निजगढ विमानस्थल निर्माणका लागि आशयपत्र पुसमै मागिदै, ६ महिनाभित्रै टाँगिया वस्ती सारिने

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ मंसिर २७ गते १३:३२ | Dec 13, 2018
निजगढ विमानस्थल निर्माणका लागि आशयपत्र पुसमै मागिदै, ६ महिनाभित्रै टाँगिया वस्ती सारिने


काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पुसको पहिलो साता ईच्छुक समूहबाट आशयपत्र आह्वान (एक्सप्रेसन अफ इन्ट्रेस्ट) माग्ने भएको छ।

Tata
GBIME
Nepal Life

अन्तर्राष्ट्रिय  कम्पनीलाई  र्इच्छुक बोलपत्र आह्वान गर्नका लागि प्राधिकरण अहिले डकुमेन्ट तयार पारिरहेको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले प्राधिकरणलाई मंसीर महिना भित्रै आशयपत्र माग्न निर्देशन दिएका थिए।आशयपत्र माग्नुअघि विमानस्थल निर्माणको खाका तयार पार्ने क्रममा थप समय लागेको महानिर्देशक गौतमले जानकारी दिए। 

'हामीले सम्भावित इच्छुक कम्पनीको पनि अध्ययन गरिरहेका छौँ। निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) अन्तर्गत विमानस्थल निर्माण गर्दा शर्तका बारेमा राम्रोसँग अध्ययन गर्नुपर्छ। हामीले एक्स्प्रेसन अफ इन्ट्रेस्ट जारी गर्दा विमानस्थलको सम्पूर्णं ढाँचा बुझाउनुपर्ने हुन्छ।' गौतमले भने।

अमेरिकी कम्पनी पी थ्री इन्टरनेशनल, विस्तृत संभाव्यता अध्ययन (डिएफएस) निर्माता ल्याण्डमार्क वर्ल्डवाइड (एलएमएडब्लु) कोरिया र अर्को एक भारतीय कम्पनीले विमानस्थल निर्माणमा चासो देखाएका हुन्। पि थ्रीले विश्व बैंकको अन्तर्राष्ट्रिय वित्त निगम(आइएफसी)समेतको संलग्नतामा लगानी व्यवस्थापन गरी आयोजना अघि बढाउने प्रस्ताव गरेको छ।

टाँगिया वस्ती स्थानान्तरण सुरु
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण टाँगिया वस्ती स्थानान्तरणका लागि आवश्यक जग्गा भेटिएको छ। विमानस्थल परिसरमा रहेको टाँगिया वस्ती स्थान्तरणका लागि प्राधिकरणले  सिमरा र कोल्बीमा रहेको सरकारी जग्गा छनोट गरिसकेको छ। विमानस्थलको मध्यभागमा अवस्थित टाँगिया वस्ती स्थान्तरण गरिएपछि निर्माण कार्य  अघि बढ्ने विमानस्थलका आयोजना प्रमुख ओमनारायण शर्माले बताए।

उनका अनुसार स्थानीय वासी र नगरपालिका त्यो क्षेत्रमा स्थानान्तरण गर्न सकारात्मक छन्। टाँगिया वस्ती वरपर रुख भन्दा बढी साना वुट्यान भएकाले कम रुख काटेपनि हुने उनले बताए। टाँगियावस्तीमा १ हजार ४ सय ७६ घरघुरी छन्। तामाङ, मगर, बाहुन, दमाई, कामी, माझी, कोइरी तथा जनजाति गरी १ हजार ४ सय ७६ घरधुरी छ।

टाँगिया वस्तीको बीचमै धावनमार्ग निर्माण हुने भएकाले अन्यत्र सार्नुपर्ने अवस्था आएको हो। टाँगिया वस्ती स्थानान्तरणको मुद्दा सल्टाउन पर्यटनमन्त्री रविन्द्र अधिकारीले समेत अग्रसरता लिएका छन्। उनले कोल्बी नगरपालिका, निजगढ नगरपालिका, स्थानीय वासिन्दासँग पनि छलफल गरिसकेका छन्।शर्माका अनुसार ६ महिनाभित्र टाँगिया वस्ती स्थानान्तरण गरिसकिनेछ।