गुड टाइम्स बिजय माल्याको सुरु भयो ‘ब्याड टाइम्स’, बेलायती अदालतले सुपुर्दगी गर्न दियो स्वीकृति

बिजमाण्डू
२०७५ मंसिर २४ गते २०:२८ | Dec 10, 2018
गुड टाइम्स बिजय माल्याको सुरु भयो ‘ब्याड टाइम्स’, बेलायती अदालतले सुपुर्दगी गर्न दियो स्वीकृति

मुम्बइ। भारतीय बैंकको करिव ९ हजार करोड भारु ऋण खाएर भागेका उद्यमी बिजय माल्याको बिरुद्ध बेलायतको एक अदालतले फैसला दिएको छ। माल्यालाई भारत सुपुर्दगी गर्न अदालतले हरियो झण्डा देखाएको हो।

Tata
GBIME
Nepal Life

अदालतमा उनीमाथि बिजय माल्यामाथि ठगी गरेको, षड्यन्त्र रचेको र सम्पति सुद्धीकरणको आरोप लगाइएको थियो।

भारतीय जाँच एजेन्सी सिबिआइ अदातलको फैसलाबाट खुसी भएको छ। उसले बेलायति फैसला स्वागत योग्य भनेर प्रतिकृया दिएको छ। सिबिआइका प्रबक्ताले भने, 'हामी चाँडै उनलाई यहाँ ल्याएर उनीबाट सृजित समस्याहरु समाधान गर्न चाहन्छौ। उनी बढिमा २० दिनभित्र भारत आइसक्छन्।'

कयौं बैंकहरुको ऋण लिएर भारतबाटै फरार भएका उद्यमी बिजय माल्याले आफू बैंकको ऋण भुक्तान गर्न तयार रहेको बताएका थिए। उनले पाँच दिनअघि ट्वीट गर्दै सबै बैंकको ऋण तिर्न तयार रहेको बताएका थिए।

'म बैंकको सबै ऋण तिर्न तयार छु, तर ब्याज भने तिर्दिन' उनले भनेका थिए। उनले आफूलाई मिडिया र नेताहरुले अपराधि बनाएको बताएका थिए। 'म अपराधि होइन, तर भारतमा मलाई अपराधि बनाइएको छ' उनले भनेका थिए।

यस्तो छ माल्याको कथा
विजय माल्या जसलाई दुनियाँले 'किंग अफ गुड टाइम्स' भनेर चिन्छ। उनको अहिले १७ बैंकको नौं हजार करोड भारु नतिरेपछि 'ब्याड टाइम' चलिरहेको छ।

त्यति मात्रै होइन विदेश जान समेत प्रतिवन्ध लाग्ने भएपछि उनी भारत छाडेर भागेका थिए। किंग अफ गुड टाइम्सको व्याड टाइम आखिर कसरी सुरु भयो?
 
२७ वर्षमा व्यापारमा प्रवेश
सन् १९८३ मा विजय माल्या जम्मा २७ वर्षका मात्रै थिए। मदिरा कारोवारी उनका पिता भिट्टल माल्याको हर्टअट्याकबाट निधन भयो। पिताको मृत्युको एक सातापछि युवी समूहका सेयरधनीले विजय माल्यालाई कम्पनीको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत बनायो।
 
यही वर्ष भारतले अर्थतन्त्र केही खुला बनायो। त्यसको सिधा असर मदिराको बिक्रीमा पर्‍यो। विजय माल्याले नेतृत्व गर्ने कम्पनी युवी समूहको युनाइटेड स्प्रिट्सको कारोवार पनि बढ्न थाल्यो। माल्यासँग व्यापार गर्ने वंशाणुगत गुण आएको थियो। उनले युनाइटेड स्प्रिट्सको कारोवारलाई बढाउन थाले।
 
मदिरा कम्पनीका लागि मार्केटिङ एउटा सशक्त हतियार थियो। माल्या भारतका राम्रा विजनेश स्कुलमा आफै गए। त्यहाँका सबैभन्दा स्मार्ट युवा आफ्ना कम्पनीका लागि छान्न थाले। ती युवा युनाइटेड स्प्रिटका लागि मार्केटिङ रणनीति बनाउँथे। उनीहरु नयाँ सञ्चार माध्यममार्फत बेस्सरी आफ्ना उत्पादनको मार्केटिङ गर्थे।
 
भारतमा भरखर केवल टिभी सुरु भएको थियो। त्यसको राम्रो फाइदा समेत युवीले लियो। एक दिन एउटा पार्टीमा माल्याको अमेरिकी अभिनेतासँग भेट भयो।
 
युवी लिमिटेडका तत्कालिन निर्देशक कल्याण गाँगुलीका अनुसार माल्याले उनलाई बोलाएर भने,  यो सुन्दर देखिने व्याक्तिलाई यहाँ सबैले हेरिरहेका छन्,  हामी यसलाई हाम्रो ब्राण्ड एम्बेस्डर किन नबनाउने।
 
अमेरिकी कलाकार राँन मास भारतमा हेरिने टिभीमा देखाइने लोकप्रिय सिरियल 'द बोल्ड एण्ड व्युटिफुल'मा रिज फोष्टरको भुमिकामा थिए। छिट्टै राँन मास भारतीय शहरमा किंगफिशरको विज्ञापनमा देखिन थाले।
 
तर राँन मास मात्रै होइन माल्या आफै पनि कम्पनीका लागि छवि बने ।
 
माल्याको छवि
रेव्यान चस्मा, महँगा गहना लगाउने माल्या स्पिडबोटमा सुन्दर युवतीहरुसँग देखिन थाले। बलिउडका नायिका, सुपरमोडल र व्यापारिक दुनियाँका सुन्दरीहरु उनका भिआइपी पार्टीका सदस्यहरु हुन थाले।
 
उनीहरुसँग किस गर्दै गरेको, आलिशान जीवन विताइरहेको माल्याको यो छवि सबै भारतीयको दिमागमा बस्न थाल्यो।
 
माल्यासँग कयौं आलिशान बंगलाहरु छन्। त्यसमध्ये एउटा हो न्युयोर्क सिटीमा भएको ट्रंपटावरको घर। त्यसबाहेक उनीसँग फ्रान्सको रिविएरा तथा दक्षिण अफ्रिका तथा गोवामा पनि अलिशान बंगलाहरु छन्।
 
माल्याको कम्पनीको ट्यागलाईन हो, किंग अफ गुडटाइम्स। उनले युवी समूहको ब्राण्ड नाम अरु कम्पनीमा पनि प्रयोग गर्न थाले। घोडाको रेसिङदेखि लिएर फर्मुला वान टीमसम्म। वार्षिक विकिनी क्यालेण्डरदेखि इण्डियन प्रिमियर लिगसम्म उनको लगानी थियो।
 
माल्याको युनाइटेड स्प्रिट्सको व्यापार अझ जम्न थाल्यो। उनले सन् २००५ मा रोयल च्यालेन्ज ह्वीस्की बनाउने शाँ वालेस किने। सन् २००६ मा रामानोस भोड्का र व्यागपाइपर ह्वीस्की बनाउने कम्पनी हर्बर्टसन्स किने। सन् २००७ मा बेलायती ह्वीस्की कम्पनी ह्वाइट एण्ड मंक किने ।
 
आक्रमक रुपमा मदिरा कम्पनीको खरिद तथा भारतमा बढ्दो मदिराको कारोवारले विजय माल्याको कम्पनी युवी स्प्रिट्स भारत मात्रै होइन विश्वको सबैभन्दा ठूलो मदिरा कम्पनी बन्यो। भारतमा सबैभन्दा ठूला दुई ब्राण्डमध्ये एउटा दूध उत्पादनको कारोवार गर्ने आमूल बन्यो दोस्रो मदिरा बनाउने युवी स्प्रिट्स।
 
तव आयो किंगफिशर
२८ वर्षको उमेरमा सुरु गरेको व्यापारले माल्याको व्यवसायिक चमक देखाइरहेको थियो। तर माल्या आफूलाई लिकर किंगका रुपमा होइन भारतको उद्योगपतिका रुपमा स्थापित गर्न चाहन्थे। उनले त्यसका लागि इन्जिनियरिङ, फर्टिलाइजर, टेलिभिजनदेखि चार्टर्ड विमान कम्पनीसम्म सुरु गरे।
 
मदिराको व्यवसायमा माल्यालाई ४० देखि ४५ प्रतिशतसम्म मुनाफा थियो, तर उद्योगपतिका रुपमा आफूलाई स्थापित गर्न उनले चार्टर्ड विमान सेवापछि किंगफिशर एयरलाईन्स सुरु गर्ने निर्णय गरे।
 
'द बिजय माल्या स्टोरी' किताव लेख्ने गिरीप्रकाश भन्छन्, किंगफिशर एयरलाईन्समा उनले पानी जस्तै पैसा बगाए। किंगफिशरलाई उनले फ्लाइग फाइव स्टार होटलका रुपमा चिनाउने प्रयास गरे।
 
किंगफिशरमा मोडललाई एयर होस्टेसका रुपमा लिइयो, यात्रीका लागि विदेशबाट महँगा पत्र पत्रिका मगाइए। कसैको प्लेन छुटे उसलाई अर्को एयरलाइन्सबाट समेत पठाउने व्यवस्था गरियो। यही बेला पेट्रोलियमको मूल्य महँगो भएको थियो।
 
यो सबैको असर कम्पनीको मुनाफामा पर्यो। कतिपय बेला उनले कम्पनी खरिद गर्दा त्यसको बहिखाता समेत हेर्दैन्थे।
 
गिरिप्रकाश भन्छन्,  माल्यालाई किंगफिशरको अन्तर्राष्ट्रिय उडान गर्नुथ्यो। त्यसका लागि किंगफिशरले भारतमा लाइसेन्स पाउने गरि शर्त पूरा गरेको थिएन। उनी एक दिन याचमा थिए,  त्यहींबाट क्याप्टेन जिआर गोपिनाथलाई फोन लगाए। भने, 'म एयर डेक्कन खरिद गर्न चाहन्छु।' गोपिनाथले जवाफ दिए- 'एक हजार करोड।' माल्याले भोलिपल्ट डिमान्ड ड्राफ्ट पठाइदिए। माल्याले कम्पनीको व्यालेन्ससिट समेत हेरेनन्।
 
कसरी भए बर्बाद
सन् २०१२ मा किंगफिशर एयरलाईन्सका कर्मचारीले तलव नपाए पछि हड्ताल गरे। आयकर विभागले एयरलाईन्सको अकाउण्ट सिज गर्यो, एयरलाइन्स बन्द भयो। अक्टुवरमा सरकारले किंगफिशर एयरलाइन्सको लाइसेन्स सस्पेन्ड गरिदियो।

उनले अनेक प्रयासपछि पनि किंगफिशर एयरलाईन्सलाई व्युँताउन सकेनन्। एयरलाइन्स बन्द भएपछि कम्पनीमा दायित्व माथि दायित्व थपिंदै गयो। कम्पनी बन्द भएपनि अहिलेसम्म एयरलाइन्समा १५०० भन्दा बढी कर्मचारी पेरोलमा छन्।

ऋणको साँवा र व्याज बढ्दै गएको छ। समयमा कर चुक्ता नगर्दा त्यसको भार पनि थपिंदै गएको छ। एसबिआई बैंकले मात्रै माल्यासँग १६ सय करोड ऋण असुल गर्न बाँकी छ।

पिएनबीले किंगफिशर एयरलाइन्सलाई आठ सय करोड, आईडिबीआई बैंकले आठ सय करोड, बैंक अफ इण्डियाले ६५० करोड गरेर १६ बैंकले नौं हजार करोड ऋण उठाउन बाँकी छ।

उता माल्याले मदिरा कम्पनी युवी स्प्रिट्सको अधिकांश सेयर बेलायती कम्पनी डायजियोलाई बिक्री गरिसकेका छन्। सन् २०१३ मा माल्यालाई डायजियोले २७ प्रतिशत सेयर किन्दा साढे छ हजार करोड भारु दिएको थियो। तर माल्याले यो पैसा किंगफिशरको ऋण तिर्न प्रयोग गरेनन्।

माल्याको दावी छ,  बैंकबाट मैले ऋण लिएको होइन ऋण किंगफिशर एयरलाइन्सले लिएको हो। त्यसैले पैसा पनि मेरो व्याक्तिगत सम्पत्तीबाट होइन किंगफिशरबाटै असुल गर। भारतमा पक्राउ पर्ने डरले उनी बेलायत भागेका थिए। अन्तत त्यहाँको अदालतले पनि उनलाई भारत पठाउन सहमति दिएको छ। गुड टाइम्स माल्याको अब ब्याड टाइम्स सुरु भएको भारतीय सञ्चार माध्यमहरुले  जनाएका छन्।