दोहोरो करको चेपुवामा उद्योग, गाउँपालिकाले दोहोरो कर लिएको भन्दै व्यापार संघद्धारा मुद्दा दायर

बिजमाण्डू
२०७५ मंसिर २५ गते ११:२० | Dec 11, 2018
दोहोरो करको चेपुवामा उद्योग, गाउँपालिकाले दोहोरो कर लिएको भन्दै व्यापार संघद्धारा मुद्दा दायर


काठमाडौं। मोरङ व्यापार संघले मोरङको बुढीगङ्गा गाउँपालिकाले त्यहाँ रहेका उद्योगलाई विभिन्न शीर्षकमा लगाएको करविरूद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको छ ।

Tata
GBIME
Nepal Life

व्यापार संघले सोमबार उच्च अदालतमा बुढीगङ्गा गापाले संविधानविपरीत दोहोरो कर लिएको भन्दै मुद्दा दायर गरेको हो ।संघका अध्यक्ष पवनकुमार शारडाका अनुसार बुढीगङ्गाले त्यहाँका उद्योगमा यस आर्थिक वर्षदेखि लागु हुने गरी विभिन्न शीर्षकमा अत्यधिक मात्रामा छुट्टै व्यवसाय कर लगाएको छ । जसअनुसार ठूला उद्योगलाई ५ लाख, मझौला उद्योगलाई ३ लाख र साना उद्योगलाई १ लाख कर कायम गरेको छ ।

साथै घर जग्गा करअन्तर्गत उद्योग भवनसमेतको समेत कर दस्तुर लगाइएको छ । रिट निवेदनमा ‘उद्योगहरूले धेरै अगाडिदेखि करसमेत बुझाई कारोबार गर्दै आएकोमा पुनः पटके सवारी कर, विदेशी सवारी साधनमा लाग्ने दस्तुर र कवाडी कर भनी उद्योगका लागि आउने सवारी तथा कवाडीका सामाग्रीमा दोहोरो कर उठाउन आह्वान गरिएको बोलपत्र नै गैरकानुनी’ रहेको दाबी गरिएको छ ।

पटक–पटक दोहोरो कर लगाउँदा उद्योगी–व्यवसायीको मनोबल खस्कने र उद्योग व्यवसाय नै धराशायी हुनसक्ने निवेदनमा  उल्लेखित छ ।सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले एउटै वस्तुमा पटक पटक कानुन नै नबनाई दोहोरो–तेहरो पाराले कर दस्तुर लिनु नेपालको संविधानविपरीत रहेको संघको जिकिर छ ।

बुढीगङ्गा गाउँपालिकाले कार्यपालिकाको बैठकबाट दररेट पारित गरी फलाममा प्रति केजी २ रुपैयाँ, पित्तल, तामा, फलाम, जिङ्कलगायतमा प्रति केजी २.५० र  काम नलाग्ने मेशिनरी औजारमा प्रति केजी २ रुपैयाँका दरले लगाएको करले उद्योग व्यवसायको लागतमा वृद्धि भएको अध्यक्ष शारडाले बताए ।‘हामीले गाउँपालिका क्षेत्रभित्र पटके सवारी कर, कवाडी तथा विदेशी सवारी साधनमा दस्तुर नलगाउन पटकपटक अनुरोध र ध्यानाकर्षण गरेका हौँ’, पवनको भनाइ थियो, ‘तर गाउँपालिकाबाट कुनै सुनवाइ नभएकाले कानुनी गुहार माग्न अदालत पुगेका हौँ ।’