ठूला बैंक पनि ब्याज प्रतिस्पर्धामा उत्रिए, नबिल र हिमालयनको साढे १३ प्रतिशत पुग्यो

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७५ पुष ३ गते १०:५४ | Dec 18, 2018
ठूला बैंक पनि ब्याज प्रतिस्पर्धामा उत्रिए, नबिल र हिमालयनको साढे १३ प्रतिशत पुग्यो


काठमाडौं। साना बैंकहरुले निक्षेप खोस्न थालेपछि 'बिग थ्रि' बैंक पनि प्रतिस्पर्धामा उत्रिएका छन्। हिमालयन र नबिल बैंकले निक्षेपको ब्याज एकै पटक ३ प्रतिशत बिन्दुले बढाएर १३ प्रतिशत पुर्याइसकेका छन्।

Tata
GBIME
Nepal Life

नेपाल इन्भेष्टमेन्ट बैंकले आज निर्णय गरेर भोलीबाट बढाउन तयारी गरेको स्रोतले बतायो। प्रकाशित ब्याज १३ प्रतिशत पुग्नुको अर्थ बैंकहरुले साढे १३ प्रतिशतसम्म ब्याज दिन पाउनु हो।

बैंकर्स संघले तीन साताअघि पुरानो सहमति खारेज गर्दै ब्यक्तिगत निक्षेपको ब्याज तोक्न बैंकहरुलाई खुला गरिदिएपछि साना बैंकहरुले प्रतिस्पर्धा सुरु गरेका थिए। सुरुवात जनता बैंकबाट भएको थियो।

बैंकले १२ प्रतिशत ब्याज दिने सुचना निकालेपछि माछापुच्छ्रे र कुमारी बैंकले ब्याज बढाएका थिए। त्यसपछि संघको साधारणसभामा अर्थमन्त्री डा. युवराज खतिवडा र गभर्नर डा. चिरञ्जिबी नेपालले ब्याज बढाउनु गलत भएको बताएका थिए।

भोलीपल्टै सेञ्चुरी, सिभिल र मेगा बैंकले ऋणको ब्याज बढाएका थिए। नबिल र हिमालयनसहित १३ वटा बैंकले मंगलबारसम्म निक्षेपको ब्याज बढाएका छन्। साना बैंकले ब्याज बढाएर ठूलाको निक्षेप खोस्दिन थालेपछि ब्याज दरमा प्रतिस्पर्धा फेरि सुरु भएको हो।

'नयाँ बैंकहरुले ब्याज बढाएर १३ प्रतिशत पुर्याएपछि पनि हामीले केही समय धैर्य गर्यौं,' नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, 'हामीले धैर्यता गरेको समयमा हाम्रै निक्षेप खोसिन थाल्यो। त्यसलाई रोक्न पनि ब्याज बढाउन हामी बाध्य भयौं।'

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाको तर्क पनि शाहको भन्दा फरक छैन। उनले पनि आफ्नो निक्षेप खोसिएपछि ब्याज बढाउनु परेको बताए।

'साना बैंकले जे मन लाग्यो त्यही गरे। हामी १० प्रतिशत मात्रै ब्याज दिने भनेर बसिरह्यौं,' उनले भने, 'तर यो बिचमा बिस्तारै हेर्दा हाम्रो निक्षेप अरु बैंकमा जान थाल्यो।' उनले हिमालयन बैंकले ब्याज बढाएर मनपरी गरिरहेका साना बैंकलाई चेतावनी दिएको बताए।


नबिल, नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको निक्षेप तुलना

ठूला बैंकले पनि निक्षेपको ब्याज बढाउन थालेपछि राष्ट्र बैंकले पनि चासो राखेको छ। राष्ट्र बैंकका अधिकारीहरुले सरकारी कार्यदलको प्रतिवेदन कार्यान्वयनसम्म कुर्न बैंकका प्रमुखहरुलाई सुझाब दिएका थिए।

'ब्याज बढाएर नयाँ निक्षेप आउने होइन। यताको उता सर्ने मात्र हो,' राणाले भने, 'ठूला बैंकले ब्याज बढाउँदा के असर पर्छ भनेर बजारलाई सन्देश दिन पनि १३ प्रतिशत पुर्याउनु परेको हो।' उनले हिमालयन बैंकसँग लामो समय बैंकिङ गरेका ग्राहक पनि ठूलो अन्तरले ब्याज फरक पर्न थालेपछि अरुतिर जाने अवस्था आएको भन्दै त्यसलाई रोक्न बृद्धि गर्नु परेको बताए। 

'प्रकाशित रुपमा १३ प्रतिशत ब्याज पुगेकै थियो। भित्रभित्रै संस्थागतलाई पनि १३ प्रतिशत दिएको थाहा पायौं' शाहले भने, 'निक्षेप खोस्ने प्रतिस्पर्धा जस्तो चल्यो। त्यसबाट जोगिन पनि हामीले १३ पुर्याउनु परेको हो।'

उनका अनुसार, बैंकहरु ब्याज बृद्धिको प्रतिस्पर्धामा लागेपछि १० लाखमाथिका निक्षेपहरु नबिलमा नवीकरण हुन छाडेर अरु बैंकमा सर्यो। एक सातामै करोडौं रुपैयाँ अरुमा गयो। 

'गत बर्ष पनि हामी संयमित भएर बस्दा १२ अर्ब रुपैयाँको बचत खाता अरुतिर सरेको थियो' उनले भने, 'सँधै धैर्य गर्न सकिँदैन। प्रतिस्पर्धा गर्नका लागिभन्दा पनि भएको निक्षेप जोगाउनलाई ब्याज बढाउनु परेको हो।'

उनका अनुसार, एकातिर निक्षेप बाहिरिने र पुस मसान्तका कारण ठूलो रकम राजश्वका लागि झिकिने हुँदा नबिल बैंक साँच्चै ८० प्रतिशतको कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) ब्यिवस्थापन गर्न नसक्ने अवस्थामा पुग्नसक्छ। 'नबिलजस्तो बैंकमा त्यो अवस्था आउनु भनेको त अर्थतन्त्रकै लागि पनि राम्रो कुरा होइन' उनले भने, 'त्यही भएर ब्याज नबढाइ सुख पाइएन।'

'बिग थ्रि' बैंकले ब्याजमा प्रतिस्पर्धा गर्न थालेपछि साना बैंकहरुलाई फेरि अप्ठेरो पर्ने भएको छ। विगतमा सबैको समान ब्याज हुँदा आफ्नो निक्षेप ठूला बैंकमा सरेको आरोप साना बैंकले लगाउँदै आएका थिए। अहिले ठूला बैंकले नै निक्षेपको ब्याज साढे १३ प्रतिशत पुर्याएका कारण फेरि साना बैंकको निक्षेप खोसिने बैंकरको बुझाइ छ।

'बैंकर्स संघको बैठकमा अधिकांस बैंकहरु निक्षेपमा प्रतिस्पर्धा नगरौं भन्छन्। थप ऋण बिस्तार पनि नगरौं भनेर ठूलो आवाजमा बोल्छन्' एक बैंकरले भने, 'ब्यवहार भने ठ्याक्कै उल्टो छ। तिनीहरु नै ऋण पनि धेरै बढाउँछन् र निक्षेपको ब्याज पनि बढाउँछन्।' बैंकरहरु आफै नसुध्रिएसम्म ब्याजमा प्रतिस्पर्धा चलिरहने ती बैंकरले बताए। 

विगतमा ब्याज धेरै बढाएको आरोप खेप्ने गरेको एनआइसी एसिया भने यसपाली चुपचाप देखिएको छ। एनआइसीलगायत धेरै बैंकले ब्याज बढाएका छैनन्।

'हामी सरकारी कार्यदलको प्रतिवेदन कुरिरहेका छौं। मलाई लाग्छ ब्याज बढेर जाने अवस्था रहँदैन' एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले भने, 'कार्यदलको प्रतिवेदनपछि केही न केही समाधान निष्किन्छ।'