भारतीय गभर्नरको राजीनामाको असर: नेपाली रुपैयाँ १ रुपैयाँ ८६ पैसाले कमजोर, अझै घट्नसक्ने

बिजमाण्डू
२०७५ मंसिर २५ गते १४:३५ | Dec 11, 2018
भारतीय गभर्नरको राजीनामाको असर: नेपाली रुपैयाँ १ रुपैयाँ ८६ पैसाले कमजोर, अझै घट्नसक्ने

काठमाडौं। भारतीय केन्द्रीय बैंकका गभर्नर उर्जित पटेलले राजीनामा गरेपछि त्यसको असर नेपाली रुपैयाँमा देखिएको छ। नेपाली रुपैयाँ एकै दिन एक रुपैयाँ ८६ पैसा सस्तिएको छ।

Tata
GBIME
Nepal Life

सोमबार एक अमेरिकी डलरको मूल्य ११३ रुपैयाँ ५९ पैसा थियो। राजीनामा सार्बजनिक भएपछि डलरको भाउ बढेर ११४ रुपैयाँ ४५ पैसा पुगेको थियो। अहिले डलरको भाउ ११५ रुपैयाँ ४५ पैसा नाघिसकेको छ।

भारतीय मुद्रासँग नेपाली रुपैयाँको स्थिर बिनिमय दर रहेका कारण डलरसँग भारु तलमाथि हुँदा नेपाली रुपैयाँमा प्रत्यक्ष असर पर्छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार, गभर्नरको नयाँ नियुक्तिअघिसम्म डलरको भाउ अझै बढ्ने छ।

पटेलको राजीनामाले भारतीय शेयर बजार नराम्ररी प्रभावित भएको छ। मंगलबार बजार खुल्ने बित्तिकै सेन्सेक्स ३०० अंकले झरेको छ भने निफ्टी ९० अंक तल आएको छ। पाँच राज्यमा भएको चुनावको नतिजाले भारतीय जनता पार्टीको कमजोर उपस्थिति देखिएपछि बजार सम्हालिएको छ।

विश्लेषकहरुका अनुसार, पटेलको राजीनामापछि भारतीइ अर्थतन्त्रमा समस्या आउन सक्छ। उनीहरुले राजीनामाको समयलाई लिएर प्रश्न उठाइरहेका छन्। पटेले पाँच राज्यको चुनावी नतिजा आउने एक दिनअघि राजीनामा दिएका छन् भने केन्द्रीय चुनाव आउन केही महिना मात्र बाँकी छ।