अर्थमन्त्रीको कार्यदलमा बरियता विवाद, डेपुटी गभर्नरभन्दा तल राखेको भन्दै कार्की बैठकमै गएनन्

बिजमाण्डू
२०७५ मंसिर २६ गते १२:५९ | Dec 12, 2018
अर्थमन्त्रीको कार्यदलमा बरियता विवाद, डेपुटी गभर्नरभन्दा तल राखेको भन्दै कार्की बैठकमै गएनन्

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले गठन गरेको कार्यदलमा बरियता नमिलेको भन्दै धितोपत्र बोर्डका अध्यक्ष अनुपस्थित भएका छन्।

Tata
GBIME
Nepal Life

अर्थमन्त्रीले राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा मुद्रा र पूँजी बजारको अध्ययन गरेर सुझाब दिन बिहीबार समिति गठन गरेका थिए। समितिको बैठक आइतबारबाट बस्न सुरु भएको छ।

बैठकमा बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की अनुपस्थित भएका हुन्। डेपुटी गभर्नरभन्दा बोर्डको अध्यक्षको बरियता माथि हुने भन्दै कार्कीले बैठकमा अनुपस्थित भएका हुन्। बोर्ड अध्यक्षको बरियता सचिब सरह हुने र डेपुटी गभर्नरको सहसचिब सरह हुने कार्कीतर्फको तर्क छ। 

विगतमा पनि बरियताको कुरा उठेको थियो। अहिलेका गभर्नर डा. चिरञ्जिबी नेपाल वोर्डको अध्यक्ष हुँदा राष्ट्र बैंकको कामु गभर्नरमा कृष्णबहादुर मानन्धर थिए। शेयर बजारलगायत बिभिन्न बिषयमा राष्ट्र बैंकसँग कुराकानी गर्नु परे बोर्डको अध्यक्षका रुपमा नेपालले मानन्धरलाई आफ्नै कार्यलयमा डाँक्थे।

सेक्युरिटी एण्ड बोर्ड अफ इन्डिया (सेबी) को सञ्चालकमा रिजर्भ बैंक अफ इन्डियाको डेपुटी गभर्नर सदस्य हुने प्रावधान छ। श्रीलङ्काको एसइसी (सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसन अफ श्रीलङ्का) मा पनि केन्द्रीय बैंकका डेपुटी गभर्नर सदस्य हुन्छन्। यस हिसाबले पनि डेपुटी गभर्नरभन्दा बरियतामा आफूमाथि भएको तर्क कार्कीको हो।

नेपाल राष्ट्र बैंकले भने बोर्डको सञ्चालकमा कार्यकारी निर्देशकलाई पठाउने गरेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तथा बित्तीय स्थायित्वका लागि नियामकीय भूमिका खेल्छ भने बोर्ड पूँजी बजारको मात्र नियामक निकाय हो। 

अर्थमन्त्री खतिवडाले डेपुटी गभर्नर श्रेष्ठको संयोजकत्वमा बोर्डका अध्यक्ष कार्की, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना, इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल र मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीको कार्यदल बनाएका छन्।

कार्यदलको बैठक आइतबारबाट बसे पनि कार्की अनुपस्थित छन्। बाँकी सदस्यहरु मात्र बैठकमा सहभागी भइरहेका छन्। अहिलेसम्म तीन वटा बैठक बसिसकेको छ।