जुनियर निर्देशकलाई दूरसञ्चार प्राधिकरणको अध्यक्ष बनाउन सिनियरलाई मन्त्रालय तानियो

बिजमाण्डू
२०७५ पुष १६ गते १७:०५ | Dec 31, 2018
जुनियर निर्देशकलाई दूरसञ्चार प्राधिकरणको अध्यक्ष बनाउन सिनियरलाई मन्त्रालय तानियो

काठमाडौं। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले दूरसञ्चार प्राधिकरणका निर्देशक पुरुषोत्तम खनाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने भएको छ। प्राधिकरणका अध्यक्ष दिगम्बर झाले गत बुधबार राजीनामा दिएपछि उक्त पद खाली छ। 

Tata
GBIME
Nepal Life

सञ्चार मन्त्री गोकुल बाँस्कोटाले आफू अनुकुलका व्यक्तिलाई प्राधिकरणको नेतृत्व दिनका लागि वरिष्ठ निर्देशक आनन्दराज खनाललाई काजमा मन्त्रालय तानिसकेका छन्। उनलाई मन्त्रालय बोलाउने सचिवस्तरीय निर्णयको पत्र आनन्दराज खनालको नाममा प्राधिकरणको कार्यलय कमलादीमा पठाएको छ। तर, खनाल भने काठमाडौं बाहिर रहेकाले पत्र बुझिसकेका छैनन्। 

प्राधिकरणमा कार्यवाहक अध्यक्ष रहने कानुनी व्यवस्था मिलाउनका लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले दूरसञ्चार नियमावली संशोधनको राय कानुन मन्त्रालयसँग मागेको थियो। 

कानुन मन्त्रालयले सोमबार (आज) नै सकरात्मक राय सञ्चार मन्त्रालयमा पठाइसकेको छ। आजै बस्ने मन्त्रीपरिषद्को बैठकबाट पुरुषोत्तम खनाललाई प्राधिकरणको कार्यवाहक अध्यक्ष नियुक्त गराउने सञ्चार मन्त्रालयको तयारी छ। 

प्राधिकरणमा पुरुषोत्तम खनालभन्दा आनन्दराज खनाल वरिष्ठ हुन्। उनलाई पन्छाएपछि आफू अनुकुलका पुरुषोत्तम खनाललाई जिम्मेवारी दिन सजिलो हुने भएकाले मन्त्री बाँस्कोटाकै निर्देशनमा आनन्दराज खनाललाई मन्त्रालय तानिएको मन्त्रालय स्रोतले बतायो।

करीब ६ महिनादेखि नेपाल टेलिकमको समेत प्रबन्ध निर्देशक नियुक्त गर्न नसकेको मन्त्रालयले दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणमा पनि कामचलाउ नेतृत्व राखेर संस्थालाई आफू अनुकुल चलाउने तयारी गरिरहेको स्रोतहरुको दावी छ। 

यसअघि सरकारले प्राधिकरणको अध्यक्ष पदको आवदेन माग गर्दा आनन्दराज र पुरुषोत्तम खनाल दुवैले दावी प्रस्तुत गरेका थिए। पुरुषोत्तम खनाललाई भने छनौट समितिले उत्कृष्ट तीन जनाको सूचीमा समावेश गरी सिफासिर गरेको थियो। त्यही सिफारिसको आधारमा गत भदौ २० गते मन्त्रीपरिषदले दिगम्बर झालाई प्राधिकरणको अध्यक्ष नियुक्त गरेको थियो। उनको नियुक्तीको नेकपाभित्रै विरोध भएपछि सञ्चारमन्त्री बाँस्कोटाले झालाई राजीनामा दिन लगाएका थिए।

स्रोतहरुका अनुसार, झालाई नियुक्ति दिँदा नै उनीसँग राजिनामाको पत्र पनि मागिएको थियो। त्यसबेला मिति उल्लेख नगरी झाले राजिनामा बुझाएका थिए। नेकपाको स्थायि समिति बैठकमा ४० जना केन्द्रीय सदस्यले झाको बिरुद्ध दुई अध्यक्षलाई ज्ञापनपत्र बुझाएका थिए। त्यसपछि झाले पहिले नै बुझाएको राजिनामापमत्रमा बुधबारको मिति राखेर स्वीकृत गरिएको थियो।