शेयरका लगानीकर्तालाई १० अर्ब तत्काल उपलब्ध गराउने गृहकार्यमा सरकार, यस्तो छ तयारी

बिजमाण्डू
२०७५ मंसिर २७ गते १३:३३ | Dec 13, 2018
शेयरका लगानीकर्तालाई १० अर्ब तत्काल उपलब्ध गराउने गृहकार्यमा सरकार, यस्तो छ तयारी

काठमाडौं। शेयर बजारका लगानीकर्तालाई १० अर्ब रुपैयाँ हाराहारी तत्कालै उपलब्ध गराउने गरी सरकारले पहल थालेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले गठन गरेको मुद्रा तथा पूँजी बजार कार्यदलले ब्रोकरमार्फत 'मार्जिन लेण्डिङ' उपलब्ध गराउन सिफारिस गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

अहिले धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले एकअर्कालाई औंल्याएर मार्जिन लेण्डिङको काम अगाडि बढ्न सकेको छैन। धितोपत्र बोर्ड र राष्ट्र बैंक दुबै निकाय आबद्ध भएको समितिले तत्कालै मार्जिन लेण्डिङ दिनका लागि सिफारिस गर्ने छ।

स्रोतका अनुसार ५० वटा शेयर ब्रोकरबाट पूँजीको दोब्बरसम्म ऋण दिन पाइने छ। यसो हुँदा करिव १० अर्ब रुपैयाँ हाराहारी शेयर बजारका लगानीकर्ताले पाउने छन्। अहिले ब्रोकरहरुसँग औषत १० करोड रुपैयाँ पूँजी छ। यसको दोब्बर ऋण दिन पाइन्छ।

ब्याज दर भने धितोपत्र बोर्डले तोक्ने छ। बजारको ब्याज भन्दा केही सस्तो पर्ने गरी ब्याज निर्धारण हुने भएकाले लगानीकर्तालाई ऋण लिएर कारोबार गर्न सहज हुने छ। कार्यदलले शुक्रबारसम्म प्रतिबेदन फाइनल गरेर आइतबार अर्थमन्त्री डा. युवराज खतिवडालाई बुझाउँदैछ।