संसदमा प्रधानमन्त्री ओलीले उल्लेख गरेका तथ्यांकको ‘फ्याक्ट चेक’: सबै तथ्यांक गलत

बिजमाण्डू
२०७५ पुष २२ गते १७:०७ | Jan 6, 2019
संसदमा प्रधानमन्त्री ओलीले उल्लेख गरेका तथ्यांकको ‘फ्याक्ट चेक’: सबै तथ्यांक गलत

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको चौतर्फी आक्रमणका बीच पनि चालू आर्थिक बर्षको पाँच महिनाको आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको दाबी गरे।

Tata
GBIME
Nepal Life

उनले प्रतिनिधिसभाको बैठकमा तथ्यांकहरुसमेत उल्लेख गरेर आर्थिक सूचक राम्रो भएको दाबी गरेका थिए।

यो पनि पढ्नुस्: दुई तिहाइको सर्वशक्तिमान सरकारकै पालामा अर्थतन्त्र मन्दीमा, भूक्तानी चक्र नै बिग्रियो

तर प्रधानमन्त्रीले जुन तथ्यांकहरुलाई उल्लेख गरेर अर्थतन्त्र राम्रो भनेका छन्, ती सबै तथ्यांक गलत छन्। उनले उल्लेख गरेको तथ्यांकमध्ये राजस्व संकलनको तथ्यांक मात्र सही छ। उनले ३२ प्रतिशतले राजस्व संकलन बढेको जनाएका थिए।

यो पनि पढ्नुस्केपी ओली सरकार आएपछि विदेशी लगानी झन् घट्यो

त्यसपछि उनले उल्लेख गरेका सबै तथ्यांक गलत छन् र अर्थतन्त्रको वास्तविक अवस्थालाई गलत रुपमा ब्याख्या गरेका छन्। प्रधानमन्त्रीले पूँजीगत खर्च २५ दशमलव तीन प्रतिशतले वृद्धि भएको बताएका छन्। विकास खर्चको हिसाब राख्ने आफ्नै अर्थमन्त्री डा. युवराज खतिवडा अन्तर्गतको महालेखा नियन्त्रकको कार्यालयले हिजोसम्मको खर्च निकै कम भएको देखाएको छ। तथ्यांक अनुसार विकास खर्च जम्मा १५.४३ प्रतिशत मात्र भएको छ।

यो पनि पढ्नुस्: विकास खर्चमा सुधार छैन, बैंकमा साढे ४८ अर्ब

मूल्य वृद्धि दरमा पनि प्रधानमन्त्रीले ढाँटेका छन्। उनले संसदमार्फत पुरै देशलाई नै ढाँटेका हुन्। मूल्य वृद्धि दर ३.७ प्रतिशत मात्र रहेको भनेर संसदमा भाषण गरे। तर मूल्य वृद्धिको हिसाबकिताव राख्ने राष्ट्र बैंकको तथ्यांकमा ४.२ प्रतिशतले भाउ बढेको उल्लेख छ। 

उनले व्यापारघाटा एक दशमलव शून्य पाँच प्रतिशत घटेको पनि जानकारी गराएका छन्। तर व्यापार घाटा कम भएकै छैन। करिव ३८ प्रतिशतले बढेर ४५४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। यो राष्ट्र बैंकको तथ्यांक हो।

आर्थिक सूचकहरु राम्रो भएको गलत तथ्यांकहरु प्रस्तुत गरेका प्रधानमन्त्रीले ५७ अर्ब रुपैयाँको शोधनान्तर घाटालाई लुकाएका छन्। ओलीले अर्थतन्त्र राम्रो छ भनिरहँदा चालु खाता घाटा बढेर ८८ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।

सामान आयात गर्नका लागि आवश्यक पर्ने विदेशी मुद्राको स्टकसमेत घट्न थालेको छ। डलरको स्टक साढे ६ प्रतिशतले घटेर ९४३ करोडमा समेटिएको छ। 

विपक्षीहरुलाई आफूले राम्रो गरिरहेको प्रधानमन्त्री ओलीले बताइरहँदा ब्यवसायीहरुले बजारमा मन्दी छाएको बताउन थालेका छन्। सरकारले राजस्व उठाएर आफ्नो ढुकुटीमा थन्क्याउँदा विकास खर्च प्रभावित भएको छ, जसले गर्दा बजारमा 'क्यासफ्लो' नै रोकिएको छ।

विकास खर्च नभएकै कारण बैंकको ब्याज उच्च दरले बढेको छ। ओली प्रधानमन्त्री भएपछि विश्व बैंकले सार्बजनिक गरेको 'डुइङ बिजिनेस रिपोर्ट' मा नेपालको अवस्था खस्किएको देखाएको छ। शेयर बजार घट्ने क्रम थामिएको छैन भने प्रत्यक्ष वैदेशिक लगानी समेत आधाले घटेको छ।

उद्योग विभागका अनुसार गत वर्ष भन्दा झण्डै आधा कम विदेशी लगानी भित्रिएको छ। विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा ७ अर्ब ४२ करोड रुपैयाँको मात्रै कुल विदेशी लगानीको प्रतिवद्धता आएको छ। गत वर्षको सोही अवधिमा १३ अर्ब १३ करोड रुपैयाँ बराबरको कुल विदेशी लगानीको प्रतिवद्धता आएको थियो। प्रधानमन्त्रीले भने २५ प्रतिशतले लगानी बढेको बताएका थिए।